
काठमाडौं : प्रतिनिधि सभामा आजबाट प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभा नियमावली अनुसार जनतासँग सरोकार राख्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाव दिने छन्।
आजबाट सुरु भएको प्रश्नोत्तर कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सांसदहरूको प्रश्नको जवाफ दिएका छन्। मन्त्री पोखरेललाई सांसदहरूले उच्च शिक्षा हासिल गरेकाहरूको प्रमाणपत्र धितो राखी ऋण दिने विषयमा प्रश्न सोधेका थिए।
जवाफमा मन्त्री पोखरेलले यसै आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यविधि तयार पारेर प्रक्रिया अगाडि बढाउने दाबी गरे। यसै आर्थिक वर्षबाट ऋण दिन सुरु गरिनेसमेत उनले सांसदलाई जानकारी गराए।
शिक्षा मन्त्रालयले कार्यविधि तयार गरेको भन्दै उनले अर्थमन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए।
‘निर्ब्याजी र सहुलियत ऋण प्रदान गर्ने कार्यविधि तयार भइसकेको छ। प्रमाणपत्र धितो राखेर रोजगारीसँग यसलाई अन्तरसम्बन्ध गराउने छ,’ उनले भने,‘ अर्थमन्त्रालयसँग पनि समन्वय गर्नु पर्नेछ। यो पहिलो चौमासिकमा यसलाई अन्तिम रूप दिन चाहान्छौं। बैंकहरुलाई समन्वय गर्न यसलाई अर्थमन्त्रालयले नेतृत्व गर्नु पर्नेछ। यो आर्थिक वर्षमा कार्यन्वयनमा गएको विश्वास दिलाउन चाहान्छौं।’
मन्त्री पोखरेलको जवाफप्रति सांसदहरूले सरकारले कैयौँ निर्णय गर्ने तर कार्यान्वयन नहुने भन्दै यस कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए।