काठमाडौँ: सुन प्रकरणलाई लिएर बाजेको सेकुवा कर्नरको सिलबन्दी फुकुवा गरिएको छ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले कर्नरको सिलबन्दी तोड्ने निर्णय गरेसँगै सोमबार सिल तोडिएको हो। ३३ किलो सुन प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले गत जेठ ३० गते सेकुवामा सिलबन्दी थियो। अदालतको आदेश अनुसार सिलबन्दी खोलिएको समितिका सदस्य एसएसपी बसन्त लामाले जानकारी दिए।
सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो।
बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लगायतका ६ वटामा सिलवन्दी गरेको थियो। उपत्यकाभित्र मात्र १० ठाउँमा आउटलेट छ। त्यसै गरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्देही तथा अमेरिकामा समेत यसको आउटलेट छ।
सुन प्रकरणमा सेकुवाका मालिक चेतन भण्डारीलाई भने प्रहरीले रेडकर्नर जारी गरी खोजी गरिरहेको छ।