काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको सफल आयोजनाले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उज्यालो बनाएको बताएका छन्।
सोमबार सिंहदरबारमा आयोजित बिम्स्टेक सम्मेलनको समीक्षा कार्यक्रममा उनले सम्मेलन सफल रूपमा सम्पन्न भएको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन सम्मेलनले योगदान दिएको बताए।
सम्मेलन पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन सफल भएको उनले दाबी गरे। बिम्स्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहेका उनले सम्मेलनको निर्णय र घोषणापत्रको कार्यान्वयन गर्नसमेत मातहतका निकायलाई निर्देशन दिएका छन्।
सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएको हो।
घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषि पालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र तथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रूपमा र सक्रियतापूर्वक अगाडि बढ्ने बताएका थिए।
गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलन स्थलको अभाव पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको अवस्थामा समेत सम्मेलन सफल गराउन सहयोग गर्ने सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीलाई धन्यवादसमेत दिए।
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँगको द्विपक्षीय भेटवार्ता सफल भएको जानकारी गराएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्नेलगायतका प्रस्तावलाई नेपालले पारित गराउन सफल भएकोसमेत बताए।