PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बिमस्टेक सैन्य अभ्यासबारे सत्तारुढ दल नेकपाभित्रै विवाद, कांग्रेसले माग्यो जवाफ



बीपी साह

बिमस्टेक सैन्य अभ्यासबारे सत्तारुढ दल नेकपाभित्रै विवाद, कांग्रेसले माग्यो जवाफ

काठमाडौं : बिमस्टेकका राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवाद देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको समयमा घोषणा गरेको संयुक्त सैन्य अभ्यासका विषयमा सरकारले पार्टीभित्र कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले यस्तो गम्भीर विषयमा सरकारले पार्टीभित्र छलफल नगरेको भन्दै पार्टीमा आफुले कुरा उठाउने बताए।

‘अहिले पार्टीभित्र यस विषयमा छलफल भएको छैन। औपचारिक जानकारी पनि आएको छैन,’ पहिलोपोस्टसँग श्रेष्ठले भने,‘यो पार्टीभित्र छलफल हुनु पर्ने कुरा हो। तर गरिएन।’

१० देखि १६ सेप्टेम्बरसम्म भारतको पुनेमा हुन लागेको बिमस्टेक राष्ट्रहरुको सैन्य अभ्यास हुँदैछ। यस अभ्यासलाई भारतले चीनविरुद्ध आफु अनुकुल प्रयोग गर्ने आशंका व्यक्त गरिएको छ।

नेकपाका अन्य नेताहरुले पनि यस अभ्यासका विषयमा सरकारले पार्टीभित्र कुनै जानकारी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा नेता भीम रावलले पनि यस विषयमा चासो व्यक्त गर्दै पार्टीभित्र छलफल गर्ने प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुबीच हुन लागेको सैन्य अभ्यासबारे सरकारले जानकारी गराउनु पर्ने बताएका छन्।

‘अभ्यास आइडिया सेयर गर्न गरिएको हो भने ठिकै छ। सम्मेलनकै मौकामा यो कुरा उठेकोले केही शंका पनि व्यक्त भएको छ,’ महतले पहिलोपोस्टसँग भने,‘कुनै छिमेकी मुलुकलाई चिढाउने गरी गर्नु हुँदैन। सरकारले पनि यस विषयमा कुनै जानकारी गराएको छैन। सरकारले यस विषयमा जवाफ दिनु पर्छ।’

बिमस्टेक सैन्य अभ्यासका लागि म्यानमारलगायतका राष्ट्रहरु अनइच्छुक देखिएको बताउँदै महतले नेपालले पनि गम्भीरता पूर्वक सोच्नु पर्ने बताए।

पूर्व परराष्ट्रमन्त्री भेखबहादुर थापाले बिमस्टेक राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यास चीनप्रति लक्षित भए नेपाललाई ठूलो नोक्सानी हुन सक्ने बताएका छन्।

भारतीय सञ्चार माध्यमहरुले नेपाली सेना चीनसँग नजिकिएको भन्दै बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यास भए भारत सबल हुने आशय व्यक्त गर्दै आएको छ।

नेपाल र चीनबीच सगरमाथा फ्रेन्डसिप दोस्रो हुनु एक दिन अघिमात्र बिम्स्टेक संयुक्त सैन्य अभ्यास सम्पन्न हुनेछ। चीन र नेपालबीच दोस्रो संयुक्त सैन्य अभ्यास गर्ने घोषणा भइसकेको अवस्थामा सोही समयमा भारतका तर्फबाट पनि बिम्स्टेक संयुक्त सैन्य अभ्यास गर्ने प्रस्तावले थप विवादित बनाएको छ। 

बिम्स्टेक आर्थिक साझेदारी कि सैन्य अभ्यासका लागि : के संयुक्त सैन्य अभ्यास चीन तर्साउने भारतीय अस्त्र हो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell