PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सामुदायिक वनको नमुना काम : सोलार जडानदेखि आयोजना सञ्चालन  



पी बी खड्का

सामुदायिक वनको नमुना काम : सोलार जडानदेखि आयोजना सञ्चालन  

सुर्खेत : सुर्खेतको एक सामुदायिक वनले उदाहरणीय काम गरेको छ। पहिले वन संरक्षण गर्ने नाउमा संरक्षणमै सीमित थिए, सामुदायिक उपभोक्ता समुह। तर, दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएसँगै उदाहरणीय काम गर्न थालेका छन्। अहिले वनले आयआर्जन सँगै सामाजिक काममा समेत सक्रियाता देखाउँदै आएको छ, सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको रुइनियाडाँडा सामुदायिक उपभोक्ता समूहले।  

सामान्यतया सामुदायिक वनले दाउरा, घाँसको संरक्षण र बिक्री गर्ने गर्छन् तर यस सामुदायिक वनले भने आर्थिक वर्ष २०७३/०७४ देखि बेग्लै पहिचान बनाउन थालेको छ। सुर्खेतमा तत्कालीन जिल्ला वन कार्यालयले प्रस्ताव गरेको १९ वटा सामुदायिक वनमध्ये रुइनियाडाँडा उपभोक्त समुहले लोभलाग्दो काम गरेको हो। दुई सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको २८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ।

समूहका अध्यक्ष कविराज डम्बरपाल भन्छन्, ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम आएपछि वनमा सडेर, कुहिएर जाने काठ पनि प्रयोगमा आउन थालेको छ, तिनै काठ बेचेर आम्दानी गर्न पनि सफल भएको छौं। साना बोटविरुवालाई पनि जोगाउन, हुर्काउन सजिलो भएको छ।’

झण्डै डेढ करोड समूहको खातामा

अहिले सामुदायिक वनबाट एक करोड २३ लाख रुपैँया आम्दानी गर्न सफल भएको अध्यक्ष डम्मरपाल बताउँछन्। 

‘पहिले संरक्षण मात्रै भनिन्थ्यो, खासै आम्दानी केही थिएन,’ उनले भने, ‘अहिले सडेर जाने काठ बेचेरै भए पनि १ करोड २३ लाख रुपैँया समूहको खातामा जम्मा गरेका छौं।’ 

सोलार जडानदेखि विद्यालय सुधारसम्म

समूहले वनबाट भएको आम्दानी सामाजिक कार्यमा लगानी गर्न थालेको छ। यस समूहले बराहतालकै क्षेत्रमा गाउँलाई झलमल पार्न लागेको छ। समूहले गाउँपालिकाको बड्डिचौर स्थित २० वटा सोलार समेत जडान गरेको छ। 

‘रकम अभावले केही क्षेत्रमा मात्रै हामीले २० वटा सोलार जडान गरेका छौँ,’ अध्यक्ष पालले भने, ‘आगामी दिनमा हामीले आम्दानी भएसम्म गाउँलाई सोलार जडान गरेर झलमल बनाउने सोच छ।’

उनका अनुसार समूहको २३ लाख लगानीमा सोलार जडान गरिएको हो। समूहले अझै यतिमात्र नभएर एक विद्यालयमा शिक्षकको तलव समेत खुवाउँदै आएको जनाए। बालज्योति आधारभूत विद्यालयको शैक्षिक सुधारका लागि समेत समुहले केही रकम उपलब्ध गराउँदै आएको जानकारी दिए।  

खानेपानी आयोजना सञ्चालनको तयारी

त्यस्तै, गाउँमा खानेपानीको समस्या भएकाले आयोजना सञ्चालन गर्ने योजना रहेको बताए। अध्यक्ष पालका अनुसार गाउँमा अब छिट्टै खानेपानी आयोजना सञ्चालन गर्ने तयारी रहेको छ। ‘गाउँमा खानेपानीको निकै अभाव छ,’ उनले भने, ‘अब समूहले तत्काल खानेपानी आयोजनाका लागि तयारी अगाडि बढाउने प्रक्रियामा छ।’

आयस्तर बढाउँदै समूह

त्यस्तै, समूहको लगानीमा यहाँका दयनीय अवस्थामा रहेका स्थानीयवासीलाई बंगुरका पाठा समेत दिएको उनले बताए। ‘दयनीय अवस्था भएका नागरिकलाई जीवनस्तर उकास्न हामीले बंगुरका पाठा दिएका छौं,’ उनले भने, ‘समूहको आम्दानीले जति हुन्छ हामीले सबैं जनताका लागि लगानी गरेका छौँ।’

त्यसैगरी वनले नगद दुई लाख दिएर सीपमुलक तालिम समेत प्रदान गरेको छ।

वन हेरालु सात जना

पहिले सामुदायिक वनले एक जना वन हेरालुलाई सेवा सुविधा दिन समेत धौँ धौँ भएको बताउँदै आएको थियो। अहिले ७ जना वन हेरालु राखेको उनले बताए। पछिल्लो समय वनलाई पनि व्यवस्थित बनाउँदै लगेको र आम्दानी पनि राम्रै भएकाले अहिले सहज भएको उनको भनाइ छ। वनबाट अहिले राम्रो आम्दानी हुन थालेपछि यहाँका स्थानीयको आयस्तर समेत वृद्धि हुने विश्वास लिएको उनी बताउँछन्। 

वार्षिक एक करोडसम्म आम्दानी

डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज बिष्ट पनि सामुदायिक वनमध्ये उत्कृष्ट रहेको बताउँछन्। कामकै आधारमा जिल्लाका १९ वैज्ञानिक सामुदायिक वनले वार्षिक २० देखि एक करोड सम्म आम्दानी गर्ने गरेको बताए। 

अधिकृत बिष्टका अनुसार सुर्खेतमा आर्थिक वर्ष २०७१/०७२ मा पहिलो पटक ७ वटा सामुदायिक वनमा कार्यक्रम सुरु गरिएको बताए। त्यसपछि आर्थिक वर्ष ०७२/०७३ मा ६ वटा वन, आव २०७३/०७४ मा ४ वन र आर्थिक वर्ष २०७४/०७५ मा २ वटा सामुदायिक वनमा कार्यक्रम लागू गरिएको बताए। 

वार्षिक १० समूहको प्रस्ताव 

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्न जिल्लाका सामुदायिक वनले धमाधम प्रस्ताव पेश गर्न लागेको बताए। जिल्लाका १० वटा सामुदायिक वनको प्रस्ताव आएको उनले बताए। प्रस्ताव आएका वन मध्ये कार्यालयले प्रत्यक्ष अवलोकन गरी आवश्यकता पहिचान गरेर मापदण्ड अनुसार कार्यक्रम लागू गरिने बताए। 

‘अहिले धमाधम कार्यक्रम लागु गर्न प्रस्ताव आका छन्।’ डिभिजन वन कार्यालयका अधिकृत बिष्टले भने, ‘जिल्ला बाट प्राविधिक टोली सहित गएर त्यहाँ अवलोकन गरेर, आवश्यकता छ, छैन, मापदण्ड पूरा हुन्छ कि नाई सबै हेरेर कार्यक्रम लागू हुन्छ।‘

पोखरा, काठमाण्डौँ सम्म पुग्छ काठ

सामुदायिक वनबाट उत्पादन वा निस्किएका काठ उपभोक्ताले खपत गर्दै र बाहिर निकासी गरिँदै आएको छ। ‘वनबाट निस्किएको काठ उपभोक्ताले खपत गर्छन्, खपतबाट बाँकी रहेको काठ टेण्डर प्रक्रियाबाट बिक्री गर्दै आएका छन्,’ उनले भने,‘अहिले काठ कुहिन पाउँदैन, यहाँका काठ पोखरा, काठमाण्डौँ सम्म जाने गरेको छ।’ उनको अनुसार अहिले राजधानी भएपछि सुर्खेतमै काठको माग बढ्दै गएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell