PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तानी टोलीमा दुई साता अघि एसियाड खेलेकै खेलाडीको वर्चस्व, नतिजा के आउला?



गोविन्दराज नेपाल

साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तानी टोलीमा दुई साता अघि एसियाड खेलेकै खेलाडीको वर्चस्व, नतिजा के आउला?

काठमाडौँ : आजबाट बंगलादेशको ढाकामा साफ सुजुकी कप फुटबल सुरु हुँदैछ। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

उद्घाटन खेलमा समूह ए मा रहेका नेपाल र पाकिस्तान दिउँसो ३:४५ बजे बंगबन्धु नेशनल स्टेडियममा भिड्दैछन्।

दुई साता अघि मात्र नेपाल र पाकिस्तानको यू-२३ (ओलम्पिक टोली) इन्डोनेसियामा भएको १८औँ एसियाडमा भिडेका थिए। समूह चरणको उक्त खेल पाकिस्तानले पुनरागमन गर्दै २-१ ले जितेको थियो। पाकिस्तानी खेलाडीकै आत्मघाती गोलमा नेपालले अग्रता लिएपनि जोगाउन नसक्दा हार्न पुग्यो।

अहिले साफ खेल्ने दुई टोलीमै त्यही एसियाडका लागि टोलीमा रहेका खेलाडीहरुको वर्चस्व छ। एसियाड खेल्ने टोलीमा ३ जना मात्र २३ वर्ष माथिका खेलाडी राख्न पाउने नियम थियो।

नेपालको एसियाड टोलीमा रहेका २० मध्ये १३ खेलाडी अहिले साफ खेल्ने टोलीमा समेत छन्। कप्तान विराज महर्जनसहित, गोलकिपर विकेश कुथु, डिफेण्डर देवेन्द्र तामाङ, मिडफिल्डर सुजल श्रेष्ठ र निराजन खड्का(६ वर्षपछि राष्ट्रिय टिममा कमब्याक) तथा फरवार्डद्वय नवयुग श्रेग्ठ र भरत खवास एसियाडमा नरहेपनि साफ खेल्ने टोलीमा छन्।

यी ७ मध्ये आधा भन्दा बढी साफमा नेपालको पहिलो रोजाईमा खेल्ने खेलाडी हुन्।

यस्तै पाकिस्तानको साफ टोलीमा एसियाड टोलीमा रहेका २० मध्ये ९ खेलाडी छन्। जसमा कप्तान सद्दाम हुसेनसहित गोलकिपर सकिव हानिफ फरवार्ड मोहमद रियाज छन्। यी खेलाडीले इन्डोनेसियामा नेपाल विरुद्ध उत्कृष्ट खेलेका थिए। कप्तान हुसेनकै पेनाल्टी गोलमा नेपाल पराजित भएको थियो।

एसियाडमा नरेहेका मध्ये हसन बसिर (उपकप्तान) डिफेण्डर जेस रहेमान, फैसल इक्वाल लगायत ११ खेलाडी साफ खेल्ने टोलीमा छन्।

दुई साता अघि मात्र एसियाडका खेलेका कारण दुवै टोली एक-आपसमा परिचित छन्। दुवैको बलियो र कमजोरीबारे दुवै टिमलाई जानकारी समेत भइसकेको छ।

यस्तोमा दुवै टोली ढाकामा हुने खेलमा जित हात पार्न चाहन्छन्। अहिलेसम्म चार पटक सेमिफाइनल खेलेको नेपाल फाइनल भने पुग्न सकेको छैन। उता पाकिस्तानले एक पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन। नेपाल यस पटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यका साथ ढाका पुगेको छ। त्यसका लागि सुरुमै पाकिस्तानको चुनौती पन्छाउनुपर्नेछ। त्यसपछि नेपालले भुटान र बंगलादेशसँग समूह चरणको खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell