PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेसी कर्मचारी संगठनको कार्यक्रममा कम्युनिष्ट सरकारविरुद्ध तरबार चलाउनेदेखि सरकार ढाल्नेसम्मका चेतावनी



नेत्र तामाङ

कांग्रेसी कर्मचारी संगठनको कार्यक्रममा कम्युनिष्ट सरकारविरुद्ध तरबार चलाउनेदेखि सरकार ढाल्नेसम्मका चेतावनी

काठमाडौं : हरेक भदौ १९ मा झैं आज पनि नेपाली कांग्रेस निकट निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवस मनायो।

काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैङ्क्वेटमा आज दिउँसो भएको कार्यक्रममा कांग्रेसका कर्मचारीले आफ्नै नेतृत्वले नहेरेको गुनासोदेखि वर्तमान सरकारविरुद्ध चेतावनी दिनसम्म भ्याए।

एक बजेका लागि निर्धारण गरिएको कार्यक्रम प्रमुख अतिथि एवं कांग्रेस सभापति शेरबहादुर देउवा ढिला गरी आइपुगेकाले साढे एक घन्टा ढिलो शुरु भएको थियो।

मुख्य सचिव र सचिवहरु अनुपस्थित

कांग्रेसको ट्रेड युनियनको कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीलाई अतिथिका रुपमा निम्त्याइएको थियो भने सचिवहरुलाई पनि निम्तो थियो। कांग्रेसको कर्मचारी युनियनलाई शुभकामना दिन मुख्य सचिव आउने कार्यक्रममा धेरै सहभागीले अपेक्षा गरेका थिए। तर, मुख्य सचिव रेग्मी र सरकारका सचिवहरु कार्यक्रममा आइपुगेनन्।

शिक्षामन्त्रीलाई चेतावनी, लालबाबु फेक मन्त्री भएको आरोप

कार्यक्रमका सहभागी र अतिथिहरुलाई स्वागत गर्दै युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कर्मचारीमाथि निरंकुशता नलाद्न चेतावनी दिए। उनले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ‘फेक’ मन्त्री भएको आरोप लगाए। उनले भने, 'मन्त्री लालबाबु पण्डित फेक मन्त्री हुन्। उहाँले भेटिदाँ कर्मचारीका कुरा सुन्छु भन्नुहुन्छ। तर, कहिल्यै गर्नुहुन्न। जे बोल्नुहुन्छ त्यो गर्नुहुन्न। त्यसैले उहाँ फेक मन्त्री हो।'

सरकार ढाल्न कर्मचारीले साथ दिने

युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले ट्रेड युनियनमाथि हेपाहा प्रवृत्ति अपनाउँदै आएको आरोप लगाउँदै आफूहरु कर्मचारीको अधिकारका लागि लडिरहने बताए।

लोकतन्त्रवादी कर्मचारीमाथि कम्युनिस्ट सरकारले लगातार प्रहार गरेको उल्लेख गर्दै उनले युनियनको मागमा सरकारले कुनै सम्बोधन नगरेको गुनासो गरे।

पोखरेलले भने, 'सरकारले डेमोक्रेट्स साथीहरुको आवाज नै सुनेन। यसमा पार्टीले साथ दिनुपर्योा। यो सरकार ट्रेड युनियनलाई तहसनहस पार्न तम्सिरहेको छ।'

श्रमिकको हक अधिकारमा काम गर्ने भन्दै सरकारमा गएको वर्तमान सरकारले श्रमिकमाथि नै प्रहार गरेको उनको आरोप थियो। यसैगरी सरकार अघि बढ्ने हो भने सरकार ढाल्न युनियनले कांग्रेसलाई साथ दिने उनको भनाई थियो।

'ट्रेड युनियन एउटामात्र बनाउने हो भने पार्टी पनि एउटामात्र बनाए हुन्छ, यस्ता निरंकुशता लाद्ने सरकारहरु हिजो पनि ढलेकै हुन्,' अध्यक्ष पोखरेलले भने, 'यसरी अघि बढिरह्यो भने यो सरकार पनि लामो समय टिक्दैन। पार्टीले भनोस् हामी सरकार ढाल्न सहयोग गर्छौं।'

कांग्रेसकै पालामा कांग्रेस समर्थित कर्मचारी पेलानमा

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले आफ्नै पार्टी सरकारमा हुँदासमेत कांग्रेस समर्थित कर्मचारी पेलिएको गुनासो गरे।

कांग्रेस सरकारमा हुँदा राम्रा पदमा बढुवा हुने बेला अर्कै पार्टीमा आस्था राख्नेहरु बढुवा भइरहेको उनको आरोप थियो। 

'पार्टी नेतृत्वले यसबारेमा जति भने पनि सुन्दैनन्। कति भन्नु आफ्नो पार्टीका साथीहरु कहिल्यै राम्रो पोस्टमा पुगेका छैनन्,' देवकोटाले थपे, 'कांग्रेस समर्थित कर्मचारी जहिल्यै प्रतिपक्षी। कांग्रेसको सरकारले पनि पेल्ने। कम्युनिस्ट सरकारले त झनै पेल्ने भइहाल्यो।'

ट्रेड युनियन खारेज जसले गर्छ उ पनि खारेज हुन्छ

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले युनियनलाई स्थापना दिवसको शुभकामना दिँदै ट्रेड युनियन कसैले खारेज गर्न नसक्ने दाबी गरे। नेकपा समर्थित कर्मचारी संगठनबाट आधिकारिक युनियनका अध्यक्ष बनेका ढकालले भने, 'यो कसैको बारीमा फलेको चिज होइन। चाहेको बेला राख्ने, नचाहेको बेला फाल्ने। जसले यसलाई खारेज गर्न खोज्छ। उही खारेज हुनेछ।'

अहिले कर्मचारीको अधिकारको सुरक्षाका लागि सबै कर्मचारी एक भएर लड्नुपर्ने अवस्था आएको र यसमा कांग्रेस समर्थित युनियनको पनि साथ चाहिने उनको धारणा थियो।

कलम चलाउने कर्मचारी तरबार चलाउन तयार

कार्यक्रमका सञ्चालकले कर्मचारीको हकअधिकार खोस्न लागेकाले कलममात्र हैन तरबारसमेत चलाउन सक्ने चेतावनी दिएपछि कार्यक्रममा हाँसो फैलिएको थियो।

त्यसपछिका वक्ता कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले शान्तिप्रेमी कांग्रेसले कहिल्यै पनि तरबार चलाउने नहुने सुझाव दिए। भण्डारीले कांग्रेस पार्टीले आफू निकटका कर्मचारीको सुझावलाई पार्टी नेतृत्वले ध्यान दिनुपर्ने धारणा राखे। कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेता मीना पाण्डेले पनि युनियनको हितमा पार्टी लाग्नुपर्ने धारणा राखे।

रिटायरलाई ठाउँ दिन्छु : देउवा

कार्यक्रममा कांग्रेस सभापति देउवाले निवृत्त कर्मचारीलाई सम्मान समेत गरेका थिए। उनले पार्टीको संगठनमा रही काम गर्नका लागि निवृत्त कर्मचारीलाई आह्वानसमेत गरे। 

कतिपय अवस्थामा पार्टीको कमजोरी रहेको भए पनि कर्मचारी आफैभित्र पनि झगडा हुने भएकाले मिलेर काम गरेमा सबैको हित हुने देउवाको भनाई थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell