PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सैन्य कुटनीतिलाई जोड दिँदै नेपाली सेना, गोवासँगसँगै सिचुवान र लाहोरमा पनि सैन्य अभ्यास



विधुर ढकाल

सैन्य कुटनीतिलाई जोड दिँदै नेपाली सेना, गोवासँगसँगै सिचुवान र लाहोरमा पनि सैन्य अभ्यास

काठमाडौं :  १२ सेप्टेम्बरबाट भारतको पुनेमा हुने बिम्स्टेक सदस्य राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास हुँदै छ। यो सैन्य अभ्यासलाई लिएर नेपालभित्र आशंका उत्पन्न भएको छ। यस अभ्यासलाई लिएर सत्ता पक्ष विभाजित छ भने विपक्षी कांग्रेसले समेत प्रश्न उठाएको छ।

तर नेपाली सेना यसलाई सैन्य कुटनीतिको एउटा पाटो भन्दै सैन्य कुटनीतिलाई अगाडी बढाइरहेको छ। पछिल्ला वर्षहरुमा सैन्य कुटनीतिलाइ अगाडि बढाउने क्रममा नेपाली सेनाले यसै वर्ष पाकिस्तानमा हुने सैनिकको शारीरिक चुस्तता र लडाकु दक्षतासँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय फिजिकल एगिलिटी एण्ड कम्व्याट इफिसिएन्सी सिस्टम कम्पिटिसनमासमेत भाग लिने तयारी गरिरहेको छ।

त्यस्तै नेपाली सेनाले श्रीलंकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको सैन्य अभ्यास कोरमोरान्ट स्ट्राइकमा समेत सहभागी हुँदैछ। यो सैन्य अभ्यासमा नेपालसहित पाकिस्तान माल्दिभ्सलगायतका देशहरुको सहभागिता हुँदै आएको छ। गत वर्ष २०१७ सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न ८ औं कोरमोरान्ट स्ट्राइकमा पनि नेपालसहित ३९ देशका सैनिक सहभागी थिए।

'सैन्य कुटनीतिको एउटा पाटो संयुक्त सैन्य अभ्यास पनि हो। यसलाई नेपाली सेनाले पनि निरन्तरता दिन्छ,' नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, 'यसले मित्रराष्ट्रका सैनिकहरुबीच सम्बन्ध विस्तारमा मद्दत पुर्‍याउँछ।' यसरी हुने अभ्यासहरु विषयगत रुपमा हुने उनले बताए।

'विपत व्यवस्थापन, सञ्चारलगायतका विषयगत विषयमा एक अर्का देशका सेनाहरुको अनुभव आदान प्रदान गर्ने अवसर पनि यस्ता अभ्यासहरु हुने गर्छन्। यसले नेपाली सेनाको क्षमता बढाउन मद्दत गर्छ,' भण्डारीले भने।

नेपाली सेनाले बम डिस्पोज गर्ने क्षमता अभिवृद्धिका लागि समेत अमेरिका, बेलायत र संयुक्त राष्ट्र संघको माइन एकसन सर्भिस (युएनएमएएस)सँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै आएको छ।

सैन्य कुटनीतिको एउटा हिस्साको रुपमा तालिमरत जवानहरुलाई अन्य देशको भ्रमणसमेत नेपाली सेनाले गराउँदै आएको छ।

राष्ट्रिय सेवा दलमा तालिमरत छात्र छात्राहरुलाई युथ एक्सचेन्ज कार्यक्रम अन्तरगत भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान, सिंगापुर र वेलायतमा पठाउँदै आएको छ।

नेपालले विभिन्न देशका सेनासँग मिलेर सव्जेक्ट म्याटर एक्सेन्ज प्रोग्राम, सर्ट टर्म ट्रेनिङ जोइन्ट एक्सरसाइज गर्ने कार्यक्रमलाई यस वर्ष पनि प्रथमिकतामा राखेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए।

नेपालले बेलायतसँग कम्वरियन पेट्रोल गर्दै आएको छ। त्यस्तै भारतसँग सूर्यकिरण अभ्यास गर्दै आएको छ। यसै वर्ष  नेपाल भारत सैन्य अभ्यास 'सूर्यकिरण' को १३ औँ संस्करण भारतको पिथोरगढमा मे ३० देखि १२ जुन सम्म सम्पन्न भइसकेको छ।

कुटनीतिक सम्बन्ध लामो रहेको उत्तरी छिमेकी चीनसँग पनि गत वर्ष देखि संयुक्त सैन्य अभ्यास गरेको छ। गत वर्ष चीनका रक्षामन्त्री चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले गत वर्ष मार्चमा नेपाल भ्रमण गरे। सोही समयमा दुई देशबीच संयुक्त सैन्य अभ्यासको सहमति भएसँगै नेपाल र चीनले पहिलो संयुक्त सैन्य अभ्यास सगरमा फ्रेण्डसिप-१ सम्पन्न भएको छ।

यसै महिना पुन: सगरमाथा फ्रेन्डसिप-२ हुने सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए।

त्यस्तै सोमबार देखि नेपाली सेना र युएस इन्डो प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा काठमाडौँमा एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्स सुरु भएको छ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरि जम्मा १०३ जनाको सहभागिता रहेको छ।

त्यस्तै दुई साता अगाडि मात्रै काठमाडौं मै प्यासिफिक इन्डेभर- २०१८ (पीइ-१८) सम्पन्न भएको छ। १२ दिन लामो अभ्यासमा एसिया प्यासिफिक क्षेत्रका २० देशका सैनिक अधिकारीहरु सहभागि दिए।

भ्रमणको आदान-प्रदान

यसैबीच सैन्य कुटनीतिको अर्को पाटो सैनिक अधिकारीहरुको भ्रमणको आदान प्रदानलेसमेत यस वर्ष तिब्रता पाएको छ। यस वर्ष थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान नेपालको चारदिने औपचारिक भ्रमण गरे।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा वैशाखमा नेपाल आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालिन प्रधानसेनापति क्षत्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरे।

त्यस्तै २०१८ को सुरुमै जाम्वियाका सेनाका कमाण्डर पाउल मिहोयाले नेपालको भ्रमण गरे। उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीसँग शिष्टाचार भेट गरेका थिए।

त्यस्तै यसै वर्ष पाकिस्तानका जोइन्ट चिफस् अफ स्टाप कमिटिका अध्यक्ष जुविर महमुद हयातले असारको दोस्रो साता नेपालको भ्रमण गरे।

२०१८ को फेब्रुअरी (गत वर्ष फागुनमा) अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका कमाण्डिङ जनरल रोबर्ट बी ब्राउनले नेपालको भ्रमण गरे। त्यस्तै २०१७ को अन्तिममा म्यानमारका सेना प्रमुख मिन आङ हालिनले समेत नेपालको भ्रमण गरेका थिए।

उनको निमन्त्रणामा नेपालका तत्कालिन प्रधान सेनापति रविन्द्र क्षत्रीले म्यानमारको भ्रमणसमेत गरेका छन्। प्रधानसेनापति क्षत्रीले असारमा म्यानमारको भ्रमण गरे। त्यस्तै उनी म्यानमार हुँदै चीनकोसमेत भ्रमण गरेर फर्किए। उनले म्यानमार भ्रमणका क्रममा त्यहाँका सेना प्रमुख, राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सूचीलगायतका अधिकारीलाई भेट गरेका थिए। चीन भ्रमणका क्रममा उनले त्यहाँका रक्षामन्त्री, चिनियाँ जनमुक्ति सेनाका प्रमुखसहितका अधिकारीसँग भेट गरेका थिए।

यस वर्ष क्षेत्रीले कंगो र दक्षिण सुडानकोसमेत भ्रमण गरेका थिए। उनले त्यहाँ रहँदा राष्ट्र संघीय शान्ति मिसनमा खटिएका नेपाली अधिकारीहरुलाई सम्बोधन गरेका थिए।

त्यस्तै उनले यसै वर्षको सुरुमै पाकिस्तानको समेत भ्रमण गरे। उनी वैशाखको अन्तिममा पाकिस्तान गएका थिए।

प्रधान सेनापति यसअघि श्रीलंकाको समेत औपचारिक भ्रमण गरेर जनवरीमा फर्किएका थिए।

यसैबीच बिम्स्टेक स्तरीय संयुक्त सैन्य अभ्यासका क्रममा सबै सात सदस्य देशहरुका सेना प्रमुखहरुको भेट गोवामा हुने तय भएको छ। अभ्यासको अवलोकनका लागि सबै देशका सेना प्रमुखहरु त्यहाँ पुग्ने बताइएको छ।

सैन्य कुटनीतिलाई जोड दिएको नेपाली सैनिकले यसबीच इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलको सदस्यताका लागिसमेत पहल थालेको छ।

नेपाली सेनाको यही कुटनीतिक पहलको नतिजा स्वरुप नेपाली सेना माथि मानव अधिकार हननको आरोपमा लागेको भेटिङ किलियर भएको छ। अमेरिकाले नेपाली सेनाका वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, ४ नं बाहिनी अड्डा, ९ नं बाहिनी अड्डा र राजदल गणमाथि भेटिङ लगाएको थियो। सो भेटिङ लगाइएका गण तथा अड्डालाई अमेरिकी सेनाले सहयोग रोक लगाएको थियो। त्यस्तै त्यहाँ कार्यरत सैनिक अधिकारीलाई अमेरिका प्रवेशका लागि भिसा रोक लगाइएको थियो।

काभ्रेको वीरेन्द्र सैनिक तालिम केन्द्रमा १५ वर्षीया किशोरी मैना सुनुवारको बलात्कार पछि हत्या भएको भन्दै अमेरिकाले प्रतिवन्ध लगाएको थियो।

यता काठमाडौंको भैरवनाथ गणमाथ लागेको यो प्रतिवन्ध भने फुकुवा भएको छैन्। यहाँबाट ४९ जना नागरिक वेपत्ता पारिएको राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell