
काठमाडौँः तपाईँ सुन किन्ने विचारमा हुनुहुन्छ? त्यो पनि बजारको दर भन्दा कम मूल्यमा? तपाईँलाई कसैले यसो भनेर सुन खरिद गर्न भनिरहेको छ भने होसियार!
राजधानीमा अहिले सुन बेच्ने ठगहरू सक्रिय भइरहेका छन्। सस्तोमा सुन बिक्री गर्ने भन्दै तपाईँलाई उनीहरूले नक्कली सुन बचेर फरार हुने गरेको प्रहरी रेकर्डले देखाएको छ।
मङ्गलबार मात्र प्रहरीले नक्कली सुन बिक्री गरेर ठगी गर्ने ६ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ। उनीहरूले एक व्यक्तिलाई आफूसँग दुई किलो सुन भएको र सस्तो मूल्यमा दिने भन्दै किन्नको लागि बोलाएका थिए।
उनीहरूले दुई किलो सुनको मूल्य ९० लाख र किन्ने व्यक्तिले ६० लाख रुपैयाँमा किन्ने बार्गेनिङ भइरहेको अवस्थामा पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशी समयमा नै प्रहरीले सूचना पाएकाले ठगिनबाट बचेको बताउँछन्। एपसी जोशी भन्छन्,' राजधानीमा अहिले यस्ता ठगहरू सक्रिय भएकाले सबै जना सजग रहनुहोला।'
अवैध सुन किन्नेलाई उन्मुक्ति?
घुस दिने र लिने दुबै अपराधी हुन् भनिन्छ। तर प्रहरीले अवैध सुन बिक्री गर्नेलाई पक्राउ गरे पनि सुन खरिद गर्नेलाई भने नियन्त्रणमा नै लिँदैन। गौरकानुनी रूपमा सुन खरिद गर्न पुग्ने मानिस दोषी होइन? राज्यको कर छलेर सामान किन्नु पनि दोषी हुनुपर्छ?
एसपी जोशी प्रहरीले अब यस विषयमा पनि बिचार गर्ने बताउँछन्। जोशी भन्छन्,' ठगिने व्यक्ति पीडित भएको हुन्छ। फेरि उसँग सक्कली सुन हुँदैन त्यसैले हामीले उनीहरू माथि अनुसन्धान गर्ने गरेका छैनौँ।'
नक्कली सुनका भिआइपी ठगी
गत असार ८ गते बौद्धस्थित जम्बु डाँडामा लुटेरा अमर तामाङलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड गोली चलायो। गत जेठ २४ र २८ गते तामाङ राजधानीका विभिन्न स्थानमा पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए।
सस्तोमा सुन बेच्ने भन्दै एकान्त स्थान वा जङ्गलमा बोलाई पेस्तोल देखाएर उनले लुट्ने तामाङको धन्दा नै थियो। प्रहरीको गोली लागि घाइते भएको तामाङको झोलाबाट प्रहरीले १ किलो सुनसमेत बरामद गरेको छ।
तामाङको साथमा भएको सुन भने सक्कली थिएन। तामाङले नक्कली सुन बोकेर सस्तोमा बिक्री गर्ने प्रलोभन देखाइ ठगी धन्दा गरेको प्रहरीले जनाएको छ। तामाङले यसरी नै लामो समयदेखि नक्कली सुनमा ठगी धन्दा गर्दै आएको प्रहरी अनुन्धानमा देखिएको हो। उनी नक्कली सुनका भिआइपी ठग हुन्।
प्रहरीको सुझाव
१ आधिकारिक स्थानबाट मात्र सुन खरिद गर्नुहोस्।
२ आफूले सुन किनेको र सरकारलाई तिरेको करको रसिद लिने बानी बसाल्नुहोस्।
२ कसैले तपाईँलाई सस्तोमा सुन बिक्री गर्छु भनेर प्रलोभनमा पार्न खोजे तुरुन्तै प्रहरीलाई फोन गर्नुहोस्।