PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

पूर्वराजदूत झा हत्या प्रकरणः 'हत्यारा अझै पहिचान हुन सकेन, कामदारको कैफियत देखियो'



सविन ढकाल

पूर्वराजदूत झा हत्या प्रकरणः 'हत्यारा अझै पहिचान हुन सकेन, कामदारको कैफियत देखियो'

काठमाडौँः भदै ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित घरभित्र नै सुतिरहेको अवस्थामा शव फेला पर्‍यो। प्रहरीलाई झाको घटना छुट्ट्याउन कुनै मुस्किल नै भएन। प्रहरीले भन्यो झाको हत्या भएको हो।

उनको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको थियो। तर दुई साता वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। हत्या किन र कसले गर्‍यो? रहस्यमै छ।

पूर्वराजदूत हत्याको घटना अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखाले लिएको छ। महाशाखाको टोलीले अनुसन्धान जारी राखे पनि निष्कर्षमा पुग्न सकेको छैन। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंह अनुसन्धान भइरहेको तर घटनामा 'क्लियर पिक्चर' नआएको बताए।

एसएसपी सिंहले भने,' अनुसन्धान भइरहेको छ। चाँडै नै घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं।'

झाको हत्या हुँदा घरमा ८० वर्षीय राजदूत र उनकी श्रीमती बस्थे। घरमा एक जना गार्ड, खाना पकाउने र माली समेत सँगै थिए। घटना भएको दिन घरका ढोका र झ्याल बन्द भएकाले प्रहरीले घटना घरभित्र नै भएको हुनसक्ने अनुमान गरिरहेको छ। घरको पहिलो तलाको झ्यालको जाली काटिएकाले घटना झनै रहस्यमय बन्दै गएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गर्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

नियन्त्रणमा लिएका तीन जनाको 'पोलिग्राफ टेष्ट' समेत भइसकेको छ। पोलिग्राफ टेष्टपछि पनि कुनै निष्कर्षमा प्रहरी पुग्छ सकेको छैन। टेष्टमा उनीहरुको कैफियत भने देखिएको प्रहरीको दाबी छ। तर पनि घटना किन, कसरी, कसले, के-को लागि गर्‍यो भन्ने खुल्न सकेको छैन।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्,'टेष्टमा उनीहरुको कैफियत देखिएको छ। तर घटनाको कुनै स्टोरी आउन सकेको छैन। हामीसँग कतिपय कुरामा प्रविधि समेत नभएकाले समस्या आएको छ।'

महाशाखा प्रमुख सिंहले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएका छन्। एसएसपी सिंहले भने,'चोरी वा आवेगमा घटना नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कुनै पनि धनमाल चोरी भएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell