काठमाडौं : फिल्म घोषणा भएदेखी नै चर्चामा रहेको फिल्म हो 'ब्याचलर बन्टी'। फिल्मका लागि अभिनेता अनमोल केसी अनुबन्धित भएसँगै फिल्मको चर्चा सुरु भएको थियो।
लामो समय निर्माण टिमले फिल्मका कलाकार छनोटमा समय बिताए। अब भने निर्माण टिम अनमोलका लागि स्क्रिन जोडी खोज्न सफल भएका छन्। फिल्मका लागि 'मिस् एसिया २०१७'की विजेता उकुसा गिरी फाइनल भएकी छिन्। 'हामीले अन्तरवार्ताबाट नै उनलाई चुन्यौं। उनी धेरै प्रतिभाशाली छिन्। 'फोटो, डाइलग, अन्तरवार्ताको अडिसन मार्फत उनलाई छान्यौं' फिल्मका निर्देशक मिलन चाम्सले भने।
निर्देशक चाम्सका अनुसार अहिलेसम्म मुख्य कलाकार अनमोल र उकुसाको भेट भएको छैन। फिल्ममा उकुसा फाइनल भएको कुरा अनमोललाई थाह भइसक्यो। अनमोल केसी अहिले फिल्म 'ए मेरो हजुर ३'को छायाँकनमा व्यस्त छन्। अर्थात झरना थापाकी छोरी सुहानी थापासँग स्क्रिन रोमान्स गर्दैछन्। दशैं लगतै 'ब्याचलर बन्टी' टिम फिल्मको छायाँकनमा जानेछ।