PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

आयोजना शुरु भएको ६ वर्षमा चौकुनेमा विद्युत: लालमाया भन्छिन्  ‘गाउँ नै झिलिमिली हुनेभयो’



पी बी खड्का

आयोजना शुरु भएको ६ वर्षमा चौकुनेमा विद्युत: लालमाया भन्छिन्  ‘गाउँ नै झिलिमिली हुनेभयो’

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतका सबै स्थानीय तहमा अझै विद्युतीकरण भइसकेको छैन। नौँ स्थानीय तह मध्ये नगरपालिकामा विद्युत पुगे पनि सबै गाउँटोलमा पुगेको छैन। गाउँपालिकको हालत उस्तै। 

विद्युत लाईनले नछोएको गाउँपालिका हो चौकुने। गाउँपालिकाले विद्युतीकरण गर्नकै लागि ‘चौकुने उज्यालो अभियान’ समेत सञ्चालन गरेको छ। सोही योजना अनुसार गाउँपालिकाले २२ किलोवटा क्षमताको लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ।  

२०६९ बाट शुरु उक्त जल विद्युत आयोजना अहिले सम्पन्न भएको हो।  

वर्षाैदेखि अन्धकारमा बस्दै आएका गाउँपालिकाको वडा नं. ५ बासिन्दाले अब विद्युत बाल्न पाउने भएका छन्।  स्थानीयवासी २० घरपरिवारले १० लाख रुपैँया बरावरको जनश्रमदान गरे भने उपभोक्ता आफैले शेयर वापत १० हजारका दरले पहिलो किस्तामा दुई लाख पाँच हजार संकलन गरेको थियो।  

साविकको बिजौरा गाउँ विकास समितिले पाँच लाख ३५ हजार रुपैँया बजेट विनियोजन गरेको थियो। यता तत्कालिन जिल्ला विकास समितिबाट २ लाख ९५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ३५ लाख १७ हजार बजेट छुट्टाएको थियो। 

अहिले चौकुने गाउँपालिकाले सोही आयोजनाका लागि १७ लाख ५ हजार विनियोजन गरेको थियो।  

विभिन्न सहयोगी दाताबाट प्राप्त ८५ लाख रकमसँगै जम्मा ९५ लाखको लगानीमा २२ किलोवाट क्षमता विद्युत उत्पादन गरिएको आयोजनाका सचिव रेशम बिसीले जनाए।

उत्पादन भएको विद्युत सोही वडाका २० घरधुरी रेक्चावासीले उपभोग गर्ने उनले जनाए।  यसअघि वैकल्पिक ऊर्जासंग १६ किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने क्षमताको सम्झौता भएपनि अहिले २२ किलोवाट विद्युत उत्पादन गरिएको बताए।  

आयोजनाका सचिव विसीका अनुसार भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुनाले आयोजना निर्माण हुन समय लागेको बताए। ‘ आयोजना स्थलसम्म ल्याउने सडक पनि थिएन।’ उनले भने,‘पर्याप्त रुपमा बजेट पनि भएन।’’

स्थानीय हर्षित 

गाउँमा विद्युत उत्पादन भएपछि स्थानीयवासी हर्षित भएका छन्। वर्षाैदेखि अन्धकारमा बसेका स्थानीय अव बत्ति बाल्न पाउने भएको स्थानीय लालमाया बोहोराले खुशी व्यक्त गरिन्। ‘अव बल्ल बिजुली बत्ती बाल्न पाइने भयो, सोलार बाल्न नपर्ने भो, अव अलि सुविधा होला।’ उनले भनिन्, ‘गाउँ नै झिलिमिली हुने भयो।’’ 

टेलिकमको टावर नियमित हुने 

लघु जलविद्युत आयोजना निर्माण भएदेखि अब नेपाल टेलिकमको टावर नियमित आउने भएको छ। विद्युत अभावले यहाँका नागरिक फोन सम्र्पकबाट सास्ती झेल्दै आएका थिए। अब २२ किलोवाट क्षमताको विद्युत उत्पादन भएसँगै टावरमासमेत जडान गरिने भएको छ। अबको केही दिनमा टेलिकमको टावर नियमित हुने छ।  

अव चौकुनेमा साना लघु जलविद्युत आयोजनाहरु निर्माण गर्ने र स्थानीय गाउँघर उज्यालो बनाउने अध्यक्ष धिरबहादुर शाहीको भनाई छ।
लगाम, बेतान, घाटगाँउ लगायतका स्थानमा लघु जलविद्युत आयोजनाको लागि वैकल्पिक ऊर्जा केन्द्रसँग सहकार्य गरी अध्ययन गरिने उनले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell