
काठमाडौं : बिम्स्टेक राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका विषयमा सत्तारुढ दल नेकपा भित्र विवाद चलिरहेकै अवस्थामा अमेरिकी सेनाको नेपालमा सम्मेलनका विषय पनि विवादित बनेको छ।
नेकपा प्रतिनिधिसभाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नै अमेरिकी सेनाको सम्मेलन नेपालमा किन भएको भन्दै प्रश्न गरेका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सञ्चार माध्यमको हवाला दिँदै अमेरिकी सेना एसिया प्यासिफिकको इन्टेलिजेन्स चिफहरुको सम्मेलन काठमाडौंको ह्यात होटलमा १७ गतेदेखि २१ गतेसम्म चलिरहेको बताउँदै २४ वटा मुलुकको सहभागिता रहेको सुनाए।
‘अहिलेको भूराजनीतिक परिस्थिति, अमेरिका र चीनको प्रतिद्वन्द्विताको अवस्थामा नेपालको परराष्ट्र नीतिको सन्दर्भमा यस प्रकारको कार्यक्रमहरु कतिको अनुकुल हुन्छन्? परराष्ट्र नीति अनुकुल हुन्छन्, हुँदैन सरकारको ध्यान जाहोस्,’ सदनमा गुरुङले भने।
यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि प्रधानमन्त्री ओलीले मंगलबार संसदमा जानकारी गराएको विषयमा सन्तुष्ट देखिएनन्।
बिम्स्टेक संयुक्त सैन्य अभ्यासका विषयमा अन्तुष्टि व्यक्त गर्दै रावलले प्रधानमन्त्रीले भनेको जस्तो कुनै पनि अभ्यास नहोस् भन्ने कुरा व्यवहारमा लागू हुनुपर्ने बताए।
‘भारतीय प्रधानमन्त्रीले बोलेको कुरा सुन्यौं। प्रधान सेनापतिहरु सहितको विशेष बैठक र सैन्य अभ्यासको कुरा सुन्यौं। यसप्रति सरकारले ध्यान दिन आग्रह गर्दछु,’ संसदमा रावलले भने, ‘प्रधानमन्त्रीले यस खालको कुनै अभ्यासको कुरा छैन भनेर भन्नुभयो। उहाँको भनाइलाई व्यवहारमा कार्यन्वयन होस् भनेर चाहान्छु।’
‘यदि कुनै पनि किसिमले त्यस्तो खालको सैनिक अभ्यासमा नेपालले यस्ता क्षेत्रीय सहयोग संगठनमार्फत प्रवेश गर्ने काम गर्यो भने त्यसबाट नेपालले दीर्घकालीन रुपमा रणनीतिक, राजनीतिक, कुटनीतिक दृष्टिकोणबाट ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति उत्पन्न हुन्छ,’ उनले भने, ‘नेपालको भूराजनीति, हाम्रा छिमेकीहरुको विशाल अवस्था र आजको बदलिदो अन्तर्राष्ट्रिय परिवेशको स्थितिमा हामीले दोस्रो विश्व युद्धमा स्वीजरल्याण्ड जस्तो देशले असंलग्न भएर आफू अगाडि बढेको कुरालाई सम्झिनु पर्छ।’