
सिनियर टोली एसिया कपको लागि तयारी अवस्थामा रहेका कारण भारतले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्न यू-२३ टोली पठाएको थियो। साफ अघि त्यो टोलीले अष्ट्रेलियामा प्रशिक्षण गरेको थियो।
र भारतको उक्त युवा टोलीले नै ढाकामा चलिरहेको साफ च्याम्पियनसिपमा श्रीलंकाको राष्ट्रिय टोलीलाई हराएर विजयी सुरुवात गरेको छ।
भारतले श्रीलंकालाई २-० ले पराजित गरेको हो। भारतका लागि कुरुनियान र चान्गटेले एक-एक गोल गरे। भारतले दुवै हाफमा एक-एक गोल गरेको थियो। कुरुनियानसहित साफ खेल्ने टिममा भारतको सिनियर राष्ट्रिय टोलीका ६ जना खेलाडी छन्।
भारत साविक विजेता समेत हो। सन् २०१५ मा घरेलु मैदानमै भएको साफमा भारतले अफगानिस्तानलाई हराएरउपाधि जितेको थियो। पहिलो खेल जितेपछि भारतले समूह बी बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। समूह बी मा भारत र श्रीलंकासँगै माल्दिभ्स पनि छ।
अब श्रीलंकाले शुक्रवार माल्दिभ्ससँग खेल्नेछ भने भारतले आइतवार माल्दिभ्ससँग खेल्नेछ।