
काठमाडौँः नयाँ मुलुकी संहिता लागू भएपछि संहिताका केही प्रावधानलाई लिएर चिकित्सक आन्दोलित छन्। चिकित्सकले गरेका काम कारबाही र त्यसका धेरै परिणामलाई मुलुकी अपराध संहिताले फौजदारी दायित्व मानेपछि चिकित्सक आन्दोलित भएका हुन्।
संहिताले इजाजत नभई स्वास्थ्य सेवामा संलग्न भएमा, बदनियत वा हेलचक्रयाइँ गरी उपचार गरी बिरामीको ज्यान गएमा वा अंगभंग भएमा त्यस्ता कसुरलाई फौजदारी दायित्व मानेको छ। चिकित्सकले बदनियत वा लापरबाही कसले छुट्ट्याउने भन्दै सरकारलाई प्रश्न गरिरहेका छन्। प्रस्तावित व्यवस्था संशोधनका लागि सेवा ठप्प पारिसकेका छन्।
चिकित्सक र सरकारबीच असमझदारीको अवस्था कामयै रहेका बेला सर्वोच्च अदालतले ०७४ कार्तिकमा गरेको एक फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ। जहाँ चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको ज्यान गएको र क्षतिपूर्ति भराउने वा नभराउने मुख्य विषय रहेको छ।
तर न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले हालै कार्यान्वयनमा आएको संहिता, चिकित्सकको लापरबाहीको दायित्व लगायतमा व्याख्या गरेका छन् । जहाँ कसुरको प्रकृति र मात्रा हेरी देवानी र फौजदारी दुबै दायित्व सिर्जना हुने व्याख्या गरिएको छ।
संयुक्त इजलासले व्याख्यामा भनेको छ–
चिकित्सकको हेरचाह गर्ने दायित्त्वभित्र बिरामीको उपचार गर्न सहमति जनाउने, उपचार गर्ने र उपचार गर्दा होसियारीपूर्वक र सतर्कतापूर्वक गर्ने दायित्व समेत पर्छ। हेरचाहसम्बन्धी दायित्त्वको उल्लंघन हुँदा लापरबाही हुन जान्छ। लापरबाहीले अवस्था अनुसार दुई किसिमको दायित्व निम्त्याउँछ।
पहिलो हो देवानी दायित्व- यस अन्तर्गत दुष्कृति सम्बन्धी कानुन वा उपभोक्ता संरक्षण सम्बन्धी कानुन अन्तर्गत क्षतिपूर्ति तिर्ने दायित्व लापरबाही गर्ने व्यक्ति वा संस्थामा रहन्छ।
दोस्रो हो फौजदारी दायित्व –जहाँ लापरबाही गम्भीर छ, उदाहरणार्थ जहाँ योग्यता नभएको मानिसले उपचार गरेको छ, वा जहाँ सामान्यतः व्यावसायिक योग्यता भएका व्यक्तिहरूले गर्दै नगर्ने अनौठो र हेर्दै आश्चर्य लाग्ने कार्यहरू जस्तो, एउटा अङ्गको चिरफार गर्नुपर्नेमा अर्को अङ्गको चिरफार गरेको वा चिरफार गर्दा शरीरभित्र गज वा कैँची आदि छाडेको अवस्था छ, यस्तो लापरबाहीलाई गम्भीर लापरबाही भनिन्छ र यस्तोमा फौजदारी कानुन आकर्षित हुन्छ र क्षतिपूर्तिको अतिरिक्त अन्य सजाय पनि हुन सक्छ।
लापरबाही र बदनियतको परिणाम अनुसार कानुन आकर्षित हुने कुरा फैसलामा उल्लेख गरिएको छ। लापरबाहीको गम्भीरतामा नै कस्तो कानुन लाग्ने निर्भर हुने फैसलामा उल्ल्खेख छ। कुनै कार्यको परिणाम यस्तो हुन्छ भन्ने जानी-जानी हेलचक्रयाइँ गरेमा फौजदारी दायित्व सिर्जना हुने फैसलामा उल्लेख छ। अदालतले चिकित्सकबाट गल्ती हुने कुरालाई स्वीकार गरेको छ।
सर्वोच्चले व्याख्यामा भनेको छ - कुनै पेसा जति नै उत्कृष्ट, जति नै विशिष्ट, जति नै सम्मानित भए पनि सो पेसामा संलग्न व्यक्तिहरूबाट गल्ती हुँदैनन् भनी मान्न सकिँदैन। गल्ती, लापरबाही र हेलचक्रयाई लगायतका अक्ष्यम्य गल्तीहरूलाई प्रभावकारी ढङ्गबाट सम्बोधन गर्न सक्यौँ भने मात्र चिकित्सा पेसाको सम्मान कायम रहन्छ।
कस्तो अवस्थामा कुन दायित्व
एक किसिमको इलाज गर्नुपर्नेमा अर्को इलाज गरेको अर्थात् गलत अङ्ग चिरफार गरेको वा गलत औषधि खुवाएको वा सिफारिस गरेको विषय,लापरबाही वा हेलचक्राइँ अन्तर्गत पर्छ। निदान र उपचारमा भएका गम्भीर र अक्ष्यम्य गल्तीहरू यही वर्गमा पर्छन्। यस्तोमा दोषको मात्रा हेरी सम्बन्धित व्यक्तिले फौजदारी वा देवानी दायित्व बेहोर्नुपर्छ। जहाँ दोषको मात्रा गम्भीर छ त्यहाँ सम्बन्धित चिकित्सक वा उपचारमा संलग्न व्यक्तिले फौजदारी दायित्व बेहोर्नुपर्छ अन्यथा देवानी दायित्व अन्तर्गत यो विषयलाई हेरिन्छ।
विशेषज्ञहरूको राय चाहिन्छ
अदालतले फौजदारी आरोप पुष्टिका लागि स्वतन्त्र राय, मेडिकल बोर्डको पुष्टि आवश्यक पर्ने फैसलामा उल्लेख गरेको छ। हाल प्रचनमा आएको संहिताको व्यस्थासमेत व्याख्याका क्रममा अदालतले भनेको छ–
शङ्कारहित पुष्टि हुनुपर्छ
फौजदारी दायित्व शंकारहित तवरबाट पुष्टि हुनुपर्ने भन्दै व्याख्याका क्रममा अदालतले भनेको छ –
के हो विवाद? के छ सर्वोच्चको फैसलामा? पढ्नुहोस् तथ्य र फैसलाको पूर्णपाठ