PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दक्षिण एसियामा अमेरिकी चासो : विदेशमन्त्रीको पाकिस्तान भ्रमण, किन आए रक्षा र विदेशमन्त्री भारत?



विधुर ढकाल

दक्षिण एसियामा अमेरिकी चासो : विदेशमन्त्रीको पाकिस्तान भ्रमण, किन आए रक्षा र विदेशमन्त्री भारत?

काठमाडौं : अमेरिकाका विदेशमन्त्री माइक पोम्पियो पाकिस्तान हुँदै भारत पुगेका छन्। दक्षिण एसियाली देशको भ्रमणका क्रममा पोम्पियोसँगै अमेरिकी रक्षामन्त्री जेम्स मेटिस पनि भारतमा छन्।
 
पाकिस्तानमा नयाँ सरकार बनेसँगै त्यहाँ पुगेका माइक पोम्पियोले दुई देशवीच चिसिएको सम्बन्धमा सुधार ल्याउने प्रयास गरेका छन्। 

पाकिस्तानले अफगानस्तानी तालिवान लडाकुलाई सुरक्षित आश्रय दिइरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ भने पाकिस्तानले आरोपलाई अस्वीकार गर्दै आएको छ। 

यही आरोपसँगै ट्रम्प प्रशासनले पाकिस्तानमाथि एक विलियन अमेरिकी डलर बरावरको रक्षा सहायता रोकेको छ। 

अमेरिकी विदेशमन्त्री पोम्पियोले अमेरिका पाकिस्तान सम्बन्धमा अनेकौँ चुनौतीहरु रहेको बताउँदै पाकिस्तान भ्रमण गरे।
 
अमेरिकी जोइन्ट चिफ अफ स्टाफका प्रमुखसहित पोम्पियोको पाकिस्तान भ्रमण पाकिस्तानमा नयाँ सरकार बनेपछिको उच्चस्तरीय भ्रमण हो। 

अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानप्रति कडा लाइन लिएपछिको यो भ्रमणले दुई देशबीचको दुरी कम गर्ने प्रयासको रुपमा लिइएको रोयटर्सले जनाएको छ। पोम्पियोले पाकिस्तानी प्रधानमन्त्री इमरान खान, विदेशमन्त्री शाह मेहमुद कुरेसी र पाकिस्तानी सेनाका प्रमुख जनरल कुमार जावेद बाजवासँग भेटवार्ता गरे।

‘हामीले पाकिस्तानको नयाँ सरकार, दुई देशबीचको सम्बन्धलाई नयाँ सिराबाट विकसित गर्ने विषयमा छलफल गर्‍यौँ। यसका साथै व्यवसायी साझेदारी र अफगानस्तानमा युद्धको समाप्तिका विषयमा छलफल भयो,’ पाकिस्तानबाट भारत उड्ने क्रममा उनले भने।
 
उनले पाकिस्तानको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि नयाँ सुरुवात गरेको उनले विश्वास व्यक्त गरेका छन्। 

पोम्पियोले पाकिस्तानसँग नयाँ सिराबाट सम्बन्धको सुरुवात भएको घोषणा गरे पनि सहायता कटौतीको विषयमा भने बोलेनन्।

‘हामीले अझै लामो यात्रा गर्नु छ,’ तालिवानको विषयमा उल्लेख नगरी उनले भने, ‘हामीले उनीहरुलाई स्पष्ट पारेका छौँ उनीहरु पनि यसमा सहमत छन्। यो समय भनेको हाम्रो साझा प्रतिवद्धता कार्यान्वयन गर्ने हो।’
 
पोम्पियो अमेरिकी मरिन जनरल तथा जोइन्ट चिफ अफ स्टापका प्रमुख जोसेफ डनफोर्ड इस्लामावाद ओर्लिएको केही समयपछि त्यहाँ ओर्लिएका थिए। पाकिस्तानको भ्रमणपछि भारत पुगेका उनले त्यहाँ विदेशमन्त्री सुस्मा स्वराजसँग भेट गरेका छन्।
 
पोम्पियोले भारत भ्रमणका क्रममा भारत–रुस सम्बन्धका विषयमा चर्चा गर्ने बताइएको बीबीसीले जनाएको छ। भारतले रुसी मिसाइल प्रणाली र इरानी पेट्रोलियम पदार्थको खरिद गर्दै आएको छ। यसप्रति अमेरिकाले चासो व्यक्त गर्दै आएको छ। 

रुस र इरानसँग पछिल्लो समय अमेरिकाको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। इरान भारतको पेट्रोलिय पदार्थ आयातको मुख्य स्रोत हो। त्यस्तै भारतले रुसबाट दुई–तिहाई सैन्य सामाग्रि आयात गर्दै आएको छ। 

पछिल्लो समय भारतले रुससँगबाट एस–४०० सर्फेस टु एयर मिसाइल प्रणाली खरीद गर्ने योजना बनाइरहेको छ। अमेरिकाले रुस र इरानमाथि प्रतिबन्ध लगाएको छ। यसमा दबाब दिन उनीहरुको भारत भ्रमण केन्द्रित हुने बताइएको छ। 

यद्यपि, भारतले इरानबाट पूर्णरुपमा तेल खरिद नरोक्ने बताएको छ। अमेरिकी मन्त्रीहरुसँगको भेटपछि आफ्नो रणनीति बदल्ने बताइएको छ। 
उनीसँगै अमेरिकी रक्षामन्त्री मेटिसले पनि एकै पटक भारतको भ्रमण गरी भारतमाथि दवाव बढाएका छन्।
 
यस भ्रमणका क्रममा भारतसँगै रक्षा सम्झौता हुँदैछ। यो सम्झोताले दुवै देशबीच एसियामा चिनियाँ प्रभाव बढ्दै जाँदा थप रक्षा साझेदारी हुँदै छ।
 
भारतमा रहेका दुई अमेरिकी मन्त्रीहरु द्वीपक्षीय भ्रमणमा जुटेका छन्। अमेरिकी रक्षामन्त्री मेटिस र भारतीय समकक्षी निर्मला सीतारमण तथा अमेरिकी विदेशमन्त्री पोम्पियो र उनका भारतीय समकक्षी स्वराजबीच द्वीपक्षीय भेटवार्ता सुरु भएको छ।
 
भेटवार्तामा भारतले रुससँग खरीद गर्न लागेको मिसाइल प्रणाली खरिदबाट पछि नहट्ने अडान कायम राख्ने अमर उजालाले जनाएको छ। भेटमा दुई देशले चीनलाई रोक्न संयुक्त रणनीतिको विषयमासमेत चर्चा गर्ने बताइएको छ। 

भारतले अमेरिकासँगै प्राविधिक सहयोग बढाउने, ड्रोन किन्ने तथा भूउपग्रह डाटाको आदान प्रदानका विषयमा समेत चर्चा हुने बताइएको छ। 

‘टु प्लस टु’ वार्ताको क्राममा दुवै देशबीच सैन्य साझेदारी र कम्युनिकेशन कम्प्याविलिटी एण्ड सेक्यूरिटी एग्रिमेन्टमा हस्ताक्षर हुने ग्लोबल न्यूजले जनाएको छ। यो सम्झौताले भारतलाई अमेरिकी मिलिटरी हार्डवेर, सि गार्डियन ड्रोनको खरीद गर्ने बाटो खुल्ने छ। अमेरिकाले हालसम्म यो ड्रोन नाटो गठबन्धन बाहिर बिक्री गरेको छैन्। 

आजै अमेरिकी मन्त्रीहरुले भारतीय समय अनुसार साढे चार बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell