PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भारत भ्रमणमा निस्किए प्रचण्ड : यस्तो छ प्रचण्ड - भारत सम्बन्धको ग्राफ 



विधुर ढकाल

भारत भ्रमणमा निस्किए प्रचण्ड : यस्तो छ प्रचण्ड - भारत सम्बन्धको ग्राफ 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दक्षिणी छिमेकी भरतको भ्रमणमा निस्किएका छन्। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको एकतापछि बनेको नेकपाको अध्यक्षका हैसियतले उनको यो पहिलो विदेश भ्रमण हो। 

प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक एजेन्डाभन्दा पनि विकास निर्माणमा केन्द्रित हुने बताएका छन्। त्रिभुवन विमानस्थलमा भारत प्रस्थान गर्नु अगाडि पत्रकारहरूसँग उनले भने, ‘केही समय अगाडि प्रधानमन्त्री केपी ओलीज्यूको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसबिच भएका नेपाल भ्रमणमा भएका सहमति सम्झौताहरूको कार्यान्वयन, हिजो भारतले गरेका प्रतिबद्धताहरू स्मरण गराउने पनि मेरो विचार छ।’ 

भारतले भूकम्पपछि प्रतिबद्धता जनाएको सहयोग, हुलाकी राजमार्गसहित दुई प्रधानमन्त्रीबिच भएका सम्झौताको कार्यान्वनयलाई सकारात्मक वातावरण बनाउनका लागि भारत भ्रमणमा जान लागेको उनले बताए। उनले नेपालको समृद्धिको नारालाई पूरा गर्नका लागि भारत सरकार र भारतीय बुद्धिजीवीसँग छलफल गर्नेसमेत बताए। 

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित संस्थापन पक्षका नेताहरू, साथै विभिन्न राजनीतिज्ञ तथा भारतीय बुद्धिजीवीहरूसँग भेटवार्ता गर्ने छन्। 

प्रचण्डले भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

नेपालको सत्तारुढ पार्टीको शक्तिशाली अध्यक्षका रूपमा हुन लागेको प्रचण्डको भारत भ्रमण नेपाल र भारत दुबै अर्थपूर्ण लिइएको छ। प्रचण्ड २३ गते नेपाल फर्किने छन्।
यसैबिच प्रचण्ड असोज पहिलो साता उत्तरी छिमेकी चीनको समेत भ्रमण गर्दै छन्। 
 

प्रचण्ड–भारत सम्बन्ध कहिले काख कहिले पाखा

अध्यक्ष प्रचण्डको भारतीय पक्षसँग लामो समयदेखि सम्बन्ध छ। उतारचढावको सम्बन्ध सम्बन्ध। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेका जनयुद्धदेखि नै प्रचण्ड र भारतीय संस्थापन पक्षबिचको सम्बन्ध रहेको बताइन्छ। भारतले नेपालका माओवादीप्रति दोहोरो नीति लिएको थियो। एकातिर माओवादीलाई सहयोग गरिरहेको भारतले अर्कोतिर आतंककारीको संज्ञा दिँदै सरकारलाई माओवादी विरुद्ध लड्न सहयोग पुराएको थियो। 

२०५२ सालपछि उतार चढावको सम्बन्ध कहिले तितो कहिले मिठो हुँदै आएको छ। १० वर्ष जनयुद्ध सञ्चालन गरेका प्रचण्डलाई राजनीतिको मूलधारमा ल्याउन भारतले पनि भूमिका खेलेको थियो। तत्कालीन समयमा सात पार्टी र माओवादीलाई दिल्लीमा १२ बुँदे सम्झौता गराएर भारतले राजाविरुद्ध दुई फरक शक्तिलाई राजनीतिकको एउटै मञ्चमा ल्याएको थियो। 
त्यस यता भारतले प्रचण्डलाई कहिले काखा कहिले पाखा राख्दै आएको छ। अर्कातिर प्रचण्डले भारतलाई समेत राजनीतिक सत्ता प्राप्तिका लागि प्रयोग गर्दै आएका छन्। 

सिंहदरबारबाट दुःखद बहिर्गमन

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा बहुमत लिएको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए। हालसम्म नेपालमा प्रधानमन्त्री बनेसँगै भारत जाने परम्परा जस्तै रहेको छ। त्यसलाई तोड्ने प्रयास प्रचण्डले गर्न खोजे। २०६३ सालमा १० वर्ष जनयुद्धको नेतृत्व गरेर २०६५ असार ३१ मा प्रधानमन्त्रीको रूपमा सिंहदरबार छिरेका उनी पहिलो विदेश भ्रमणको रूपमा उत्तरी छिमेकी तथा कम्युनिस्ट देश चीनको भ्रमण गरे। 

उनको चीन भ्रमणलाई लिएर भारत सशंकित बन्यो। त्यसपछि उनले चीन भ्रमणलाई राजनीतिक भ्रमण नभनी पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने प्रतिक्रिया दिएर भारत गए। तर पनि भारत माओवादी सरकार र प्रचण्डप्रति विश्वस्त हुन सकेन। 

माओवादीको सरकारलाई भारतले असहयोग गर्न थाल्यो। यही असहजताकाबीच प्रचण्ड सरकारले तत्कालीन प्रधान सेनापति रुक्मागत कटुवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो। त्यस्तै पशुपतिमा भारतीय भट्ट हटाउने निर्णय पनि प्रचण्ड सरकारका लागि असफल निर्णय बन्यो। सरकारका यी निर्णय विरुद्ध भारतले ठाडो हस्तक्षेप गर्‍यो। ९ महिनामा नै सिंहदबारबाट बाहिरिनु पर्‍यो। २०७६ साल वैशाखमा प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा भारत प्रति लक्षित गर्दै प्रचण्डले विदेशी प्रभु सामु कुर्सीका लागि नझुक्ने बताएर बाहिरिएका थिए। 

प्रचण्ड पछि बनेको माधव नेपाल नेतृत्वको सरकारलाई ‘प्रभुको इसारामा बनेको सरकार’ को संज्ञा दिँदै माओवादी अन्दोलन गर्‍यो। उसले भारत विरुद्ध आन्दोलन नै घोषणा गर्‍यो।

सरकार विरुद्ध देशभरबाट राजधानीमा कार्यकर्ता उतारेको माओवादीले आन्दोलनबिचमा नै रोक्यो। त्यति बेला वार्ता मालिकसँग गर्ने भन्दै भारत तर्फ प्रचण्डले लक्षित गरेका थिए। 

प्रचण्ड पछि प्रधानमन्त्री बनेका नेपाल पनि धेरै समय टिक्न सकेनन्। उनले राजीनामा दिएर बाहिरिए। त्यसबिच संसदमा उनी पनि प्रधानमन्त्रीको उम्मेदवार बने तर उनलाई यस पटक प्रधानमन्त्री बन्नबाट भारतले नै रोकेको विश्लेषण माओवादी भित्र हुँदै आएको छ। 

प्रचण्डले तत्कालीन एमालेका महासचिव झलनाथ खनाललाई प्रधानमन्त्री बनाए। माओवादीको सहयोगमा प्रधानमन्त्री बनेका खनाल पनि धेरै दिन टिक्न सकेनन्। 

तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई भारतकै सहयोगमा प्रधानमन्त्री बनेको उनले बेलाबेला बताउँदै आएका छन्। 

संविधान निर्माणमा भारतको हस्तक्षेप र प्रचण्डको अडान

यसबिच पहिलो संविधानसभाको असफलतापछि भएको अर्को संविधानसभाको निर्वाचनमा माओवादीलाई ठुलो धक्का लाग्यो। संविधान जारी गर्ने बेला भारतले संविधान रोक्ने प्रयास गर्‍यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश सचिव रवि शंकर विदेश दूतको रूपमा नेपाल आए। उनले संविधान जारी नगर्न दबाब दिए। तर प्रचण्डले अडान कायम गरे। संविधान जारी भयो। भारतले अघोषित नाका बन्दी लगायो। 

भारतले नाकाबन्दी लगाउँदै गर्दा प्रचण्डको सहयोगमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। काँग्रेस विरुद्धद्ध उनले ओलीलाई प्रधानमन्त्री बनाए। यसक्रममा प्रचण्ड भारत प्रति कटु आलोचक बनेका थिए। उनले खुला मञ्चबाटै भारतले नाकाबन्दी गरेर पेट्रोलियम पदार्थमा रोक लगाए साइकल चढ्ने तर भारतसँग नझुक्ने भन्दै भाषण नै गरे। 
भारतले ओली सरकारलाई चीनको समर्थनमा बनेको भन्दै असहयोग गर्‍यो। 

भारतकै ‘सहयोग’मा प्रधानमन्त्री

यसैबिच प्रचण्डले आफैले बनाएको ओली सरकारलाई ढलाए। यसबिच उनलाई लागेको आरोप थियो ‘लम्पसारवाद’। ओलीले प्रचण्ड सरकार विरुद्ध भारत परस्तको संज्ञा दिँदै आन्दोलन नै गर्‍यो। 

यद्यपि प्रचण्डले यसबिच देशलाई चुनावमा प्रवेश गराए। स्थानीय तहको निर्वाचनमा काँग्रेससँग विभिन्न स्थानमा गठबन्धन गरेर चुनावमा गएको माओवादी स्थानीय तहको चुनाव सकिँदै गर्दा माओवादी र एमालेले चुनावी गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी बने। एमाले ठुलो दल बन्यो। माओवादी तेस्रो।

यो गठबन्धनलाई भारतले चीनले निर्माण गरिदिएको गठबन्धनको रूपमा लिँदै आएको छ। यी दुई पार्टीहरू जेठमा एकता भई ने क पा बनेको छ। यही शक्तिशाली पार्टीको रूपमा प्रचण्ड भारतको पहिलो भ्रमणमा जाँदै छन्। 

पहिलो पटक प्रधानमन्त्री हुँदा भारतविरोधी प्रधानमन्त्रीको रूपमा देखिएका ओलीले पनि यस पटक भारतसँग सम्बन्ध विस्तारको काम गरिरहेका छन्। नेपालको विकासमा छिमेकीको सहयोग आवश्यक रहेको बताउँदै दुबै छिमेकीलाई साथमा लिएर अगाडि बढ्ने नीति लिएको नेकपाले आफ्ना अध्यक्ष दुबै छिमेकमा पठाएर सम्बन्धलाई थप मजबुत बनाउने प्रयासमा छ। 

प्रचण्ड भारत भ्रमणमा जाँदै गर्दा दिएको अभिव्यक्तिले पनि यही संकेत गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell