
काठमाडौं : अभिनेता आर्यन अधिकारीलाई अभिनेता टाइगर श्रफको 'फोटोकपी' भनेर दाँजिन्छ। उनको शारीरिक बनावट टाइगरसँग मिल्न गएकाले पनि उनलाई बलिउडका 'टाइगर' जस्तै देखिन्छ भन्नेहरु छन्।
सुरुमा टाइगर जस्तै लाग्छ भन्नेहरुसँग आर्यन सकरात्मक हुन्थे। तर, उनको परिचयसँगै टाइगरको नाम हावी हुन थालेपछि भने उनलाई टाइगरको 'फोटोकपी' भन्दा चित्त दुख्छ। दर्शकले कहिले पनि आफूलाई टाइगरको फोटोकपी नभन्ने दावी गर्छन् आर्यन।
उनले भने, ‘पत्रकारले भन्छन्। बाहिर मलाई कसैले पनि टाइगर श्रफ जस्तै देखिन्छ भन्दैन। तर पत्रकार भेटमा र अन्तर्वार्तामा मलाई म टाइगर जस्तै देखिन्छु भन्छन्।'
'म उ जस्तै देखिन्छु होइन। टाइगर श्रफ चाहिँ म जस्तै देखिएको हो,' उनले थपे, 'उभन्दा म अगाडि जन्मेको हो। म उ जस्तो होइन, उ म जस्तो हो।’
आर्यनले ‘के म तिम्रो होइन र’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका थिए। पछिल्लो समय अभिनेत्री प्रियंका कार्कीसँग उनले ‘बटरफ्लाई’ गरेका थिए। तर, फिल्म खासै चलेन।
तर, अहिले उनले अर्को फिल्म ‘बाँध मायाले’ मा देखिँदैछन्। फिल्ममा उनले पूर्व मिस् नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरेका छन्। फिल्म ‘बाँध मायाले’ आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउनेछ।