
काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको समूह ए को खेलमा नेपालले भुटानलाई ४-० ले हरायो।
नेपालको लागि अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्काले गोल गरे। पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो।
कप्तान विराज महर्जनसहित भरत खवास र नवयुग श्रेष्ठलाई बेन्चमा राख्दै खेल सुरु गरेको नेपालका लागि २१औँ मिनेटमा अननस्तले सुनिल बलको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विराजको स्थानमा किरण चेम्मोङले नेपालको आर्मब्याण्ड लगाएका थिए।
पहिलो हाफमा नेपालले एक गोलको अग्रता कायमै राख्यो। नेपालले दोस्रो हाफको अन्तिम १९ मिनेटमा ३ गोल गर्यो। ७१औँ मिनेटमा नेपालले पेनाल्टी पाएको थियो। विमल घर्ती मगरको पेनाल्टी प्रहार भुटानी गोलकिपरले रोकेपछि त्यसको रिबाउण्डमा सुनिलले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। दोस्रो हाफमा मैदान छिरेका भरत खवासले ७९औँ मिनेटमा नेपालको लागि तेस्रो गोल गरे। यस्तै दोस्रो हाफमै मैदान छिरेका निराजन खड्काले ८८औँ मिनेटमा गोल गर्दै नेपाललाई सहज जित दिलाए।
७९औँ मिनेटमा भुटानका निमा वाङ्ग्दीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा झरेको थियो।
भुटान विरुद्ध दोस्रो हाफमा मैदान छिरेका कप्तान विराज नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन्। ८२औँ मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गर्दै विराजले नेपालको लागी ६९औँ क्याप जितेका हुन्।
पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले दोस्रो खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २-० ले पराजित भएको थियो। नेपालले अब समूहको तेस्रो खेल शनिवार बंगलादेशसँग खेल्नेछ।