काठमाडौं : गुन्डा नाइके सुकबहादुर तामाङ (बाघे) पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुन्डागर्दी गर्दै आएका तामाङलाई बुधवार नियन्त्रणमा लिएको हो।
स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा तामाङले गुन्डागर्दी गर्दै आएका थिए। विभिन्न व्यक्तिलाई धम्काएको अभियोगमा तामाङलाई नियन्त्रणमा लिएको एसएसपी बसन्त लामाले बताए। एसएसपी लामाले भने, 'धम्काएको अभियोगमा नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान हुन्छ।'
तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो। तामाङ दीपक मनाङ्गे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। मंगलवार मात्र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुन्डा सत्यमान लामालाई पक्राउ गरेको थियो। लामाविरुद्ध पनि धम्काएको अभियोग छ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको एसएसपी लामाले बताए। गुन्डा नाइके तामाङ यसअघि पनि विभिन्न अभियोगमा ८ पटक पक्राउ पर्दै छुट्दै आएका छन्।