PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भुटानलाई हराएपछि प्रशिक्षक बालगोपाल : भुटान विरुद्ध रणनीतिले काम गर्‍यो, अब बंगलादेशलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्य



पहिलोपोस्ट

भुटानलाई हराएपछि प्रशिक्षक बालगोपाल : भुटान विरुद्ध रणनीतिले काम गर्‍यो, अब बंगलादेशलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्य

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ४-० को शानदार जित हासिल गर्‍यो। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले हारेपछि भुटान विरुद्धको खेल जित्नैपर्ने दबाब नेपाल सामु थियो। यस्तोमा प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान विराज महर्जनहसित नवयुग श्रेष्ठ र भरत खवासलाई बेन्चमा राख्दै खेल सुरु गरेका थिए।

युवा खेलाडीको जोश र जागरका साथ खेलेको नेपालले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको भुटानलाई सहजै पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ। पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा भुटानको एक खेलाडी कम भएको फाइदा उठाउँदै ३ गोल थप्यो।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भुटानलाई पराजित गरेपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जन यसो भन्छन्।

भुटान विरुद्धको खेल हामीलाई जित्नै पर्ने दबाब थियो। सबैले राम्रो खेले। पहिलो खेलमा आफ्नै गल्तीका कारण पराजित हुन पुग्यौँ। पाकिस्तानविरुद्धको खेलमा भएको गल्तीलाई सच्याएर भुटान विरुद्ध खेल्यौँ। जित्ने रणनीति बनाएर खेलेकाले टिममा केही परिवर्तन गर्दा पनि नतिजा हाम्रो पक्षमा आयो। दोस्रो हाफमा रणनीतिले राम्रो काम गर्‍यो। हामीले पहिलो हाफमा अग्रता लिएर पनि केही मौकाहरु गुमायौँ। भुटानसँग आत्मविश्वासी भएर खेल्यौँ त्यसैको नतिजा हो यो। सधैँ आत्मविश्वासी भएर खेल्नुपर्छ। आज पनि त्यही भएको हो। भुटानसँगको विगत जहिल्यै राम्रो हुने गरेको थियो।

अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै नकआउट चरण पुग्ने योजना छ। उक्त खेल टफ हुने अपेक्षा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell