
जापानमा भूकम्प
जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा ६.७ म्याग्निच्युड स्केलको भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ। दर्जनौं मानिसहरु बेपत्ता रहेको सयौं संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ। भूकम्पपछि गएको पहिरोका कारण धेरै घरहरु पुरिएको छ। भूकम्पपछि ४ पहिरो जाँदा भवनहरु भत्किएको जापान सरकारका प्रवक्ता योसिहिडे सुगाले बताएका छन्।
त्यस क्षेत्रमा रहेको थर्मल प्लान्ट भूकम्पबाट क्षति भएको कारण ३० लाख घरहरुमा विद्युत र संचार सेवा अवरुद्ध भएको बताइएको छ। यस्तै, एक आणविक केन्द्र पनि बन्द भएको जनाइएको छ।
फेरि पराकम्प आउन सक्ने एवम् बाढी पहिरोको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलार्इ शतर्कता अपनाउन अधिकारीहरुले आग्रह गरेका छन्। भूगर्भ विभागका अधिकारीहरुले शक्तिशाली भूकम्पको दुर्इ तीन दिन भित्र अर्को शक्तिशाली भूकम्प जान सक्ने भन्दै चेतावनी दिएका छन्।
जापानको पश्चिमी ‘जेबी’ नाम दिइएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावितहरुको उद्दार कार्य भइरहँदा यो भूकम्पले जापानमा जनधनको ठूलो क्षति गरेको भएको छ।
किम र मुन वार्ता
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सेप्टेम्बर १८ (असोज २) मा शिखर बैठक हुने भएको छ।
यसअघि दुर्इ पटक भएको वार्ता दुवै राष्ट्रको सीमावर्ती गाउँ पानमुनजोम भए पनि यसपटक भने शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा हुने भएको छ। राष्ट्रपति मुनका राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख चुङ उई योङ विशेषदूतका वार्ताका लागि बुधवार उत्तर कोरिया गएका थिए। उत्तरसँग वार्ता पश्चात किम र मुनबीच वार्ता तय भएको हो।
समलिंगी सम्बन्धलार्इ कानुनी मान्यता
भारतको सर्वोच्च अदालतले समलैंगिक सम्बन्धलार्इ कानुनी मान्यता दिएको छ। अदालतले 'यौनिक आकर्षण प्राकृतिक भएको' भन्दै त्यसमा रोक लगाउनु उनीहरुको संबैधानिक अधिकार हनन हुने बताउँदै समलैंगिक सम्बन्ध गैर कानुनी नरहेको ठहर गरेको हो। सर्वोच्चको फैसला पश्चात समलैंगिक समुदायले भारतभर खुशी मनाएका छन्।
सिंगापुरमा डाटा सेन्टर
फेसबुकले एसियामा पहिलोपटक एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीवार घोषणा गरेको छ। उक्त सेन्टर सिंगापुरमा स्थापना गरिने बताइएको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ।
भारत बन्द,प्रभाव समान्य
भारतमा अनुसूचित जात र अनुसूचित जनजाति ऐन (एससीएसटी एक्ट) मा संशोधनका विरुद्ध करिब १०० जातीय संगठनहरुले आज भारत बन्दको आह्वान गरेका थिए। बन्दका कारण मध्य प्रदेश धेरै प्रभावित भएको थियो। उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तीसगढ,दिल्ली लगायतका राज्यमा भने बन्दको सामान्य प्रभाव परेको थियो। बन्दका क्रममा बिहार र उत्तर प्रदेश प्रहरी र बन्दकर्ताहरुबीच झडप भएको थियो।
भारतमा अमेरिकी मन्त्रीहरु
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री जेम्स मेटिस दक्षिण एसियाली राष्ट्रको भ्रमणका क्रममा भारत पुगेका छन्। उनीहरुले भारतीय परराष्ट्र मन्त्री सुस्मा स्वराज र रक्षा मन्त्री निर्मला सितारमणसँग सामुहिक भेटवार्ता गरेका छन्।
सेमिफाइनलमा जोकोभिक
दुई पटक युएस ओपन जितिसकेका नोभाक जोकोभिकले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरी युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ। तेह्रवटा ग्रान्डस्लाम जितिसकेका नोभाकले विगत ५४ हप्तादेखि कुनै पनि महत्वपूर्ण प्रतियोगितामा विजयी हिसिल गर्न सकेका छैनन्।
तस्विर: AP/AFP/ REUTERS/ XINHUA/ FB SINGAPORE/ANI/EPA