PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता



पहिलोपोस्ट

भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

नयाँ दिल्लीः भारतको सर्वोच्च अदालतले समलिङ्गी यौन सम्बन्धलाई मान्यता दिने फैसला गरेको छ।

अदालतले दुई समलिङ्गीको यौन सम्पर्क अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई वैधानिकता दिएको हो।

झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ। पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो।

‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले खारेज गर्ने फैसला गरेका हुन्।

सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानुनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरावलोकन गरिरहेका थिए।

प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलासले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ। इजलासले पुरानो कानुन सच्याउनसमेत सुझाव दिएको छ।

गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ।

भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानुनविरुद्ध सङ्घर्ष गरेका थिए। रासस/एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell