PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ, फेसबुकले जुराएको थियो दुईको प्रेम’              



चन्द्रकान्त खनाल

‘प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ, फेसबुकले जुराएको थियो दुईको प्रेम’              

रुपन्देहीः सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी कपिलवस्तुकी राधा घर्ती मगरले प्रेमीको मायाजालमा फसेर आफ्नै श्रीमानको हत्या गरेकी छन्। श्रीमानको हत्या आरोपमा कपिलवस्तु, वाणगंगाकी राधालाई प्रहरीले प्रक्राउ गरेको छ।

प्रेमी रुकुम निवासी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार उनले प्रहरीसामु गरेकी छन्।

पिपरा धैरनी डाँडाका धनबहादुर घर्ती मगर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा रहेको ससुराली गएका बेला भदौ १३ गते  ससुराली नजिकै मृत फेला परेका थिए।

हत्यापछि बाँधेर बोरामा खोल्सामा फालेको अवस्थामा शव फेला पारिएको थियो। डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बाँधेको अवस्थामा घाँस काट्ने महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले अनुसन्धानको क्रममा शव पहिचानका लागि श्रीमती राधालाई बोलाएको थियो। तर, मंगलबार राति सन्धिखर्क अस्पताल आएर राधाले आफ्नो श्रीमानको शव नभएको दाबी गर्दै फर्किएकी थिइन्। प्रहरीले थप अनुसन्धानका लागि राधालाई बोलाएर सोधखोज गरेपछि पतिको हत्या स्वीकार गरेकी हुन् ।

 

कसरी भयो घटना?

प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरका अनुसार साउदी अरेबियामा रहेका प्रेमी रुकुम घर बताउने रमेश विक भदौ १० गते नै नेपाल आएर राधासँग सम्पर्कमा थिए। धनबहादुर कामको सिलसिलामा बागलुङ जाने भन्दै घरबाट हिँडेका थिए।

तीन दिनपछि धन बहादुर घर आइपुग्दा राधा माइती घर डिभर्नामा पुगेकी थिइन्।

श्रीमानले फोन गरेर घर आउन राधालाई बोलाउँदा भनाभन भएपछि धनबहादुर ससुराली घर डिभर्ना भदौ १३ गते पुगेका थिए।

बयान अनुसार श्रीमती रातिमा अपरिचित व्यक्तिसँग भेटिएपछि श्रीमान–श्रीमतीबीच झगडा भयो। मध्यरातमा तीन जनाबीच कुटाकुट भएर धनबहादुरको मृत्यु भयो। धनबहादुरको मृत्युपछि रमेशले शवलाई बोरामा बाँधेर खोल्सामा फालेको प्रहरी बयानमा स्वीकार गरेका छन्।

हत्याको भोलिपल्टै राधा र रमेश कपिलवस्तु हिँडेको राधाले प्रहरी बयानमा बताएकी छन्। बयानमा उनले आवेगमा आएर कुटपिट गरेको स्वीकार गरेकी छिन्। दुबैको कुटपिटबाट धनबहादुरको मृत्यु भएको उनले प्रहरी बयानमा स्वीकार गरेको प्रहरी निरीक्षक घर्तीले बताए। घटनाका विस्तृत अनुसन्धान भइरहेको घर्तीले बताए।

रमेशका घरमा श्रीमती र छोराछोरी छन्। साउदी अरेबियामा रहेका बेला दुई वर्षदेखि राधा र रमेशको फेसबुकमा चिनजान भएको प्रहरी बयानमा बताएका छन्। फेसबुकबाट चिनजान भएका उनीहरुबीच निरन्तर सम्पर्कमा रहेको पनि प्रहरी अनुसन्धानले देखाएको छ।

साउदीबाट नेपाल फर्किएका रमेश घरमा नगई राधासँग बसिरहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell