सुर्खेत: भेरीगंगा नगरपालिका वडा नं. १ बसेरीकी कल्पना राना डोकोमा तरकारी बोकेर बजार पुर्याउँथिन्। घरमा उत्पादित तरकारी डोको भरी पारी बिहानै वीरेन्द्रनगर बजारमा पुग्थिन।
तरकारीकै आम्दानीले घर व्यवहार चलाउँदै आएकी रानालाई गाडीको ट्युबमा बसेर भेरी नदी तर्नुको विकल्प थिएन्। एक दिन ट्युबबाट नदी तर्दातर्दै ट्युब दुर्घटना भयो। ३० वर्षीया रानाको घटनास्थलमै मृत्यु भयो। उनीसँगै तीन जनाको पनि मृत्यु भयो।
२०७४ को यो प्रतिनिधीमुलुक घटना मात्रै हो। सोही स्थानमा पुल नहुँदा यस्ता अकालमै ज्यान दर्जन बढीले गुमाइसकेका छन्।
भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर नगरपालिका–९ थापा डेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा यहाँका नागरिकले बर्सेनि धनजनको क्षति बेहोर्दै आएका छन्।
२०५४ देखि ०७४ सम्म १४ जना
नदी तर्दा रानाले झैँ अकालमै १४ जनाले ज्यान गुमाई सकेका छन्। यो क्षेत्रका नागरिक बर्सेनि ज्यानको बाजी थापेर भेरी नदीमा वारपार गर्न बाध्य छन्। नदीमा डुंगाको र ट्युबको भरमा वारपार गर्दै आएका छन्। भेरी नदीमाथि भरपर्दा पुल नहुँदा २०५४ सालदेखि २०७४ साल सम्म गरी १४ जनाले अकालमै ज्यान गुमाएका हुन्।
२०५५ सालमा पुल अभावकै कारणले डुंगा पल्टिएर २० वर्षीय ललिराम जैसी, ९ वर्षीया उर्मिला शर्माले अकालमै ज्यान गुमाउन पुगे। त्यस्तै २०५६ सालमा ३६ वर्षीय नरेन्द्र शर्मा र २४ वर्षकी अमृता घर्तीले ज्यान गुमाए। २०५७ सालमा ४६ वर्षका कृपाराम जैसीको मृत्यु भयो भने, २०५८ सालमा १४ वर्षीया बालक दिनेश रावतले ज्यान गुमाए।
त्यसै गरी २०५९ सालमा २९ वर्षका रामबहादुर थापाको नदी तर्ने क्रममा मृत्यु भयो। २०७१ सालमा ४५ वर्षीय भोजबहादुर राना र ४२ वर्षका हरिबहादुर कार्कीको डुंगा पल्टिएर मृत्यु भयो। २०७२ सालमा ३८ वर्षीय बलबहादुर रामजालीको अकालमै ज्यान गयो भने, २०७३ सालमा ११ वर्षीय बालक हरिबहादुर थापा र २१ वर्षका वैकुण्ठ थापाले ज्यान गुमाए।
गत सालमा नदीमा डुबेर दुई जनाको अकालमै मृत्यु भयो। नदी तर्नेक्रममा ३० वर्षीया कल्पना राना र १८ वर्षीय नरबहादुर बुढा मगरको मृत्यु भएको थियो।
सरोकारवालाको बेवास्ता
यहाँको नागरिकको सहज आवतजावत गर्न बारबार झोलुङ्गे पुलको माग गर्दा समेत सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ। करिब १२० मिटर लम्बाइ रहेको सो स्थानमा अझै पुल बन्न सकेको छैन । भेरीगंगा नगरपालिका १ का वडा अध्यक्ष हरिबहादुर थापाले आफूहरूले पटक पटक पुलको माग गरे पनि कुनै सुनुवाइ नभएको दुखेसो पोखे।‘हामीले विगत १२÷१५ वर्ष अघि देखि झोलुङ्गे पुलको माग गर्दै आएका छौँ।’ उनले भने,‘अहिले सम्म कुनै पनि निकायले ध्यान दिएको छैन।’ पुलकै अभावले पटक पटक गरी दर्जन बढीले ज्यान गुमाएको भन्दै सर्वसाधारण तर्सितहुदै नदीमा वारपार गर्नुपर्ने बाध्यता सुनाए। ‘बजार आउनकै लागि पनि ज्यानको बाजी थापेर वार पार गर्नुपर्छ।’ उनले भने,‘अरू कुनै विकल्पै छैन।’
पुल बनाउन समुदायको पहल
पुल बनाउनका लागि स्थानीय समुदायले पहल गर्दै आएका छन्। आम नागरिक भेला बसेर पूर्वाधार विभाग पुल्चोकमा गत साउन २३ गते पुल बनाउन माग गरेका छन्। लाभान्वित सम्पूर्ण गाउँले बसेर पुलको माग गरेका छन्।
भेला बसेर पुल निर्माणका लागि उपभोक्ता समिति समेत तयार गरिएको छ। समितिले पुलको अत्यावश्यक रहेको भन्दै स्थानीय पूर्वाधार तथा सडक विभागमा आवश्यक प्रक्रियाका लागि निर्णय गरी पठाएको छ। उक्त स्थानमा पुल बने भेरीगंगाको बसेरी, सालघारी,बाखले, धुमाउने, सिसौँ, ढाप, सुनकाउली, मनिरामकाँडा, भर्याङ्खोरीया, धुनषवास, माथिल्लो भर्याङ, लगायतका दुई दर्जन बढी समुदायका २२ सय घरधुरी परिवारका नागरिक लाभान्वित हुने छन्।
पुल अभावले यहाँका नागरिकले उत्पादन गरेका कृर्षिवस्तुले समेत बजार पाउन सकेका छैनन्। कृषकले उत्पादन गरेका कृर्षि तथा पशु उपज वस्तुहरू बिक्री वितरण गर्न ज्यानको बाजी थापेर वारपार गर्नुपर्ने बाध्यता हुन्छ। पुल बने सँगै यस क्षेत्रका नागरिकको आयस्तरमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। ‘आफूले घरमै उत्पादन गरेका तरकारीहरू बेच्न पनि पाइँदैन, घरमै सडेर जान्छ।’ स्थानीय अनिता थापा भन्छिन्,‘पुल बनेको भए त घरमा सडेर जाने तरकारी बजारमा लगेर एक दुई रुपैयाँ भए पनि बेच्थिम, के गर्ने ? बजार जान प¥यो भने पनि ट्युब र डुंगा चढ्नु पर्छ, त्यसैमा कतिले ज्यान गुमाए डर लाग्छ।’