
काठमाडौँ : भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजका लागि आसिफ शेखको कप्तानीमा नेपाली यू-१९ टोलीको घोषणा भएको छ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेका आसिफको कप्तानीमा शुक्रवार १९ सदस्यीय टोली घोषणा भएको हो। आसिफले गत वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको लागि दुई खेल खेलेका थिए।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, यू-१९ का मुख्य प्रशिक्षक विनोद दास तथा सुनोज भट्टराई र राजु खड्काको छनोट समितिले घोषणा गरेको अन्तिम टोलीमा केही पुरानासहित नयाँ खेलाडीहरु पनि अटाएका छन्।
राष्ट्रिय टिमका नियमित सदस्य रहेका यू-१९ कै खेलाडीहरु दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, अनिल शाह सन्दीप लामिछाने जस्ता खेलाडीलाई भने टिममा समावेश गरिएको छैन।
टिममा यू-१६ राष्ट्रिय टिमका रित गौतम, तृप राज दास जस्ता खेलाडीले पनि स्थान बनाएका छन्।
विनोद दासले राखेको तीन दिनको ओपन ट्रायल हुँदै सुरु भएको छनोट प्रक्रियामा सुरुमा ४४ खेलाडी छानिएका थिए। जसमा यू-१६ राष्ट्रिय टोलीका खेलाडी समेत थिए। त्यसबाट विभिन्न चरणको छनोटपछि अन्तिम टोली चयन भएको हो।
गत वर्ष यू-१९ एसिया कप खेलेका १५ मध्ये आसिफ सहित ६ खेलाडीले अहिले पनि निरन्तरता पाएका छन्। बाँकी ९ खेलाडी भने यू-१६ र विभिन्न चरणको छनोटबाट आएका हुन्।
गत वर्ष भएको यू-१९ एसिया कपमा आसिफसहित पवन सराफ, किशोर महतो,कमल सिंह ऐरी, भिम शार्की, रसिद खान नेपाली टोलीमा थिए।
नेपाली टोली आगामी सोमवार बीसीसीआईको आयोजनामा हुने ५० ओभरको क्रिकेट खेल्न भारतको लखनउ प्रस्थान गर्नेछ।
उक्त सिरिजमा नेपाल, भारत र अफगानिस्तानको यू-१९ टोलीसहित बीसीसीआईको नेशनल क्रिकेट एकेडेमीको यू-१९ टोली पनि रहनेछ।
बीसीसीआईको आयोजनामा हुने सिरिज सेप्टेम्बर १२ देखि कोलकताको इडेन गार्डेनमा हुनेछ।
१५ सदस्यी नेपाली टोली
मोहम्मद आसिफ शेख (कप्तान), तृत राज दास, रवी शाह, विपिन रावल, लोकेश बाम, रित गौतम, पवन सराफ, किशोर महतो, रसिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, मोहम्मद संसद आलम