
काठमाडौं : पक्राउ परेकी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य भुजेललाई भदौ दोस्रो साता बालाजुबाट प्रहरीले पक्रेको थियो। भुजेललाई चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो।
न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा रिहाको आदेश दिएको हो।
‘प्रहरीले गैर कानुनी थुनामा राखेको देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकोले उमा भुजेललाई मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न’ आदेश दिएको हो। सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै प्रहरीले पटक पटक म्याद थप गर्दा कानुन बमोजिमको आधार र कारण नखोलेको भन्दै उनलाई गैरकानुनी रुपमा थुनामा राखेको जनाएको छ।
सुरुमा प्रहरीले चन्दाको विषयलाई लिएर उनलाई पक्राउ गरेको जानकारी गराएको भए पनि समात्नुको कारण भने आगजनीको कसुर भएको जनाउँदै जिल्ला अदालत काभ्रेबाट म्याद थप गर्दै आएको थियो। अनुसन्धानका लागि भन्दै पटक पटक म्याद थप गर्दै उनलाई हिरासतमा नै राखिएको थियो।
उनीविरुद्ध प्रहरीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ६ चौकी डाँडामा रहेको क्रसरमा आगजनी गरेको भन्दै अनुसन्धानका लागि पटक पटक म्याद थपेको थियो।
नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा 'जेल ब्रेक'की कमाण्डर समेत हुन्। भुजेलले जेलब्रेककै विषयमा पुस्तकसमेत प्रकाशनमा ल्याएकी छिन्। पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्य थिइन्।
प्रहरीले साउन २२ गते सोही पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई समेत पक्राउ गरेको छ।