
तेहरानमा शिखर बैठक
सिरियाको इडलिबमा द्वन्द्वका कारण प्रभावित भएका नागरिकहरुका बारेमा इरानको राजधानी तेहरानमा इरान, टर्की र रसियाबीच शिखर बैठक हुँदैछ। बैठकमा लडाकु समूहको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
बैठकमा इरानी राष्ट्रपति हसन रौहानी, टर्कीका राष्ट्रपति रिसेप तैयप एर्देगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनेछन्। सिरियाको सरकारी सेनाले इडलिबको आसपासका क्षेत्रम आक्रमण थालेको छ भने कैयौँ नागरिकलाई लखेटिएका छन्। सिरियाली सेनाले रुसको सहयोगमा इडलीबमा आक्रमण गर्ने रणनीति बनाउँदै गर्दा यो शिखर बैठक बस्न लागेको हो।
सिरियामा गएको करिब सात वर्षदेखि गृहयुद्ध भइरहेको छ भने विद्रोहीले इडलिबलाई आफ्नो मुख्य अखडा बनाउँदै आएका छन्। विद्रोहीहरुले इडलिबलार्इ सन् २०१५ बाट आफ्नो नियन्त्रणमा राख्दै आएका छन्।
सिरियामा विद्रोहीलाई टर्कीको समर्थन गर्दै आएको छ भने सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन रहेको छ। त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान गरिएको छ।
सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका धेरै मानिसहरु सहित करित्र ३० लाख मानिस इडलिबमा बस्दै आएको बताइएको छ।
सिरियामा सातवर्ष देखि चलेको युद्धका कारण ३ लाख ५० हजार भन्दा बढीको मानिसको मृत्यु भइसकेको भने करोडौं मानिस विस्थापित भएका छन्।
उम्मेदवारमाथि आक्रमण
ब्राजिलमा राष्ट्रपतीय उम्मेदवार जेर बोल्सोनारोमाथि चक्कु आक्रमण भएको छ। ब्राजिलको दक्षिण पूर्वी राज्यको मिनास गेरिसमा आयोजित निर्वाचन र्यालीका क्रममा समर्थकहरुका बीच नै उनी माथि आक्रमण भएको हो। उनको पेटमा चोट लागेको र उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अस्पतालले उनको अवस्था गम्भीर भए पनि उनी चाँडै ठीक हुने बताएको छ। प्रहरीले बोल्सोनारोमाथि चक्कु प्रहार गरेको आरोपामा ४० वर्षे अडिलियो ओबिसपो दी ओलिभेरियालार्इ घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो।
म्याटिस अफगानिस्तानमा
अमेरिकी रक्षामन्त्री जीम म्याटिस दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा अफगानिस्तान पुगेका छन्। उनी पूर्व जनाकारीविना नै अफगानिस्तान पुगेको बताइएको छ। अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटिस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि म्याटिस भारत भ्रमणमा रहेका थिए।
सान्तोसको अवकाश
अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चार दशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँदैछन्। अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्ने बताइएको छ। तर दलको नेतृत्व हस्तान्तरणले दुवै नेताबीच मतान्तर रहेको र नयाँ नीतिहरुले सान्तोसको विरासतमाथि चुनौती थपिएको प्रस्टै देखिएको विश्लेषण गरिएको छ।
सेरेना र ओसाका फाइनलमा
अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्। सेमिफाइनल खेलमा लात्भियाकी अनास्तासिया सेभास्तोभालाई पराजित गर्दै सेरेनाले फाइनलको यात्रा तय गरेकी हुन्। सेरेना यो सँगै नवौं पटक युएस ओपनको फाइनलमा पुग्न सफल भएकी छिन्।
सेरेनाले अब उपाधिको लागि जापानकी खेलाडी नाओमी ओसाकासँग खेल्नेछिन्। ओसाका पहिलो पटक ग्राण्ड स्लाम टेसिनको फाइनलमा पुग्ने पहिलो जापानी महिला खेलाडी हुन्।
तस्विर:AP/AFP/REUTERS/BBC