PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एउटा अन्त्य हुन नचाहेको यात्रा



पहिलोपोस्ट

एउटा अन्त्य हुन नचाहेको यात्रा

  • प्रकाश शर्मा अधिकारी-
एक हप्ता लामो यात्राको अन्त्य हुनै लागेको थियो। स्लोभेनियाको ब्लेड शहरबाट हिँड्दा साँझको सात बजिसकेको थियो। बाटोमा फर्कँदै गर्दा पर्ने अष्ट्रियाको क्लिन्सबर्ग शहरमा बसेर केही खाने, योजना बनाइरहेका थिए साथीहरु। करिब साढे आठ बजेतिर हामी स्लोभेनियाको सिमानाबाट अष्ट्रिया प्रवेश गर्दैथियौँ।

सिमानामा उभिइरहेको प्रहरीलाई दारेकले देखेनछ। अलिकति अगाडि पुगेपछि उसले गाडी रोक्यो। आफूलाई नटेरेको जस्तो मानेर झोँकिएको प्रहरीले गाडी किन नरोकेको भनेर अलिक रुखो स्वरमा सोध्यो। दारेकसँगैको सिटमा बसेकी मार्तेनाले हामीले उभिरहेको देखेनौं भनेर नरम स्वरमा जवाफ दिइ। उसले पछाडिको सिटमा बस्ने हामीले सिट बेल्ट नबाँधेको देखेछ। त्यसपछि उसले कागजपत्र माग्यो, सबैले दिन थाले। युरोपेली नागरिक उनीहरुसँग आफ्नो देशको नागरिकता थियो।

मलाई भने फसाद पर्‍यो। मैले पासपोर्ट बोक्न बिर्सिएको थिएँ। पोल्याण्डको अस्थायी बसोबास पत्र, पासपोर्टको फोटोकपी र विद्यार्थी परिचयपत्र थियो मसँग, त्यो देखाएँ। उसले तँ यसले यात्रा गर्न पाउँदैनस् भन्यो। उनीहरु सबै डराउन थाले।

नेपाल हुँदा विभिन्न कामले सरकारी कार्यालय धाइरहेको, र रुखा, बिनासित्ति सास्ती दिने घुसिया कर्मचारीहरु झेलेकाले होला मलाई भने त्यति डर लागेको थिएन। एकछिन केही कुरा सोधेपछि उसले मैले पासपोर्ट नबोकेकोमा १ सय ३५ यूरो जरिवाना तिर्नुपर्छ भन्यो। तर, अन्त्यमा अझ ऊ दयालु बन्दै सिट बेल्ट नबाँधेकोमा हामी तीन जना (दारयुस, म र मिहो) को ३५ यूरोको दरले पुर्जी काट्यो र भन्यो तिमीहरुलाई यति चैँ मैले तिराउनैपर्छ।

ठूलै आपत आइलाग्ला भन्ने ठानेका हामी सबैलाई उसको कुरा एकदमै मनपर्यो र खुशी हुँदै जरिवाना भरेर त्यहाँबाट अगाडि बढ्यौँ। त्यसपछि हामी क्लिनसबर्गमा विश्राम लिएनौँ। रातीको एघार बजे हामी पिटरडर्फ आइपुग्यौँ, थाकेको शरीर र अचानक आइलागेको समस्याले गर्दा कसैलाई केही बोल्न मन लागको थिएन। सबै आ–आफ्नो ओछ्यानतर्फ लाग्यौं।

पिटरडर्फबाट हिँड्नलाई हामीले अलिक हतार गर्‍यौं। दारयुस र मार्तेनासँग सेप्टेम्बरमा भेट्ने सल्लाह भयो। उनीहरुसँग हामी एक हप्ता सँगै घुमेका थियौँ र हाम्रो पिटरडर्फमा खाने बस्ने व्यवस्था पनि उनिहरुले नै मिलाइदिएका थिए। उनीहरु अष्ट्रियाको एउटा क्याम्पिङ साइटमा काम गरेर घुम्ने खर्च जुटाइरहेका थिए। नोभेम्बरमा एसिया घुम्न जानुअघि उनीहरु गिदेनिया आउन चाहेका थिए।

घुम्न एकदम मनपराउने उनीहरुको तीन वर्ष अघि एउटा संगीत तथा अभिनय सिकाउने विद्यालयमा भेट भएको रहेछ र त्यसपछि प्रेम सम्बन्धमा रहेछन्। उनीहरु गिदेनियामा बस्दा दारेक र मिहोसँग पनि भेट भएको रहेछ, दारयुसको बर्थडेमा निम्तो आएपछि मलाई पनि सँगै लान चाहेको थियो दारेकले। एकदम मिजासिला उनीहरुसँग मैले पहिलो पटक भेटेको भए पनि छुट्ने कुराले नरमाइलो लागिरहेको थियो। करिब १४ घण्टाको यात्रा गर्नु थियो। त्यसमाथि पनि हामी ब्रातिसलाभा (स्लोभाकियाको राजधानी) भएर जाने र त्यहाँ एक चक्कर लगाउने योजना थियो। राती १, २ बजेसम्म आनन्दले पुग्ने सल्लाह भयो। भोलिबाट काम सुरु गर्नु थियो तीनैजनाले।  

यात्रा सुरु गरेको २ घण्टा पछि गाडीको घच्याक घच्याकले म ब्यूझिएँ। गाडीको गति अचानक कम भयो। केही भएजस्तो छ- साथीहरुले भने। त्यतिबेला किन्डबर्ग भन्ने बजार भन्दा ३ मिनेटको दुरीमा थियौं हामी। बजार प्रवेश गर्ने बित्तिकै एउटा पार्किङ स्पट थियो। त्यहाँ रोकेर सुरुमा आफैँले केही गर्न खोजे केटाहरुले। गाडीको बारेमा आफूलाई केही ज्ञान छैन, हेर्नु सिवाय। आफैंले केही गर्न सकिँदैन भन्ने लागेपछि कान्छा मेकानिक खोज्न गयो।

कान्छा अर्थात् दारेक। दारेक हामीसँगै काम गर्छ। किचनमा काम गर्ने सबै नेपाली, ऊ भने बारमा काम गर्छ। ऊ हामीसँग एकदमै घुलमिल भएको थियो। सबैले उसलाई कान्छा भनेर बोलाउँछन्।  हामीसँगै काम गर्न थालेको केही महिनामै उसले निकै नेपाली बोल्न पनि सिकेको थियो।  नेपालीमा मलाई भोक लाग्यो, खान दिनुस, पिउन दिनुस् भन्न, सन्चो बिसन्चो सोध्न, कसैले सोधेमा त्यसको जवाफ दिन,  धन्यवाद भन्न, कसैले धन्यवाद भने त्यसको जवाफ दिन, केही अङ्कहरु, र केही अश्लिल गालीहरु गर्न सक्ने भएको थियो।

एकछिन पछि कान्छा मेकानिक लिएर आइपुग्यो, मेकानिकले गाडी सर्भिस सेन्टरमा लानुपर्ने बतायो। सर्भिस सेन्टर लगियो, उनीहरुले गाडी चेक गरेर हेरे, मेकानिकहरु खासै अँग्रेजी नबोल्ने भएकाले म्यानेजरले आएर भन्यो, “तपाईंहरुको गाडीको इन्जिनमा समस्या छ, कम्तिमा पनि दुई, तीन दिन लाग्छ बनाउन।  ‘हामीले अरु केही उपाय छैन भनेर सोध्यौं?’ उसले कुनै विकल्प नभएको भन्यो। हामीले आफ्नो बुद्धिले भ्याएसम्म केही जुक्ति निकाल्न खोज्यौं। केही उपाय लागेन, गाडी बोकेर लानुपर्ने भयो।

करिब १२ घण्टाको बाटो कोही जान नमान्ने, एक दुई वटाले हुन्छ भनेजस्तो गरे, तर छोइनसक्नु महँगा। अन्तिम विकल्पको रुपमा आइपुग्यो ओस्कार। पहिले केटाहरुले सँगै काम गरेका रहेछन्। तर, अहिले भने उसले आफ्नै रक्सी पसल खोलेको छ। ओस्कारले गाडी बोक्नलाई लरी खोजेछ। लरी कुदाउने ड्राइभर नभेटिएपछि ऊ आफैं जाने विचार गरेछ। दारेकले भन्यो ओस्कार गिदेनियाबाट हिँड्यो रे। करिब १४ घण्टा लाग्छ आइपुग्न, अब हामीले उसलाई पर्खनुपर्छ, अरु कुनै उपाय छैन।  त्यसपछि त्यो रात त्यहीँ बस्नै पर्ने भयो। हामीले साटेको यूरो लगभग सकिइसकेको थियो, त्यो बजारमा मनी एक्सचेन्जर पनि रहेनछ। सुपर मार्केटको पाउरोटी र चाउचाउमा रात कटाउनुपर्ने भयो। 

बेलुका अबेरसम्म हामी एउटा चौतारामा बस्यौं। अचानक पानी पर्न खोजेपछि हामी त्यो सानो बजारको अलिक ब्यस्त जस्तो देखिने एउटा रेस्टुरेन्टमा गयौं। मौसम एकदमै रमाइलो भएको थियो। बाटोकै छेउमा बसेर मानिसहरु पिउँदै थिए, गफ गर्दै थिए। केटाहरुले बियर मागे, मलाई भने तातो केही पिउने मन थियो। कालो चिया पिएँ। तीनै जनाको अनुहारमा चिन्ता थियो, काममा जसरी पनि पुग्नुपर्ने थियो, पुग्न सकिएन। अर्कोतिर यात्राको अन्त्य सोचे अनुरुपको भएन। करिब एक हप्तादेखि घरतिर पनि खासै सम्पर्क भएको थिएन। मोबाइल पानीमा डुबेर काम नगर्ने भएको थियो। घरी घरी दारेकको मोबाइलमा फेसबक चलाउथेँ। उसकोमा पनि डाटा सकिनै लागेको थियो, चलाइराख्न मिलेन। 

रातको करिब ११ बज्नै लाग्दा हामी त्यो रेस्टुरेन्टबाट निस्क्यौँ, गाडी त्यही सर्भिस सेन्टर अगाडि पार्क गरेका थियौँ, त्यहीँ गयौँ। निन्द्राले च्याप्न थालेको थियो मलाई। मैले म सुत्छु भनेँ। उनीहरुलाई गाँजा पिउन मन लागेको थियो। कतै पाइएला कि भनेर खोज्न निस्किए। मलाई राती उनीहरु बोलेको अलि अलि याद छ, त्यसपछि एकैचोटी बिहान ब्युझिएँ।

गाडीबाट बाहिर निस्किएँ। सर्भिस सेन्टर खुलेको रहेनछ। एकछिन बाटोतिर घुमी हेरेँ। गाडी भएको ठाउँमा पुग्दा सर्भिस सेन्टर खुलेको रहेछ। उनीहरुकै बाथरुम युज गरेर फ्रेस भएँ। फ्रेस भएर निस्क्नै लाग्दा कसैले बोलाएको जस्तो लागेर पछाडि फर्केर हेरेँ। तिनै महिला रहिछिन्, अर्थात् सर्भिस सेन्टरकी साहुनी। ४५/५० जस्तो उमेर देखिने उनी अत्यन्तै सुन्दर थिइन्। उनको हातमा कफी र केही बिस्कुट थिए। जर्मन भाषामा केही भनिन् उनले, मैले बुझिँन। तर पनि मलाई आउने दुईवटा जर्मन शब्द मध्ये एउटा प्रयोग गरेँ। दान्केसेन अर्थात् धन्यवाद।
 
मलाई करिब ३ वर्ष अघि रारा जाँदाको याद आयो, साह्रै टाउको दुखेर एकजना आमासँग औषधी छ कि भनेर सोधेको थिएँ। उनले सिटामोल दिएकी थिइन। मैले पैसा कति दिनपर्छ भनेर सोध्दा डोटेली भाषामा केही भनेकी थिइन्, त्यसबेला पनि मैले उनले भनेको बुझेको थिइन तर उनका शब्दहरुमा गाली र मायाको मिश्रण थियो। र त्यतिबेला मेरा आँखाहरुले धन्यवाद भनेका थिए। 

कफी लिएर गाडीमा पुग्दा दारेक सुतिरहेको थियो, “मिहो खै?“ मैले सोधेँ। उसले कल गर्न भन्यो। मैले फोन गरेर सोधेँ। ऊ त्यही बजारको एउटा रेस्टुरेन्टको बगैँचामा सुतेछ। ऊ अलि हामी भन्दा अग्लो थियो सायद उसलाई अप्ठ्यारो भयो होला गाडीमा सुत्न। ६ फिट ४ इन्च जतिको अग्लो मिहोले मेकानिकल इन्जिनियरिङ सकेको थियो। आउने अक्टोबरको अन्तिमबाट उसको जागीर सुरु हुँदै थियो, पानीजहाजमा। मिहोको संगीतकार बन्ने सपना छ, जागिरबाट प्रशस्त पैसा कमाउन सके संगीतमा केही गरिएला कि भन्ने लागिरहन्छ उसलाई। उसका साथीहरुले केटीहरुको सवालमा ऊ एकदम छिटो छ भन्छन्। उसलाई कफी भने एकदमै मन पर्छ। उसलाई कफी पिउन आइज भनेँ। उसले यति बिहानै कहाँबाट कफी आयो पनि नसोधी हुन्छ भन्यो।

ओस्कार बिहान ९ बजे आइपुग्नु पर्ने थियो। ८ बजे तिर उसले म्यासेज गर्‍यो र आइपुग्न अझै ५ घण्टा लाग्छ भन्यो। यो यात्रा अन्त्य हुन मानिरहेको थिएन। अझै लम्बिन चाहिरहेको थियो। फेरि हामी त्यही चौतारातिर लाग्यौँ। त्यहीँ बसेर गफ गर्‍यौँ। फेरि सुपरमार्केटको पाउरोटी खायौँ। त्यो चौताराको नजिक एउटा खोला थियो। केटाहरु त्यहाँ पौडी खेल्न जाने कुरा गरे। म भने गाडीतिर लागेँ। २ बज्नै लाग्दा ओस्कार आइपुग्यो। उसलाई देख्ने बित्तिकै सबैका आँखाहरु खुशीले नाचे। लरीमा गाडी लोड गर्‍यौँ, हिँड्नु अघि सर्भिस सेन्टरमा गएर धन्यवाद भन्यौँ। ती महिला भने त्यहाँ थिइनन्। तिनलाई भेट्न पाएको भए हुन्थ्यो भन्ने लागिरह्यो यात्रा भरि। 

किन्डबर्गबाट यात्रा सुरु गरेको करिब १४ घण्टा पछि हामी गिदेनिया आइपुग्यौँ। र, एउटा अन्त्य हुन नचाहेको यात्राको अन्त्य गर्‍यौँ हामीले। मैले बाटैभरि यात्राकै बारेमा सोचिरहेँ। आफ्नो बारेमा सोचेँ। ओस्कार जो आफ्नो खोलिराखेको पसल बन्द गरेर करिब १५ घण्टा लामो यात्रामा निस्केको थियो साथीको लागि, उसको बारेमा सोचेँ। दारेकको बुबा जसको छोराले आफ्नो गाडी लगेर बिगारेको थियो, त्यो खबर सुन्दा पनि साथी जस्तो हाँसेरै उडाइदिएका थिए, उनको बारेमा सोचेँ। ती सर्भिस सेन्टरको साहुनी जो सुन्दर थिइन्, धनी थिइन् र दयालु पनि। उनको बारेमा सोचेँ।

मसँग ठूलाठूला सपनाहरु छन्, मैले जहिल्यै पनि केही ठूलै कुरा गर्छु भन्ने सोचेँ। धेरै मान्छेहरुले चिन्ने राम्रो काम गर्छु भन्ने लागिरहन्छ। तर, मलाई यो यात्रापछि लाग्यो कि म ठूलो मान्छे बन्दै गर्दा मेरो कुनै साथीलाई अप्ठ्यारो परे उसलाई सहयोग गर्न ओस्कारले गरेजति गर्न सकूँला कि नसकूँला? मेरा छोराछोरीको लागि दारेकको बुबा जस्तो पिता बन्छु कि बन्दिन होला? वा कुनै दिन धनी भएँ भने ती महिला जस्तो शान्त र दयालु भइन भने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell