
साफ च्याम्पियनसिप अनतर्गत समूह ए को अन्तिम खेलमा केहीबेरपछि आयोजक बंगलादेश र नेपाल भिड्दैछन्।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेलमा आज पनि नेपालको नियमित कप्तान विराज महर्जन बेन्चमा छन्।
भुटान विरुद्धको खेलेको नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। विशाल राई र अन्जन विष्टको स्थानमा भरत खवास र निराजन खड्का पहिलो रोजाईँमा छन्। दुवै खेलाडीले दोस्रो हाफमा मैदान छिरेर पनि भुटान विरुद्ध गोल गरेका थिए।
विराज नखेलेपछि नेपालको कप्तानको जिम्मेवारी भरत खवासले सम्हाल्दैछन्। भुटान विरुद्ध गोलकिपर किरण चेम्जोङले कप्तानको आर्मब्याण्ड लगाएका थिए।
नेपाली टिम : किरण चेम्जोङ (गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, आदित्य चौधरी, सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, विमल घर्तीमगर, भरत खवास