PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अमेरिका चीन 'ट्रेड वार' ! विश्व अर्थतन्त्र धराशायी हुने चिन्ता: विश्वमा आज



पहिलोपोस्ट

अमेरिका चीन 'ट्रेड वार' ! विश्व अर्थतन्त्र धराशायी हुने चिन्ता: विश्वमा आज

चीन अमेरिका 'ट्रेड वार'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाउने बताएका छन्। दुर्इ सय अर्ब बराबरको चिनियाँ सामाग्रीहरुमा कर लगाउने बताएको ट्रम्पले आफूले चाहे फेरि २६७ अर्ब बराबरको सामानमा कर लगाउन सक्ने बताएका हुन्। चीनका सामानहरुमा १० देखि २५ प्रतिशत कर लगाउने तयारी भइरहेको बताइएको छ। 

एप्पलले चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण अमेरिकी उपभोक्ताका लागि आफ्ना उत्पादन महँगो हुन सक्ने बताइरहँदा ट्रम्पको यस्तो भनाइ आएको हो। यदि यो कर लागू भएमा प्रविधि क्षेत्रमा लगानी गरेकाहरुलार्इ धेरै घाटा हुने बताइएको छ। अमेरिकी कम्पनीहरु फिटनेस ट्रयाकर, इन्टेल कोर्प लगायतका कम्पनीले पनि यो करले बजारमा नकरात्मक प्रभाव पार्ने बताउँदै आएका छन्। 

ट्रम्पको यो निर्णयबाट यी दुर्इ राष्ट्रबीच थप संकट उत्पन्न हुने अनुमान गरिएको छ। अर्थशास्त्रीहरुले त यी दुर्इ राष्ट्रहरुबीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्र नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन्। गत जुनमा मात्र ट्रम्पले ५० अर्ब चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए। 

७५ जनालार्इ मृत्युदण्ड

२०१३ मा काइरोको रब्बा अल-अदाविया स्कवायरमा सयौंको मृत्यु हुने गरी भएको प्रदर्शनमा दोषी ठहर गर्दे इजिप्टको अदालतले ७५ जनालार्इ मृत्युदण्डको सजाय सुनाएको छ।

मृत्युदण्ड पाउनेहरुमा मुस्लिम ब्रडरहुडका वरिष्ठ नेताहरु इस्सम इल इरिएन, मोहमद बेलटागी, मोहमद बाडी लगायत रहेको बताइएको छ। मुस्लिम ब्रडरहुडका नेता तथा इजिप्टका पहिलो जन निर्वाचित राष्ट्रपति मोहमद मोर्सीलार्इ सेनाले हटाएको केही हप्ता पछि मोर्सीका समर्थकहरुले काइरोमा प्रदर्शन गरेका थिए। 

इडलिबमा रासायनिक आक्रमणको त्रास

सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन्। टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतङ्ककारीहरूलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ। दुर्इ राष्ट्रहरुको फरक मतका कारण इडलिबमा रहेका बासिन्दाहरुमा रासायनिक आक्रमणको त्रास सिर्जना भएको छ। सिरियाको सेनाले त्यहाँ रहेका विद्रोहीलार्इ नियन्त्रणमा लिनका लागि रासायनिक हतियारको प्रयोग गर्न सक्ने समाचार बाहिरिए पश्चात त्यहाँ बसोबास गरिरहेका मानिसहरु चिन्तित भएको बताइएको छ। 

आक्रमण हुने डरले स्थानीयहरुले सचेतता अपनाउन थालिसकेको बताइएको छ। उनीहरुले विषालु ग्याँस रोक्न सक्ने मास्कहरु किन्न थालेको बताइएको छ। सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका धेरै मानिसहरु सहित करिब ३० लाख मानिस इडलिबमा बस्दै आएको बताइएको छ। ६० प्रतिशत मानिसहरु अन्यत्रै बाट आएको अधिकारीहरुले बताएका छन्। 

ट्रम्पका पूर्व सहयोगीलार्इ जेल

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार जर्ज पापाडोपउलोसलार्इ १४ दिनको जेल सजाय सुनाइएको छ। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा रसियाको संलग्नता सम्बन्धी अनुसन्धानका क्रममा अमेरिकी जाँच एजेन्सी (एफबिआइ)लार्इ झुटो बोलेको आरोपमा उनलार्इ सजाय दिइएको बताइएको छ। एफबिआइले २०१७ जनवरीमा जर्जसँग सोधपुछ गर्दा उनले दुर्इ रसियनहरुलार्इ ट्रम्पको टोलीमा संलग्न हुनु भन्दा अघि भेटेको बताएका थिए। तर वास्तवमा उनले ती रसियन अधिकारीहरुलार्इ ट्रम्पको टोलीमा आइसेको पछि भेटेका थिए। निर्वाचनका क्रममा रसियाको हस्तक्षेपका बारेमा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो निकट सहयोगी थिए। राष्ट्रपति ट्रम्पले भने उनलार्इ सजाय दिइएकोमा आश्चर्य व्यक्त गरेका छन्। 

ज्याक माको निर्णय


अलिबाबाका कार्यकारी अध्यक्ष ज्याक मा ले आउँदो सोमवार पदबाट राजीनामा दिने घोषणा गरेका छन्। तर उनी अलिबाबाको वोर्ड अफ डाइरेक्टर्समा भने रहिरहने बताइएको छ। अंग्रेजी शिक्षकबाट व्यवसाहिक करियर शुरु गरेका ज्याकले १९९९ मा  केही साथीहरु सँग मिलेर चीनको हाङजाउमा रहेको आफ्नो फ्ल्याटबाट अलिबाबा शुरू गरेका थिए।

तमिमिलार्इ विदेश भ्रमणमा रोक


इजरायलले प्यालेस्टाइन युवा अधिकारकर्मी अहद तमिमि र उनको परिवारलार्इ विदेश भ्रमण गर्न रोक लगाएको छ। युरोपमा प्यालेस्टाइनले गरिरहेको संघर्ष र इजरायलमा पक्राउ गरिएको बारे जोर्डन हुँदै युरोप जाने तयारीमा रहेको उनका बुबा बसिम तमिमिले बताएका छन्। तर प्यालेसटाइनी अधिकारीहरुले इजरायलले उनीहरुलार्इ विदेश जान रोक लगाएको बारे जनाकारी दिएको उनले बताए।  जुलार्इ २९ मा इजरायलले अहद तमिमि र उनकी आमालार्इ ८ महिना पश्चात रिहा गरेको थियो। १७ वर्षिया तमिमिलार्इ इजरायली सैनिकलार्इ थप्पड हानेकोमा पक्राउ गरिएको थियो

मृत्यु हुनेको संख्या ३० पुग्यो


जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।  दुर्इ दिन अघि गएको ६.७ रेक्टर म्याग्निच्युड स्केलको भूकम्प जाँदा दशौँ हजारलाई मानिसहरु विस्थापित भएका छन्। भूकम्प पछि आएको पहिरोले पनि धेरै मानविय र भौतिक क्षति गरेको अधिकारीहरुले बताएका छन्। 

अफ्रिकामा युथ ओलम्पिक


सेनेगल कुनै पनि ओलम्पिक कार्यक्रम आयोजना गर्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने सम्भावना बढेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२२ को 'युथ ओलम्पिक गेम्स' को आयोजना गर्ने प्रतिस्पर्धामा सेनेगललार्इ छनौट गरे पछि सेनेगल अफ्रिकी महादेशमा ओलम्पिक आयोजना गर्ने पहिलो राष्ट्र बन्ने सम्भावना बनेको हो। सेनेगलसँगै बोटस्वाना, नाइजेरिया र ट्युनिसिया पनि सन् २०२२ को 'युथ ओलम्पिक गेम्स' को आयोजना गर्ने प्रतिस्पर्धामा रहेका छन्।

र्‍यापरको मृत्यु 


अमेरिकी र्‍यापर म्याक मिल्लरको २६ वर्षको उमेरमा मृत्यु भएको छ। सार्वजनिक रुपमा लागूऔषध सेवन गर्ने गरेको बताउने मिल्लरको मृत्यु ओभरोजका कारण भएको बताइएको छ। २०११ मा उनको एल्बम 'युएस चार्ट'मा प्रथम भएपछि उनी निकै चर्चित बनेका थिए। मिल्लरले केही समय अघि 'स्वीमिङ'  नाम गरेको एल्बम निकालेका थिए। 

तस्विर: CBC/ BBC/AP/AFP/REUTERS/GETTY



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell