PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्रचण्डमाथि ओलीका दुई प्रहारः ‘पार्टीमा अलमल्याउनेदेखि दिल्लीमा गलाउनेसम्म’



बीपी साह

प्रचण्डमाथि ओलीका दुई प्रहारः ‘पार्टीमा अलमल्याउनेदेखि दिल्लीमा गलाउनेसम्म’
फाइल फोटो

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्राविधिक रूपमा एकीकृत भएको देखिए पनि पार्टीभित्र दुई वटै पूर्व पार्टीका अवशेषहरू बाँकी छन्। गुट उपगुटहरू पनि त्यत्तिकै छन्।

एउटै जेट प्लेनका दुई पाइलट भनिएका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अविश्वास बढ्दै जाँदा पार्टीको साङ्गठनिक एकीकरणमा समस्या देखिएको छ। यसको प्रत्यक्ष असर सरकार सञ्चालनमा पनि परिरहेको छ।

पार्टीभित्र प्रचण्डविरुद्ध प्रधानमन्त्री ओलीले एउटा धार खडा गर्न लागेको भन्दै प्रचण्ड पक्षका नेताहरू असन्तुष्ट देखिन थालेका छन्। जसको पछिल्लो कडिका रूपमा प्रचण्ड भारत भ्रमणमा निस्किएपछिका प्रधानमन्त्री ओलीको दुई वटा कदमलाई लिइएको छ। प्रचण्डलाई घेराबन्दी गर्न प्रधानमन्त्री ओलीले दुई वटा कदम चालेको देखिन्छ।

 

‘सैन्य अभ्यासबाट ब्याक’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना अनुरूप बिम्स्टेक राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यासको तयारी गरिएको थियो। तर, प्रधानमन्त्री ओली र पररष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सैन्य अभ्यास सम्बन्धी कुनै सम्झौता नभएको दाबी गर्दै आएका थिए।

भारतको नेतृत्वमा हुने संयुक्त सैन्य अभ्यास भारतको सुरक्षा रणनीतिको महत्त्वपूर्ण पाटो थियो। यसका रणनीतिकार मध्येका एक हुन् अजित डोभाल। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार।

बिहीबार दिल्ली उडेका प्रचण्ड  पुग्ने बित्तिकै डोभालसँग डिनर खाए। सुरक्षा सल्लाहकार भएपछि सैनिक अभ्यासलगायतका सुरक्षाका मामिलामा उनीहरुबीच कुराकानी हुनु स्वाभाविकै थियो। प्रचण्डले डोभालको डिनर खाइसकेपछि अन्य भेटघाटमा सरिक हुन थाले।

तर शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालाई जानबाट रोक लगाए। भारतको विश्वास जित्न गएका प्रचण्ड भारतमै रहेका बेला ओलीको यो प्रहारले प्रचण्डलाई क्षति पुग्नु स्वाभाविकै हो।

राष्ट्रिय सुरक्षा स्वार्थमा गम्भीर रहेको भारतीय पक्षलाई संयुक्त सैन्य अभ्यासमा प्रधानमन्त्री ओलीले असहयोग गर्दा उनकै पार्टीका अध्यक्ष प्रचण्डमाथि भारतको विश्वास कमजोर हुने आकलन गर्न सकिन्छ।

प्रचण्ड निकट नेकपाका एक नेताले पहिलोपोस्टसँग भने,‘प्रचण्ड कमरेड प्रधानमन्त्री बन्न भारत र चीन भ्रमणमा लाग्नु भएको भनेर प्रधानमन्त्री ओली कमरेडलाई केही व्यक्तिहरूले सुनाउनु भएको जस्तो छ। पार्टीका नेताहरुबीच पनि यस्तै गाँईगुँई छ।’

संयुक्त सैन्य अभ्यासका विरुद्ध नारायणकाजी श्रेष्ठले बोले पनि प्रचण्डले केही विरोध नगरेको बताउँदै उनले थपे,‘उहाँले सैन्य अभ्यासको विरोध गर्नु भएको थिएन। उहाँ भारतमै भेटवार्ता गरिरहेकै बेला अचानक प्रधानमन्त्रीले संयुक्त सैन्य अभ्यासमा जान सेनालाई रोक लगाएको सुनेको छु। यो प्रचण्ड कमरेडलाई अप्ठ्यारो पार्ने नियत पनि हुन सक्छ।’

 

मन्त्री हेरफेरको चर्चाः ओलीद्वारा खण्डन

नेकपाका अध्यक्ष प्रचण्डले सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै मन्त्रीहरू हेरफेर हुने बताएका थिए। मन्त्रीहरूमाथि निगरानी भइरहेको र प्रभावकारी काम गर्न नसकेका मन्त्रीहरू फेरिने प्रचण्डले बताएका थिए। त्यसो त केही समयअघि प्रधानमन्त्री स्वयंमले यो विषय संकेत नगरेका होइनन्।

मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्रै पनि आलोचना भइरहेको ओली र प्रचण्डबीच यस विषयमा छलफलसमेत भएको थियो। भारत भ्रमणअघि प्रचण्डले नियमित दुई दिनसम्म प्रधानमन्त्री ओलीसँग छलफल गरी मन्त्री हेरफेरका विषयलाई टुङ्ग्याएका थिए।

तर प्रचण्ड भारत गएको तेस्रो दिन नै प्रधानमन्त्री ओलीले प्रचण्डको भनाइलाई खण्डन गरेका छन्। प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्री हेरफेर नहुँने प्रतिक्रिया दिएका छन्।

अहिलेका सबै मन्त्रीहरूले राम्रो काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले कसैलाई नफेर्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीको यो भनाइबाट प्रचण्डलाई पार्टीभित्रै अलमल्याउने प्रयास भएको देखिन्छ। फेरिन लागिएका भनिएका मन्त्रीहरू अब प्रचण्डलाई अटेर गर्ने स्वाभाविकै हुन सक्छ।

भारत भ्रमणपछि प्रचण्ड चीन भ्रमणमा जाँदैछन्। दुबै छिमेकीको विश्वास जित्ने चाहना प्रचण्डको रहेको छ। प्रचण्डको चाहना स्पष्ट नभएकोले उनी प्रधानमन्त्रीको दौडमा लागिसकेको नेकपाकै नेताहरूले आकलन गरिरहेका छन्।

जसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई घेराबन्दी गर्न सुरुवात गरिसकेको बुझिन्छ। प्रचण्ड चीन जानुअघि प्रधानमन्त्री ओली स्वयंम चीनको विश्वास जित्दैछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell