1.jpg)
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नयाँ सङ्घीय संरचनाअनुसार खेलकूदलाई पनि अगाडि बढाउनुपर्ने भएकाले ऐन परिवर्तन गर्न लागिएको बताएका छन्।
मन्त्रालयले तयार पारेको खेलकूद ऐन-२०७५ को मस्यौदामाथि शनिवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा आयोजना गरेको छलफल कार्यक्रममा उनले खेलकूदलाई के गर्दा राम्रो हुन्छ, त्यसैअनुसारको नीति नियम बनाउने बताए।
मन्त्री विश्वकर्माले सरोकारवाला सबैको धारणा बुझेर उत्कृष्ट ऐन निर्माण गर्न छलफल महत्वपूण सावित हुने बताउदै छुटेका सुझावलाई लिखित रुपमा पनि पेश गर्न सकिने बताए।
मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नयाँ ऐन ल्याएर राखेपमा मन्त्रालय हाबी हुन नखोजेको बताउँदै सङ्घीय ढाँचाअनुसार जानैपर्ने आवश्यकताले नयाँ ऐन आवश्यक भएको स्पष्ट पारे।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सरोकारवालासँग मस्यौदामा छलफल गरी प्राप्त राय र सुझावलाई ऐनमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा सहभागीहरुले विद्यालय तहदेखि नै खेलकुदको आधार खडा गर्नु पर्ने, खेलाडी जीवन पछि खेलाडीको भविष्य सुनिश्चित गर्ने विषयमा ध्यान दिनु पर्ने, राखेपलाई स्वायत्त संस्थाका रुपमा स्थापित गर्नु पर्ने, एकै प्रकृतिको दुई खेल संघ दर्ता हुन नहुने, खेलकुदमा निजी क्षेत्रको लगानीमा कर छुट हुनु पर्ने, एक व्यक्ति एक पदाधिकारीको अवधारणा लागू गर्नु पर्ने, संविधानमा खेलकुद बाल वालिकाको मौलिक हकका रुपमा स्थापित गरिएकोले उनीहरुलाई लक्षित गरी खेलकुदका कार्यक्रम र भौतिक पूर्वाधारको विकास गर्नु पर्ने, गल्ती गर्नेलाई दण्डको कडा व्यवस्था गर्नु पर्नेलगायतका धारणा राखेका थिए ।
कार्यक्रममा राखेपका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल सङ्घका प्रतिनिधि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, राखेप कर्मचारी सङ्घ, नेपाल ओलम्पियन सङ्घलगायतका प्रतिनिधिले ऐनको मस्यौदामाथि सुझाव दिएका थिए।