PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

७० औँ वार्षिकोत्सवमा उत्तर कोरियाको सन्देश : सैन्य शक्तिमा सक्षम छौँ, अब युद्ध आर्थिक विकासको



विधुर ढकाल

७० औँ वार्षिकोत्सवमा उत्तर कोरियाको सन्देश : सैन्य शक्तिमा सक्षम छौँ, अब युद्ध आर्थिक विकासको

काठमाडौं: उत्तर कोरियाले आइतवार आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ। उत्तर कोरियाले हरेक वर्ष मनाउने आफ्नो स्थापना दिवसले सबैलाई ध्यान तान्दै आएको छ। यस वर्ष पनि प्योङयाङले विश्वको ध्यान तान्यो तर, फरक अर्थमा।

हरेक वर्ष अन्तर–महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रदर्शनसहित उत्तर कोरियाले वार्षिकोत्सव मनाउँदै आएको थियो। तर यस वर्ष ब्लाष्टिक मिसाइल बिना गरिएको परेडले विश्वको ध्यान तानेको हो।

आइतवार सम्पन्न परेडमा सैन्य प्रदर्शन भन्दा बढी सर्वसाधरणको प्रदर्शनमा केन्द्रीत गरिएको थियो।

गत जुनमा ट्रम्प–किम समिटपछिको उपलब्धिको रुपमा यसलाई हेरिएको छ। त्यस अगाडि भएको अन्तरकोरियाली शिखर सम्मेलनले समेत उत्तर कोरियाको शान्तितर्फको यात्रालाई अगाडि बढाएको बताइएको छ।

परेड हेर्नका लागि चीनबाट राष्ट्रपति सि जिङपिङका विशेष दुतका रुपमा तेस्रो बरियताका नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्यूरोका स्टाण्डिङ कमिटी सदस्य ली चान्सु सहभागि थिए।

उत्तर कोरियाले साता व्यापिरुपमा वार्षिकोत्सव मनाइरहेको छ। वार्षिकोत्सवमा सर्वसाधरण, पेशाकर्मीहरुलेसमेत आफ्नो प्रस्तुति दिएका थिए।

सिएनएनका अनुसार अमेरिकासँगको कुटनीतिक संवाद सुरु भएसँगै उत्तर कोरियाको यो कदमले सकरात्म सन्देश दिएको छ। विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्नका लागि व्लास्टिक मिसाइलको प्रदर्शन नगर्ने नीति लिएको विश्लेषण गरेका छन्।


परेड दुई भागमा बाँडिएको थियो। एक सैन्य र अर्को सर्वसाधारण। सैन्य परेडका क्रममा सैनिकहरुले सन् १९४८ पछिको उत्तर कोरियाको इतिहास झल्काउने प्रस्तुती दिएका थिए।

ट्रम्प–किम सम्मेलन पछि उत्तर कोरियाले गरेको यो पहिलो परेड हो। गत फेब्रुअरीमा उत्तर कोरियाले प्योङयाङमा सैन्य परेड प्रदर्शन गरेको थियो। त्यतिवेला उत्तरले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल प्रदर्शन गरेको थियो।

परेडका क्रममा प्रदर्शन गरिएका केही हतियारहरु अमेरिका विरुद्धका नाराहरु भने यथावत रहेको समाचारमा उल्लेख छ। परेडका क्रममा किमले सम्बोधन भने नगरेको समाचारमा उल्लेख छ।

उत्तर कोरियाका संवैधानिक प्रमुख किम योङ नामले सम्बोधन गरेका थिए। उनले सैनिकहरुले युद्धको तयारी गर्न निर्देशन दिए तर आर्थिक विकासको युद्धका लागिसमेत तयार रहन निर्देशन दिए। ‘हामीले सैन्य शक्ति हासिल गरिसकेका छौँ। यसले हाम्रो रक्षा गर्न सक्छ। अब वास्तविक विजयी भनेको आर्थिक विकास हो,’ उनले भने।

उत्तर कोरियाली नेता किमले सन् २०१८ लाई कुटनीतिक वर्षको रुपमा लिएका छन्। उनले चिनियाँ राष्ट्रपति सिसँग तीन पटक भेटवार्ता गरिसकेका छन्। भने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ ईनसँग दुई पटक वार्ता गरेका छन्। त्यस्तै सन् २०११ पछि उत्तर कोरियाले अमेरिकासँग संवादसमेत थालेको छ।

यसै महिनाको अन्त्यमा प्योङयाङले दक्षिण कोरियाली राष्ट्रपति मुनको स्वागत गर्ने तयारी भइरहेको छ।

परेडका क्रममा एक लाख मानिसहरुले एकैसाथ जिम्न्यास्टिक खेल प्रदर्शन गरेको वासिङटन पोस्टले जनाएको छ।


यसरी प्रदर्शन गर्नेमा अधिकांश विद्यार्थीहरु थिए। उनीहरु महिनौँ देखि यसको तयारीमा थिए। उत्तर कोरियाले पाँच वर्षपछि यस्तो ‘मास गेम’ प्रदर्शन गरेको थियो। ‘महान देश’को नारासहित ७० औँ वर्षगाँठको यो खेल प्रमुख हिस्साको रुपमा थियो।

१० मिनेको परेडका लागि एक लाख जनालाई ६ महिना देखि प्रशिक्षण दिइएको बीबीसीले जनाएको छ।

स्काई न्यूजका एसिया संवाददाता टम चेसीरेले ट्वीटरमा लेखेका छन्, ‘भर्खरै एउटा भव्य सैन्य परेड सम्पन्न भयो। विना मिसाइल विना लन्चर; किम कुटनीतिक अपवाहलाई निरुत्साहित गर्न चाहन्छन्। आर्थिक विकासमा जोड दिइएको छ।’

न्यूजिल्याण्ड हेराल्डले सैन्य परेडका क्रममा व्लास्टिक मिसाइलको प्रदर्शन नगरेर उत्तर कोरियाली नेता किमले आर्थिक विकासलाई पहिलो प्राथमिकता र केन्द्रमा राख्ने नयाँ रणनीति लिएको जनाएको छ।

‘आर्थिक विकासलाई किमले यस वर्ष प्राथमिकतामा राखेर देशको नयाँ लाइनको रुपमा देखाएका छन्,’ समाचारमा भनिएको छ।

वार्षिकोत्सवक कार्यक्रमसँगै उत्तर कोरियाले चीनसँग थप साझेदारीको अपेक्षा राखेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। विश्लेषकहरुले किमले वासिङनसँगको मध्यस्तताका लागि चीनको साथ चाहेको बताएका छन्।

चिनियाँ नेता माओ स्टाइलको कालो कोटमा देखिएका उत्तर कोरियाली नेता किमले चिनियाँ तेस्रो वरियताका नेता लीको हात समातेर संयुक्त रुपमा उपस्थितहरुलाई अभिवादन गरे।

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा शंका उत्पन्न भएको बेला उत्तरले सकरात्मक सन्देश दिएको हो। पछिल्लो पटक अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले प्योङयाङ्को निर्धारित भ्रमण रद्द गरेका थिए। किम आफ्नो प्रतिवद्धताबाट पछि हटेको आरोप अमेरिकाले लगाउँदै आएको थियो।

तर चार दिन अगाडि मात्र दक्षिण कोरियाली राष्ट्रपति मुनका विशेष दुतसँगको कुराकानीका क्रममा किमले प्रतिवपद्धा कार्यान्वयनमा प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए।

किमको पछिल्लो प्रतिवद्धता अमेरिकी राष्ट्रपति ट्रम्पले स्वागत गर्दै अमेरिका–उत्तर कोरियाली संवाद अगाडि बढ्ने आशा व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell