काठमाडौँ : युडब्लुसी ईष्टका सैयद हमजा शाहले आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता-२०७५ को पुरुषतर्फ २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन्।
आइतवार भएको प्रतिस्पर्धामा सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेण्डमा पुरा गरे।
नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त बिधामा पुरुषतर्फ युलेन्सका अनुभव सुब्बा दोश्रो र लिङ्कनका नासिर हुसेन तेश्रो भए।
महिलातर्फ खेलाडीको संख्या नपुगेका कारण एपिएफकी डुवाना लामाको टाईम ट्राईल मात्र लिईएको थियो। उनले उक्त दूरी २ मिनेट २३.७३ सेकेण्डमा पुरा गरिन्।
मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा आयोजना हुने १४औं फिना बिश्व च्याम्पियनसिपका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगितामा १०० मिटर ब्याकमा लिङ्कन स्कुलका आदित्य सूर्याले १ मिनेट १२.१९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। लिंकनकै नासिर हुसेनले रजत र सेनाका दिलिप थापा मगरले कास्य पाए। महिलातर्फ एपिएफकी डुवाना लामाले १ मिनेट १९.९४ समयका साथ स्वर्ण हात पारिन्। लिंकनकी आयुष्मा तुलाधरले रजत र निसर्गकी समिरा शोभा थापाले कास्य पाईन्।
यसैगरि १०० मिटर बटरफ्लाईतर्फ युलेन्सका अनुभव सुब्बाले १ मिनेट ०२.०३ सेकेन्डका साथ स्वर्ण हात पार्दा युडब्लुसी ईष्टका सैयद शाहले रजत पाए। लिंकनका नासिर हुसैनले कास्य पाए। महिला तर्फ एपिएफकी डुवाना लामाले १ मिनेट १५.१३ समयका दूरी पुरा गरिन्। यस्तै निसर्गकी समिरा शोभा थापाले १ मिनेट २८.७८ सेकेन्डमा दूरी पुरा गरिन्।
२५ मिटरको ईमाडोल पौडी पोखरीमा भएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोक तर्फ एपीएफका शुभम श्रेष्ठले उक्त दूरी ३१.३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। युडब्लुसी ईष्टका सैयद हमजाले रजत र डिएभी स्कुलका बैदज्ञराज जोशीले कास्य पाए।
महिलातर्फ एपिएफकी डुवानाले ३७.६३ सेकेन्डका साथ स्वर्ण, प्रिमियरकी उपास्ती महर्जनले रजत र लिंकनकी टिशा शाक्यले कास्य पाईन्।
यसै प्रतियोगिताबाट चीनको ह्वाङ्गजाउमा हुने १४ औं फिना वल्र्ड च्याम्पियनसिपका लागि खेलाडी समेत छनोट गरिने छ। डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्ष (२५ मिटरको पुलमा) हुने उक्त प्रतियोगिताका लागि समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन्।
प्रतियोगितामा १५५ खेलाडीहरुले खुला तर्फ १८ तथा उमेर समूह तर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।