
काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ।
आइतवार भएको भारत र माल्दिभसबीचको समूह चरणको अन्तिम खेलपछि सेमिफाइनल समिकरण तय भएको छ। समूह ए बाट नेपाल समूह विजेता र पाकिस्तान समूह उपविजेता तथा समूह बी बाट भारत समूह विजेता र माल्दिभ्स समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो।
समूह बी को खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गर्दै समूह विजेता बन्यो। भारतले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिएको थियो। तर तीन टोली मात्र रहेको यस समूहमा सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्न बाँकी थियो।
भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि माल्दिभ्स र श्रीलंकाको समान अंक भयो। अंक मात्र समान होइन गोल अन्तर रहेड टु हेडमा पनि यी दुई टोली समान स्तरका रहे। यसपछि आयोजकले टस मार्फत माल्दिभ्सलाई सेमिफाइनलमा पुर्यायो। खेल जित्न नसकेपनि माल्दिभ्सले श्रीलंका विरुद्ध टस जित्दै साफमा १०औँ पटक सेमिफाइनलमा स्थान बनायो।
सन् १९९७ बाट साफ खेल्न सुरु गरेको माल्दिभ्स सबै संस्करणमा अन्तिम चारमा पुगेको हो।
यसअघि नै समूह ए बाट नेपाल र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
दक्षिण एसियाका ७ मध्ये भुटान समूह ए मा सबै ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरियो। भुटानले ३ खेलमा ९ गोल खाँदा कुनै पनि गोल गर्न सकेन।
समूह चरणबाट बाहिरिएका अर्का दुई टोली आयोजक बंगलादेश र श्रीलंका भने अभागी सावित भयो।
समूह ए मा नेपाल र पाकिस्तान समान ६ अंक जोडेपनी बंगलादेश गोलअन्तरमा तेस्रो स्थानमा रहेर घरेलु मैदानमै भएको प्रतियोगिताबाट समूह चरणबाटै बाहिरियो।
उता श्रीलंका माल्दिभ्ससँग समान अंक भएर पनि टस मा पराजित भयो। श्रीलंका निकै अभागी सावित बन्यो।
यी बाहेक सेमिफाइनलमा पुगेका चारमध्ये २ टोली पूर्व विजेता हुन्। भारतले सर्वाधिक ७ पट तथा माल्दिभ्सले १ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ।
सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएको दक्षिण एसियाली फुटबलमा यसअघिका ११ वटै संस्करणको सेमिफाइनल खेलेको भारतले ७ पटक उपाधि जित्दा ३ पटक उपविजेता बनेको थियो। एक पटक भने भारत तेस्रो भएको थियो। यस मानेमा भारत साफको सर्वाधिक सफल टोली हो।
यस्तै माल्दिभ्सले घरेलु भूमि र श्रीलंकामा सन् २००८ मा भएको साफमा भारतलाई नै हराउँदै उपाधि जितेको थियो। माल्दिभ्स ३ पटकको उपविजेता समेत हो। माल्दिभ्सले यसअघिका सबै ९ संस्करणको सेमिफाइनल खेलेको छ।
१२औँ संस्करणमा सेमिफाइनल पुगेका मध्ये नेपाल र पाकिस्तानले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। यी दुई टोली अहिलेसम्म चार पटक सेमिफाइनल पुगेका छन् तर पनि फाइनल पुग्न सकेको छैन।
पाकिस्तान १३ वर्षपछि तथा नेपाल ५ वर्षपछि अन्तिम चारमा पुगेको हो।
नेपालले सन् १९९५ मा पहिलो पटक सेमिफाइनल खेलेको थियो भने २००३, २०११ र २०१३ पनि सेमिफाइनल पुगेको थियो।
उता सन १९९३ को पहिलो संस्करणमै सेमिफाइनल पुगेको पाकिस्तानले १९९७, २००३ र २००५ मा सेमिफाइनल खेलेको थियो।
सन् १९९३ मा सार्क गोल्डकपको नामबाट यस प्रतियोगिता सुरु हुँदा चार टोलीले मात्र भाग लिएका थिए र त्यसमा नेपाल तेस्रो तथा पाकिस्तान चौथो भएको थियो।