PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको आज संसदीय सुनुवाइ, पार गर्लान संसदीय परीक्षा?



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको आज संसदीय सुनुवाइ, पार गर्लान संसदीय परीक्षा?

काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ गर्दैछ। प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको सुनुवाइ हुन लागेको हो। यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

समितिमा मिश्रविरुद्ध तीन उजुरी विचाराधीन छन्। जसमा एनसेल, सूर्य नेपाल लगायतका कर्पोरेट हाउसको ट्याक्स छलीमा अदालतको आदेशमार्फत सहयोग पुर्‍याएको आरोप छ। यस्तै, सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला प्रतिवादी रहेकोे एक मुद्दामा आफन्तलाई जिताएको आरोप लगाइएको छ।

उजुरीकर्ताले जोशीले काठमाडौँ जिल्ला अदालतको प्रमुख न्यायाधीश रहँदा वैदेशिक रोजगार न्यायाधीकरणको फैसला कार्यान्वयनमा आर्थिक अनियमितता गरेको पनि आरोप लगाएका छन्। यस्तै, सार्वजनिक गुठीको जग्गा सम्बन्धी विवादमा मिश्रले गरेको फैसलालाई लिएर दर्ता गरिएको उजुरी भने उजुरकर्ताले नै फिर्ता गरेका छन्। 

चार उजुरी दर्ता भएकामा एक उजुरी फिर्ता भएको थियो। अन्य तीन उजुरी विचाराधीन नै छन्। 

मिश्रको सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ। समितिको दुइ तिहाइ बहुमतले अस्वीकृत नगरेमा मिश्रको नाम स्वीकृत हुनै सुनुवाइको कार्यविधि छ। दुई तिहाइ बहुमतले मिश्रलाई अस्वीकृत गर्न सक्ने प्रावधान संयुक्त बैठक सञ्चालन नियमावलीमा छ। 

सुनुवाइबाट अनुमोदन भएमा मिश्रलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell