काठमाडौः नक्कली एटिएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गरिरहेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार बिहान ठमेलबाट तीन जना भारतीय र एक जना नेपालीलाई पक्राउ गरेको हो।
ठमेलको एक होटेलमा नक्कली एटिएम कार्ड बनाइरहेको अवस्थामा भारतीय गिरोहलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले बताए। एसएसपी लामाले भने,' नेपालमा आएर विदेशी नागरिकको एटिएसको डाटा चोरी गरी नक्कली एटिएसबाट पैसा झिक्ने गिरोहलाई नियन्त्रणमा लिएका हौँ।'
भारतको केरला घर भएका तीन जना १० दिन अगाडि नै नेपाल आएर नक्कली एटिएम कार्ड बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ५० वटा भन्दा बढी नक्कली एटिएम कार्ड, चार वटा स्वप मानिस समेत बरामद गरेको एसएसपी लामाले बताए।
विशेष गरी पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू अत्याधुनिक उपकरणहरू साथैमा लिई पर्यटक भिसामा नेपाल आई यस्तो कार्यमा लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। तर पछिल्लो समय भारतीय नागरिक समेत देखिन थालेका छन्।
एटिएम कार्डबाट कसरी सुरक्षित रहने त?
एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरणहरू वा 'Genuine Parts' बाहेकका उपकरणहरू जडान भए-नभएको यकिन गरेर मात्रै 'Card Insert गरी 'PIN Entry' गर्ने कुनै एटिएम बुथमा अस्वाभाविक उपकरण जडान भए नभएको यकिन गर्न एक-अर्को एटिएम बुथसँग तुलना पनि गर्न सकिन्छ।
एटिएम बुथ भित्र विशेष गरी 'Key pad' नजिक प्वाल पारिएको जस्तो देखिएमा सो प्वालभित्र 'Pinhole camera' जडान गरिएको हुन सक्दछ
कार्डको 'magnetic stripe' मा रहेको 'Data' लाई 'copy' गर्न 'Genuine Card slot' बाहेक अन्य 'Card slot' पनि जडान गरिएको हुन सक्दछ। एकभन्दा बढी 'card slot' देखिएमा सो एटिएम बुथबाट कारोबार नगर्ने।
तपाईँले एटिएम बुथबाट कारोबार गर्ने क्रममा सही 'PIN Entry' गर्नुभएको छ र तपाईँको खातामा पर्याप्त 'Balance' पनि छ तर पनि 'Machine' बाट रकम निस्कँदैन भने तपाईँले नक्कली 'Card slot'मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुन सक्दछ। यदि तपाईँले आफ्नो 'card' नक्कली 'Card slot' मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को एटिएम बुथमा गई 'PIN' परिवर्तन गर्ने।
'Key pad' अस्वाभाविक जस्तो लागेमा तथा 'machine' मा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट 'PIN Entry' नगर्ने।
एटिएम बुथभित्र उल्लिखित अस्वाभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैङ्कमा खबर गर्ने।
'PIN Entry' गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड 'insert' गरी 'PIN entry' गर्ने।
हातले छोपेर सुरक्षित तवरले 'PIN Entry' गर्ने।
बैङ्कबाट 'SMS Alert' सुविधा लिने।
आफूले गर्दै नगरेको कारोबारका बारेमा 'Mobile' मा 'SMS Alert' तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैङ्कमा खबर गर्ने।
समय- समयमा 'PIN' परिवर्तन गरिरहने।
आफ्नो एटिएम कार्ड सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा 'PIN' कसैलाई 'Share' नगर्ने।
बैङ्कले एटिएम बुथभित्र तथा बाहिरको गतिविधि सूक्ष्म रूपमा 'CCTV' मार्फत निगरानी गर्नुपर्ने र अस्वाभाविक तथा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने।