PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिलाई विकास परिषदले दियो ६ लाखको 'रबर बोट' 



चन्द्रकान्त खनाल

रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिलाई विकास परिषदले दियो ६ लाखको 'रबर बोट' 

रुपन्देही: विपद् व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई नमुना एकीकृत विकास परिषद्ले रबर बोटसहित अन्य विपद् व्यवस्थापन सामाग्री प्रदान गरेको छ। 

रुपन्देही जिल्ला विपद्को उच्च जोखिममा नरहे पनि यहाँ बाढी तथा डुबान समस्याको रूपमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले रबर बोटको आवश्यकता औँल्याएका थिए।

विपदलाई मध्यनजर गरी तयारी अवस्थामा रहन मोटर बोट आवश्यक रहेको बताउँदै प्रजिअ मगरले सहयोगी निकाय गुहारेका थिए। सोही आधारमा वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको साझेदार संस्था नमुना एकीकृत विकास परिषद्लाई र परिषद्ले जिल्ला विपद व्यवस्थापन समितिलाई बोटसहितको उद्धार सामाग्री उपलब्ध गराएको हो। 

५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको १ सेट रबर बोट, ८ वटा हेल्मेट, १ सेट रबर बोट एयर पम्प, रबर बोट मर्मत किट, लाइफ ज्याकेट प्रदान गरिएको छ। यसै गरी ८ वटा प्यानल, ८ वटा लाइफ ज्याकेट, १ वटा थ्रो ब्याग, १ सेट मेगा फोन र १ रोल क्लाईम्बिङ डोरी गरी ५ लाख ९३ हजार ७ सय १९ रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको नमुना एकीकृत विकास परिषद्को अध्यक्ष ज्ञानु पौड्यालले बताइन। यी सामाग्रीहरूलाई नेपाल बिपद पूर्व तयारी परियोजना अन्र्तगत उपलब्ध गराइएको उनले जानकारी दिइन्।

सामाग्री ग्रहण गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राना मगरले विपद् आई पर्दा उद्धारको लागि मोटर बोट अभाव भएको अवस्थामा नमुनाले प्रदान गरेको रबर बोट बाट धेरै जनाको ज्यान जोगाउन सकिने बताए।

रुपन्देहीमा विशेष गरी आगलागी, बाढी र डुबानले समस्या दिने गरेको छ। विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा आगलागी मा परी २ जनाको र हुरी बतास चटयाङ्बाट २ जनाको गरी बिपदमा परी ४ जनाको मृत्यु भएको थियो भने अन्दाजी ६ करोड ३५ लाख ७० रुपैयाँ बराबरको क्षति भएको थियो।
 
यसै गरी सोही वर्ष बिपदमा परि १५ जना घाइते भएको थिए। बिपदमा परी २० वटा चौपायाको मृत्यु भएको थियो भने ५५ वटा घर र २० वटा गोठमा समेत क्षति पुगेको थियो।

आर्थिक वर्ष २०७३÷०७४ मा भने बिपदमा परी ३ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। उक्त आर्थिक वर्षमा ३१ वटा चौपायाको मृत्यु भएको र अन्य ५ वटा घाइते भएका थिए।

यसै गरी विपद्कै कारण २ सय ६६ वटा घर तथा ११ वटा गोठमा क्षति पुगेको थियो भने अन्दाजी १४ करोड १३ लाख ५१ हजार ६ सय ८५ रुपैयाँ बराबरको क्षति भएको थियो। रबर बोट आए पनि आगलागीको पनि उत्तिकै जोखिम रहेको हुँदा जोखिम न्युनीकरणको लागि जिल्ला व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ मगरले ५० वटा फायर बल उपलब्ध गराई दिन दातृ संस्थालाई अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell