.jpg)
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लामा रहेका ६ ए डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ।
सोमवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाले काठमाडौँ ६ ए डिभिजन क्लबसँग सम्झौता गर्दै चेक प्रदान गरेको हो। असिल नेपाल फुटबल संघ एन्फाको अग्रसरतामा यो सम्झौता भएको हो।
हिमालयन शेर्पा, एनआरटी, मछिन्द्र, संकटा, मनाङ मर्स्याङ्दी र सरस्वती युथ क्लब काठमाडौँ जिल्लाबाट ए डिभिजन लिग खेल्ने क्लब हुन्।
सम्झौतापछि महानगरले प्रत्येक क्लबलाई ९ लाख ३० हजार प्रदान गरेको छ। तत्काललाई महानगरले चेक प्रदान गरेपनि केही भित्रै नगद रकम प्रदान गर्ने महानगर सामाजिक विकास विभागको प्रमुख नुर निधी न्यौपानेले जानकारी दिए।
५ वटा बुँदा रहेको सम्झौता पत्रमा ६ वटै ए डिभिजन क्लबका अध्यक्ष र महानगरका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरे।
'सम्झौतापछि महानगरले प्रत्येक क्लबलाई ९ लाख ३० हजार रकम प्रदान गर्नेछ। क्लबहरुले आफ्नो जर्सी र ट्याकमा महानगरको लोगो राख्नुपर्नेछ। साथै महानगरको क्राइटेरियाअनुसार क्लबहरुले लेखापरिक्षण गर्नुपर्नेछ।' न्यौपानले भने।
९ लाद ३० हजारमध्ये ५ लाख नगद र बाँकी रकमको खेल सामाग्री हुने एन्फाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ६ ए डिभिजन क्लबलाई चेकसहित फुटबल सामाग्री प्रदान गरे।
सम्झौतापछि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फुटबल धेरैले खेल्ने धेरैले हेर्ने लोकप्रिय खेल भएकोले यसमा सहयोग गरेको बताए।
'पहिले खेलकुद महानगरको प्रथामिकतमा थिएन। बजेट कम थियो। हाम्रो काम पूर्वाधार मात्र थियो। तर एन्फामा नयाँ नेतृत्व आएपछि अध्यक्ष कर्मा छिरिङले काठमाडौँको ए डिभिजन क्लबहरुलाई मात्र भएपनि सहयोग गर्नुपर्यो भन्नुभयो। त्यसतिबेला हामीले थोरै भएपनि सहयोग गर्छौँ भनेका थियौँ। त्यसैअनुसार अहिले ए डिभिजनका ६ वटा क्लबलाई सहयोग सुरु गरेका हौँ।' शाक्यले भने।
'यो धेरै सहयोग भएपनि यसले खेलाडीको मनोबल बढाउने काम गर्छ। यो सुरुवात हो। अब सहयोग निरन्तर हुन्छ।'
'हामीले सहयोग गरेको क्लबमध्ये कुनै एकले लिग जिते हामीलाई पनि मनोबल बढ्छ। आशा छ की यही ६ मध्ये १ क्लबले लिग जित्नेछ।'
यस्तै हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो १० लाख बराबरको सहयोगले फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। ए डिभिजन क्लबका लागि महानगरले टुडिखेलमा स्थान उपलब्ध गराउने सम्झौता समेत भइसकेको बताउँदै शेर्पाले भने, 'काठमाडौँ महानगरले यो काम सुरुवात गरेको छ। अब अन्य स्थानिय निकायले पनि सहयोग गर्दै जानेछ। सबै क्लबमा महानगरको योगदान रहनेछ। अहिले ए डिभिजनलाई सहयोग भएको छ। अब विस्तारै बी र सी डिभिजन क्लबलाई पनि सहयोग गर्ने विश्वास छ। नेपालको इतिहासमा महानगरसँग भएको यो नमुना सम्झौता हो।'
शेर्पाले अब एन्फाले तीन प्रकारको लिग गर्न लागेको र त्यसलाई साधारण सभाबाटै पारित गरेर विधानमा राखिसकेको बताए। '४ वर्षपछि ए डिभिजन लिग असोज १३ बाट हुँदैछ। जबसम्म लिग हुँदैन तब राष्ट्रिय खेलाडीको अभाव हुन्छ। त्यसैले अब हामीले विभिन्न उमेर समूहको महिला र पुरुषको राष्ट्रिय टिम बनाउनुपर्छ।'