PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कम उमेरमै आत्महत्या गर्ने 'ट्रेण्ड' बढ्दो : ‘कोही किन मर्न चाहन्छन् त?’



सागर बुढाथोकी

कम उमेरमै आत्महत्या गर्ने 'ट्रेण्ड' बढ्दो : ‘कोही किन मर्न चाहन्छन् त?’

काठमाडौँ : गत भदौ १४ गते इलामको सोयाङमा एक बालकले झुन्डिएर आत्महत्या गरे। कक्षा ५ मा अध्ययनरत सोयाङ–१ का १० वर्षीय प्रज्वल राईले स्कुलबाट घर फर्केर टाईको पासो लगाई आत्महत्या गरेका थिए। टाईको पासो लगाएर बेलुका साढे ५ बजे झुन्डिरहेको अवस्थामा उनका आफन्तले भेटेका थिए।

 

एक वर्षअघि काभ्रेमा एकैपरिवारका ४ जना मृत अवस्थामा फेला परे। घटना भएको स्थानमा विषको भाँडो भेटियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या हुनसक्ने देखायो।

 

३२ वर्षका राजाराम दाहाल, बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका थिए। रञ्जना किशोवय उमेरमै थिइन्। सामूहिक आत्महत्या भएको हप्ता बित्न नपाउँदै काभ्रेकै बडाल गाउँमा एक दम्पतीले आत्महत्या गरे। आत्महत्या गर्ने ३२ वर्षीय सोमप्रसाद दाहाल र उनकी श्रीमती मनिषा १८ वर्षकी मात्र थिइन्।

 

यी प्रतिनिधि घटनाले पनि कम उमेरमा आत्महत्या गर्ने 'ट्रेण्ड' बढेको देखाउँछ।

 

नेपाल प्रहरीको तथ्यांक भन्छ,  नेपालमा  आर्थिक वर्ष २०७५/७६ मा २५० जना बालबालिकाले आत्महत्या गरे। जसमा १११ जना बालक र १२९ बालिका थिए।  बच्चाहरुको आत्महत्याको यो तथ्यांक डरलाग्दो हो।

 

विभिन्न अनुसन्धानहरुले देखाएअनुसार आत्महत्या गर्ने सबैभन्दा रिस्की ग्रुप 'किशोर' अवस्था हो। एसियाभर मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या दोस्रोमा पर्छ।

 

यसरी आत्महत्या गरेको खबर दिनहुँजसो सुनिन्छ। विश्व स्वास्थ्य संघको तथ्यांक भन्छ, हरेक वर्ष विश्वमा ९ देखि १० लाख मानिसहरुले आत्महत्या गर्छन्। प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरिसकेको हुन्छ। वर्षमा ३५ हजार मानिसले अमेरिकामा आत्महत्या गर्छन्।

 

नेपालको आत्महत्याको तथ्यांक पनि त्यस्तै डरलाग्दो छ।

 

कहिले कति आत्महत्या?

नेपाल प्रहरी अपराध महाशाखाको तथ्यांक अनुसार गत वर्षको साउनदेखि यता ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरिसकेका छन्। यही तथ्यांकलाई आधार मान्ने हो भने, नेपालमा हरेक दिन १४ जनाले आत्महत्या गरेको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ को तथ्यांकले प्रत्येक दिन २५ जनासम्मले आत्महत्या गर्ने गरेको देखाउँछ। १० वर्षअघिको तथ्यांकलाई हेर्ने हो भने त्यतिबेला दैनिक ८ जनाले आत्महत्या गर्थे।

विश्व स्वास्थ्य संगठन लेख्छ, ‘झुण्डिएर, विष सेवन गरेर, हाम फालेर र शरीरमा आगो लगाएर विश्वभर आत्महत्या गर्ने तरिका उस्तै देखिएको छ।’

 

नेपाल प्रहरीको तथ्यांक हेर्दापनि आत्महत्या गर्ने तरिका त्यस्तै देखिन्छ ।

‘कोही किन मर्न चाहन्छ?’

विश्व स्वास्थ्य संघको तथ्यांक अनुसार विश्वभर हुने ७८ प्रतिशत आत्महत्या आर्थिक स्रोतको कारणले हुन्छ। ७५ प्रतिशत आत्महत्या गर्नेहरुको कारण डिप्रेसन हुन्छ।

 

आजभन्दा १ सय वर्षअघि आत्महत्या जैविक कारणले भएको मानिन्थ्यो। ‘शरीरमा  एउटा त्यस्तो अंग हुन्छ, जसले आत्महत्या गर्न प्रोत्साहन गर्छ। आत्महत्या रोग हो,’ यही विश्वासका साथ आत्महत्यालाई जीव विज्ञानले अध्ययन गर्थ्यो।

 

फेरि, आत्महत्या रोग हैन मनोविज्ञान हो भन्ने बुझ्न थालियो। आत्महत्या गर्नुको कारण मानिसको मनोविज्ञान हो भन्ने व्याख्या गरियो। त्यसपछि आत्महत्यालाई मनोविज्ञानले अध्ययन गर्न थाल्यो।

 

तर, यो विस्वाश पनि लामो समय टिकेन। सन् १८६० मा समाजशास्त्री इमाइल दुर्खिमले ‘सुसाइड’ भन्ने पुस्तक निकाले। ‘आत्महत्याको प्रमुख कारण समाज हो’ भन्दै पुस्तकले आत्महत्यालाई नयाँ तरिकाले व्याख्या गरिदियो।

 

दुर्खिमले उक्त भनाइलाई व्याख्या गर्दै समाजको रीतिरिवाज, संस्कृति र सामाजिक घटनाले आत्महत्याका लागि मनोविज्ञान तयार गरिदिने व्याख्या गरे।

 

पुस्तकले युद्ध हारेर आएका सिपाही र जितेर आएका सिपाहीबारे अध्ययन गरेको थियो। त्यो बेला आत्महत्या गर्ने सिपाहीहरु बढी थिए। युद्ध जितेर आएका सिपाहीहरुले समाजमा सम्मान पाए। हारेकाहरुलाई कसैले वास्ता गरेनन्। आत्महत्या गर्ने अधिकांश युद्ध हारेका सिपाही थिए।

 

दुर्खिमका अनुसार ती सिपाहीहरुको मनोविज्ञानमा बिगार्ने समाज थियो। त्यसैले उनीहरुले आत्महत्या गरे।

 

‘कोही किन मर्न चाहन्छन् त?’

 

समाजशास्त्री दीपेश घिमिरे भन्छन्, ‘मानिसको परिवारसँगको सम्बन्ध च्यातिन्छ। समाजसँगको सम्बन्ध बिग्रन्छ। आफन्त तथा प्रेमी प्रेमिकाहरु छुट्छन्। समाजमा उनीहरुले आफ्नो महत्व आवश्यक ठान्दैनन्। उनीहरु आत्महत्या गर्न पुग्छन्।’

 

मानिसको मनोविज्ञान समाजकै कारणले बिग्रने घिमिरे बताउँछन्। मानिसको मनोविज्ञान बिग्रनु र डिप्रेसनमा पर्नु व्याक्तिगत नभएर समाज कारण भएको उनको तर्क छ।

 

घिमिरेका अनुसार समाजको प्रकृति अनुसार आत्महत्यामा फरक पर्छ। व्यस्त समाज, घरपरिवारलाई समय दिन नसक्नेहरु, एकल परिवार र वैदेशिक रोजगारमा गएकाहरुको परिवारको लागि आत्महत्या जोखिमको रुपमा देखिएको छ।

 

‘मानिसको सम्बन्धहरु विकृत हुँदै गएको छ। व्यस्त जीवनशैलीले मानिस एक अर्काको कुरा सुन्ने र भावना बुझ्ने गर्दैनन्। समाजसँग पनि घुलमिल हुन सक्दैनन्। समाजको बन्धनमा रहन नसकेर आत्महत्या बढ्दो छ,’ घिमिरेले कारण सुनाए, ‘मानिसको साधारण आवश्यकता समाजले पूरा गर्न सक्दैन। मानिस यस्तै सामाजिक कारणले डिप्रेसनमा फँस्छ। आत्महत्याको बाटो रोज्छ।’

उनले नेपाली समाजकै दुई नायिकाहरुको उदाहरण दिए । ‘जनआस्थाको ब्लाक एण्ड ह्वाइडट पत्रिकामा नायिका श्रीषा कार्कीको अर्धनग्न फोटो छापियो। उनले आत्महत्याको बाटो रोजिन्। तर, नायिका नम्रता श्रेष्ठ फिल्मी दुनियामा नै छिन्,’ घिमिरे भन्छन्, ‘यी दुई घटनाले समाज र परिवारकै कारण आत्महत्या हुन्छ भन्ने प्रमाणित गरेको छ।’

 

प्रहरी अध्ययनले निष्कर्ष निकालेका आत्महत्याको घटनाहरुको प्रमुख कारण गरिबीसँगपनि जोडिएको हुन्छ। विश्व स्वास्थ्य संघको तथ्यांकले ७८ प्रतिशत मानिसहरु मध्यमवर्गीय आयको कारण आत्महत्या गर्ने गरेको देखाउँछ।

 

आत्महत्या र डिप्रेसन

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वको १० अर्ब मानिसमा डिप्रेसनको समस्या छ। डिप्रेसन आत्महत्याको प्रमुख कारणमा पर्छ। कूल जनसंख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको डिप्रेसन छ। यो हिसाबले हेर्दा झण्डै एक करोड नेपालीमा सामान्यदेखि जटिलसम्मको डिप्रेसन छ।

 

घिमिरेका अनुसार डिप्रेसनको कारण समाज हो । मानिस समाजमा घुलमिल हुन नसकेर वा सामाजिक दबाव झेल्न नसकेर डिप्रेसनमा फस्छ । डिप्रेसनबाट निस्कन नसकेर आत्महत्या गर्छ ।

 

डिप्रेसन, निरासा, आर्थिक समस्या र पारिवारिक सम्बन्ध टुट्नाले मानिसहरुमा मर्ने चाहना बढेको मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ सुनाउँछन्। ‘वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमतीमा डिप्रेसनको समस्या बढी देखिन्छ। डिप्रेसन बढ्दै गएपछि उनीहरुले आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘जसरी वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ। त्यसरी नै आत्महत्या गर्ने महिलाहरुको संख्या पनि बढी छ।’

 

किशोरकिशोरी उमेरमा आवेगमा आएर आत्महत्या गर्ने हुँदा उनीहरुलाई विशेष ध्यान दिनु जरुरी छ। युवामा प्रेमसम्बन्ध र शारीरिक सम्बन्ध बीच टकराव आउँदा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ। योग, ध्यान तथा घुमफिरले मानिसको मन हलुका हुन्छ र आत्महत्याबाट बच्न सहयोग पुग्छ।

 

श्रेष्ठकाअनुसार डिप्रेसन भएको मानिसलाई एकान्तमा बस्न दिनु हुँदैन। सामाजिक, आर्थिक दबावबाट टाढा राख्नु पर्छ । समाजमा घुलमिल गराउने, उनीहरुको कुरा सुनिदिने, समस्या पत्तालगायत त्यसको समाधानको लागि प्रयास गरिदिनु पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell