काठमाडौँ : निसर्ग स्कुल आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ टिम च्याम्पियन भएको छ। उसले टिम च्याम्पियनको ट्रफी प्राप्त गर्यो।
नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको लिंकनले ४९ अंक र तेश्रो भएको राजश्री गुरुकुलले ३७ अंक हात पार्यो।
मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा आयोजना हुने १४औं फिना वर्ल्ड च्याम्पियनसिपका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट दुई महिला र दुई पुरुषका साथै एक एक बैकल्पिक खेलाडी समेट छनोट गरिएको छ।
२५ मिटरको सर्टकोर्ष पौडी पोखरीमा भएको प्रतियोगिता अनुसार पुरुष तर्फ फिना अंकको आाधारमा शुभम श्रेष्ठ र अनुभव सुब्बा छनोट हुन सफल भएका छन्। शुभमले ५२१ अंक र अनुभवले ४६५ अंक प्राप्त गर्दै फिना वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएका छन्। पुरुष तर्फ बैकल्पिक खेलाडीको रुपमा सैयद हमजा शाह रहे। उनले ४४६ अंक हासिल गरे।
महिला तर्फ टिशा शाक्य र डुवाना लामा छनोट भए। टिशाले ५१० र डुवानाले ४६४ अंक हासिल गरे। बैकल्पिक खेलाडीको रुपमा छनोट भएकी खेलाडी उपास्ती महर्जनले ४४१ अंक हासिल गरिन्।
१४औं फिना वल्र्ड च्याम्पियनसिप मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्ष (२५ मिटरको पुलमा) आयोजना हुँदै छ।
प्रतियोगितामा १५५ खेलाडीहरुले खुलातर्फ १८ तथा उमेर समूहतर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए।