PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रदेशको नाम 'कर्णाली' भएको ७ महिना बित्यो : तर, प्रहरी र स्थानीय तह लेख्छन् ६ नम्बर प्रदेश



पी बी खड्का

प्रदेशको नाम 'कर्णाली' भएको ७ महिना बित्यो : तर, प्रहरी र स्थानीय तह लेख्छन् ६ नम्बर प्रदेश

सुर्खेत: कर्णालीमा अझै पनि प्रदेश सभाबाट पारित निर्णय कार्यान्वयमा गएका छैनन्। संसदले र सरकारले गरेका निर्णयसमेत कर्णालीमा रहेका प्रहरी प्रशासन र स्थानीय तहले कार्यान्वयन गर्न आलटाल गरेका छन्। 

प्रदेशसभाले करिब ७ महिना अघि ६ नम्बर प्रदेशलाई कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर तोक्ने निर्णय गरेर प्रदेश सरकार कार्यान्वयनमा गईसकेको छ। तर, यहाँका प्रहरी प्रशासन कार्यालय र स्थानीय तह भने ६ नम्बर प्रदेश मेटाएर कार्यान्वयनमा जान सकेका छैनन्। 

तत्कालीन मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत हाल ६ नम्बर प्रदेश प्रहरी कार्यालयको नाममा रहेको छ। प्रदेश सरकारले प्रहरी कार्यालयलाई पटक पटक कर्णाली प्रदेश नामाकरण भइसकेकाले सोही अनुरुपमा परिवर्तन गर्न लगाए पनि प्रहरी प्रशासनले अटेर गरेको जनाईएको छ। 

प्रदेशको राजधानीमा हुने सभा सम्मेलनमा प्रदेश सांसदले प्रहरीले अटेर गरेको भन्दै सच्याउनसमेत आग्रह गरेका थिए। वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा सांसद जीवनबहादुर शाहीले प्रदेशसभाले निर्णय गरेको कुरा प्रहरीले नमानेर अटेर गरेको बताए। यति लामो समय वितिसक्दा समेत प्रहरी प्रशासन नमानेको भन्दै संसदको अवहेलना गरेको उनको आरोप थिए। 

यता, प्रदेश प्रहरी कार्यालयका प्रमुख महेशविक्रम शाहले संघीय सरकारकै मातहतमा रहेकाले आफूहरुले परिवर्तन गर्न नसकेको बताए। अहिलेसम्म संघीय सरकारले कुनै पनि निर्देशन जारी नगरेकाले नाम परिवर्तन गर्न नसकेको उनको तर्क छ। संघीय सरकारको निर्देशन आए आफूहरु तत्काल सच्याउन तयार रहेको उनको भनाई रहेको छ। ‘हामी अहिलेसम्म संघीय संरचनाकै मातहतमा छौँ, नियम कानुन निर्माण हुन बाँकी छन्।’ उनले भने, ‘हामीलाई ६ नम्बरको ठाउँमा कर्णाली प्रदेश राख्न कुनै समस्या छैन, संघीय सरकारले निर्देशन जारी गरे हामीले प्रदेशका सम्पूर्ण प्रहरी युनिटमा फेर्छौँ।’  

स्थानीय तह पनि उस्तै 

त्यस्तै, कर्णालीका अधिकांश स्थानीय तहलेसमेत अझै पनि ६ नम्बर प्रदेश नामाकरण गरेर कार्यालयमा साईन बोर्ड र लेटरप्याडमा समेत ६ नम्बर प्रदेश लेखिदैँ आएको छ। यसको गतिलो उदाहरण प्रदेशकै राजधानी सुर्खेतको लेकवेशी नगरपालिका हो। लेकवेशीले अझै पनि आफ्नो कार्यालयको साईन बोर्ड र लेटरप्याड समेत परिवर्तन गरेको छैन। प्रदेश सभाले निर्णय गरिसकेको र प्रदेश सरकार कार्यान्वयनमा गए पनि अझै स्थानीय तहले कार्यान्वयनमा जान सकेका छैनन्। 

यता, लेकबेशी नगरप्रमुख गगंनसिंह सुनारले अव तत्काल फेर्ने बताए। ‘अहिले सम्म ६ नम्बर प्रदेश रहेकाले केही ढिलाई भयो,’ उनले भने, ‘अब एक दुई दिनमै तत्काल फेर्छाै।’ कार्यालयको लेटरप्याडसमेत परिवर्तन नगरेको जिज्ञासामा उनले पुरानो स्टक रहेकोलाई प्रयोग गरेको हुन सक्ने बताए।  ‘अब मैले सबै कर्मचारीलाई साथी प्रयोग नगर्न भन्छु,’ उनले भने। 

यता, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेशसभाले नामाकरण र राजधानी तोकिसकेकोलाई अझै पनि नटेर्नु दुःखद भएको बताए। ‘हामीले सम्पूर्ण प्रदेशमा रहेका कार्यालयमा खबर र पत्राचार गरिसकेको अवस्था हो,’ उनले भने, ‘प्रहरी प्रशासन हाम्रो मातहतमा आई नसकेकाले समस्या देखिएको छ, तर स्थानीय तहले प्रदेश सरकारलाई नटेरेको देखिन्छ।’ प्रदेशमा रहेका सम्पूर्ण कार्यालयहरु प्रदेश सरकारको मातहतमा आए सरकारको निर्णय कार्यान्वयन गराउन सहज हुने उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell