काठमाडौं : झापामा एक व्यापारीको अपहरणपछि हत्या भएको छ। कमल गाँउपालिका ६ मंगलवारे घर भएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। प्रहरीले पौडेलको शव मंगलवार गौरीगञ्ज ६ स्थित देविगन्जमा हत्या गरेर फालिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। पौडेल कपडा व्यवसायी हुन्।
व्यवसायी पौडेल सोमवार साँझदेखि सम्पर्कविहीन थिए। व्यापारिक कारोबारको रकम उठाउन सोमवार पौडेल श्रीमतीसहित गौरीगञ्ज पुगेका थिए। गौरीगञ्ज पौडेलको घरदेखि करिब १५ किलोमिटरको दुरीमा पर्छ। हिजो साँझ ६ बजे प्रहरीले गौरीगञ्जका सद्धाम हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
हुसेन पौडेलका सहयोगी समेत हुन्। सोमावर पौडेल श्रीमतीसहित पैसा उठाउन पुगेका थिए। हुसेनसँग पौडेलले ९० हजार रुपैयाँ उठाउन बाँकी रहेको अनुसन्धानमा खुलेको डिएसपी बस्नेतले बताए।
श्रीमतीसहित पौडेल आएपछि हुसेनले किन भाउजुलाई ल्याएर दु:ख दिनुभएको भन्दै प्रश्न समेत गरेका थिए। खाजा खान पसलमा छोडेर पौडेल हुसेनकहाँ पैसा लिन गएका थिए। तर, राति ९ बजेसम्म पनि नफर्किएपछि श्रीमतीले अपहरण भएको आशंकामा प्रहरीमा उजुरी दिएकी थिइन्।
प्रहरीमा उजुरी पर्ने वित्तिकै हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो। पौडेले टाँउको र घाँटीमा छुरा प्रहारको चोट देखिएको छ।