PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'बिम्स्टेक सैन्य अभ्यासमा असहभागिता, भारतलाई नेपालको आघातपूर्ण तिरस्कार!'



विधुर ढकाल

'बिम्स्टेक सैन्य अभ्यासमा असहभागिता, भारतलाई नेपालको आघातपूर्ण तिरस्कार!'
सोमवार पुणेमा सैन्य अभ्यासको शुरुवात। फोटो: hindustantimes.com

काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ।

प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट ब्याक हुँदा भारत असन्तुष्ट भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। पत्रकार प्रशान्त झाले पछिल्लो विकास क्रमसँग नजिक रहेका जानकार रहेका व्यक्तिलाई उद्धृत गर्दै नेपालको निर्णय असान्दर्भिक तथा नेपालले दिएको 'आन्तरिक राजनीतिक दबाब'को कारणसमेत विश्वासयोग्य नभएको भन्दै दिल्लीले काठमाडौंसँग असन्तुष्टि व्यक्त गरेको लेखेका छन्।

नेपालको शुक्रवारको निर्णयले भारत र क्षेत्रीय समूहबीच विस्वासको संकट उत्पन्न गराएको टिप्पणी समाचारमा गरिएको छ। आधिकारिक रुपमा भारतको विदेश मन्त्रालय र रक्षा मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मात्र रक्षा सचिवमार्फत नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन पठाएका थिए। त्यस्तै सोही दिन उनले भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई सैन्य अभ्यासमा नेपाल सहभागी हुन असमर्थ भएको जानकारी गराएका थिए।

दिल्लीस्थित अधिकारीले प्रधानमन्त्रीले असमर्थताको कारण आन्तरिक राजनीतिक दबाब भनेका थिए। जुन कारणले दिल्ली विश्वस्त नभएको बताइएको छ।

सैन्य अभ्यासको विषयमा राजनीतिकस्तरमा विरोध भएको थियो।

नेपालको यो कदमले कुटनीतिक रुपमा नकरात्मक सन्देश जाने नेपालका लागि एक पूर्व भारतीय राजदूतले बताएको समाचारमा उल्लेख छ। 'नेपालले एकतिर चीनसँग चिनियाँ बन्दरगाह प्रयोगका लागि प्रोटोकलमा हस्ताक्षर गरेको छ। अर्कोतिर भारतमा आयोजना भएको सैन्य अभ्यासमा सहभागी हुनबाट पछि हटेको छ। यो सन्देश ठिक होइन्, 'ती राजदूतले भनेका छन्।  

टाइम्स अफ इन्डियाले नेपालको निर्णयलाई आघातपूर्ण तिरस्कारको संज्ञा दिँदै नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने भन्दै समाचार लेखेको छ। नेपालको यो निर्णय नेपालले चीनसँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुँदै गर्दा भारतका लागि खराब समयमा आएको समाचारमा टिप्पणी गरेको छ।

नेपालले यही सेप्टेम्बरदेखि चीनको छेङ्दुमा आयोजना हुने संयुक्त सैन्य अभ्यास सगरमाथा फ्रेण्डसिप-२ मा सहभागी हुँदै छ।

नेपालले चीनसँग गत वर्ष अप्रिलमा संयुक्त सैन्य अभ्यास गरेको थियो।

भारतको सैन्य अभ्यासको कार्यक्रमप्रति नेपाल सरकार सकरात्मक नभएकोसमेत समाचारमा उल्लेख छ।

भारतका पूर्व विदेशसचिव कुनवाल सिवालले बिम्स्टेक सैन्य अभ्यासमा सहभागी भएको भए चीनसँगको अभ्यासलाई सन्तुलन गराउने बताए। उनले नेपालको यो कदमले नेपाल भारतलाई असान्दर्भिक रुपमा चिड्याएर सन्तुष्ट हुन खोज्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

'यस किसमको अविवेकी कदमको मूल्य नेपालले भविष्यमा आइपर्ने संकटमा देखापर्ने छ। उनीहरुले (नेपालले) भारतसँगको सम्बन्धलाई मजबुद बनाउनुपर्छ नकी अविश्वास पैदा गर्नुहुन्छ,' उनले भनेका छन्।

चीनसँगको सैन्य अभ्यासमा २० नेपाली सैनिकको टोली सहभागी हुँदै छ। नेपालले भारतसँग सूर्यकिरण सैन्य अभ्यास गर्दै आएको छ। १३ औँ संस्करणसम्म पुगेको यो सैन्य अभ्यासमा ३०० नेपाली सैनिक सहभागी हुन्छन्।

समाचारमा नेपालले सैन्य अभ्यासबाट पछि हटेर भारतमाथि नेपालले सार्कको गतिरोध अन्त्यका लागि दबाबसमेत दिएको उल्लेख छ। भारतकै कारण पाकिस्तानमा सन् २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन अझै हुन सकेको छैन।

पुणेमा आयोजना भएको सैन्य अभ्यासमा नेपालसँगै थाइल्याण्डको असहभागिताले पाकिस्तानलाई किनारा लगाउँदै सार्कको विकल्पको रुपमा बिम्स्टेकलाई अगाडि सार्ने भारत सरकारको कुटनीतिक दुस्साहसमा प्रश्न उठेको स्पुतनिक न्युजले उल्लेख गरेको छ।

'बिम्स्टेक सैन्य अभ्यासबाट पछि हट्ने नेपालको यो निर्णय पछाडि धेरै कारणहरु छन्। अधिकांशहरु आवश्कयता बिनाका छन्। तर, यसले भारतका लागि एउटा पाठको रुपमा काम गरेको छ,' नयाँ दिल्लीस्थित फरेन पोलिसी स्टडिजका फेलो कन्स्टान्टिनो जेभियरले भनेका छन्।

त्यस्तै इन्डिया टुडेले नेपालले भारतको अपमान गरेको लेखेको छ।

इन्डिया टुडेको समाचारमा चीनसँगको नयाँ व्यापार नाका प्रप्तिसँगै भारतीय एकाधिकारको अन्त्य भएकोले नेपालले भारतमा आयोजना भएको सैन्य अभ्यासमा सहभागी नभएको उल्लेख छ।

चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसियटिभको काउन्टरको रुपमा बिम्स्टेक कनेक्टिभिटि अगाडि आउँदा नेपालको सहभागिता नहुनु राजनीतिक अर्थ राख्ने समाचारमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell