
काठमाडौं : नक्कली कार्डको प्रयोग गरी पिओएस (प्वाइन्ट अफ सेल्स) मेसिनबाट अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट विदुर नगरपालिका वडा नम्बर २ घर भएका २९ वर्षीय प्रदीप न्यौपानेलाई गत शुक्रवार पक्राउ गरेको हो।
न्यौपानेले डिएमके नामको कम्पनी दर्ता गराइ सनराइज बैंकबाट प्राप्त पिओएस मेसिनबाट नक्कली कार्ड प्रयोग गरी अनाधिकृत रूपमा कारोबार गर्नेगरेको व्यूरोका एसपी सानुराम भट्टराईले जानकारी दिए।
न्यौपानेले मेसिनबाट बेलुका ८ बजेदेखि मात्र कार्ड रिड गर्ने गरेको देखिएको छ। गत असार २२ गतेदेखि भदौ ५ गतेसम्म १ सय ६३ पटक रिड गरेको खुल्न आएको हो। न्यौपानेले १ करोड २ लाख १९ हजार रुपैयाँको कारोबार गरे पनि २२ लाख ७७ हजार मात्र ट्रान्सफर भएको थियो।
कार्डबाट कारोबार गर्दा विदेशी नागरिकको पासपोर्टलाई आइडीका रूपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग भएको देखिन आएको। उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिइ बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान कार्य भइरहेको।