काठमाडौं: चलचित्र विकास बोर्डले फिल्म 'कथा काठमाडौं' युनिटलाई कारवाही गर्ने चेतावनी दिंदै पत्र काटेको छ। फिल्मको गीत र प्रोमोमा प्रयोग भिडियो 'अश्लिल' भएको भन्दै पत्र पठाइएको हो। तर बोर्डले पत्रमा उल्लेख गरेको लिंक फिल्म युनिटसँग सम्बन्धित भने होइन।
केही महिना अघि नै रिलिज भएको गीत र एक साता अघि सार्वजनिक अफिसियल ट्रेलरमा समावेश दृश्यमा बोर्डले आपत्ती जनाएको थिएन। तर फिल्म रिलिज मिति नजिकिदै गर्दा नयाँ अकाउन्टबाट अपलोड भएको सोही दृश्यका कारण फिल्म युनिटलाई बोर्डले कारवाही गर्ने जनायो।
के उचित अनुसन्धान नभएको हो?
पत्रमा लेखिएको विषय र उल्लेखित लिंक हेर्दा बोर्डले बीन खोज र अध्ययन पत्र काटेको जस्तो देखिन्छ। कथा काठमाडौंको सम्पूर्ण डिजिटल राइट्स हाइलाइट्स नेपालले किनिसकेको छ। त्यसैले फिल्मको गीत ट्रेलरमा समावेश कुनै पनि दृश्य अर्को च्यानललाई दिने नदिने भन्ने बारे युनिटले निर्णय गर्न पाउँदैन। आश्चर्य त के छ भने बोर्डले अफिसियल सामाग्रीमा नजनाएको आपत्ती चोरेर प्रयोग गरेको सामाग्रीमा गर्यो। बोर्डकी अध्यक्ष नीकिता पौडेलले मन्त्रालयबाट आफूलाई चिठ्ठी आएपछि युनिटलाई पत्र लेखेको बताइन्।
यस विषयमा फिल्म निर्देशक संगीता श्रेष्ठ भन्छिन्,'अब अरुको च्यानलको सामाग्री हटाउन मलाई धम्कीपूर्ण भाषाको प्रयोग हुन्छ भने यस विषयलाई कसरी लिने?' उनले कपि राइट क्लेमको अधिकार पनि हाइलाइट्स नेपालसँग भएको जनाउँदै भनिन्,'बरु बोर्डले त चोरी गरेर आफ्नो च्यानलान राख्ने विरुद्ध बोलिदिनु पर्ने थियो होइन र? बोर्ड केका लागि?'
यसअघि फिल्मको सोही दृश्य पोर्न हबले समेत प्रयोग गरेको थियो। संगीताले आफू सम्पूर्ण सम्बन्धित निकाय धाए पनि न्याय नपाएको गुनासो पोखिन्। भन्छिन्,'चलचित्र विकास बोर्डको आशा थियो। तर अब त बोर्डले नै 'अश्लिल', 'कारवाही गर्छु' लगायत भाषा प्रयोग गरेर पत्र लेख्यो।'
अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको छ। निर्माण कम्पनि आहान फिल्मसलाई बोर्डले दृश्य नहटाए कारवाही गर्ने चेतावनी समेत दिएको छ। अभिनेत्री प्रियंका कार्की र प्रमोद अग्रहरिबीचको अन्तरंग दृश्यप्रति आपत्ति जनाएको बोर्डले पत्रमा युआरएल लिंक समेटेको छ। जुन लिंक खैराबाङ न्युज नामक च्यानलमा अपलोड भएको थियो (हाल हटाइएको)।
आधिकारिक बाहेक अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्रीप्रति विरुद्ध टिमले यसअघि नै निवेदन दिइसकेको छ।
फिल्ममा महिलाले भोग्नु पर्ने घरेलु एवं यौन हिंसाको विषय उठाएको जानकारी दिंदै निर्देशक संगीताले भनिन्, 'महिला भएर किन यस्तो फिल्म बनायो भन्ने कुरा मैले सुनेको छु। मैले कुन विषय उठाएको छु त्यो कुरा त देख्दैन्। हाम्रो गीतको दृश्यलाई मात्र आधार मानेर जुन चर्चा परिचर्चा छ, त्यसकै आधारमा फिल्मलाई मुल्याङ्कन गरिनु हुँदैन भन्ने टिमको मान्यता हो।'
'फिल्म हेरेपछि त्यो दृश्य कथा अनुसार अश्लिल र भद्दा लागेमा म त्यसको अपजस लिन तयार छु। किनकी मैले पत्रकारिता, म्युजिक भिडियो निर्देशन, टेलिफिल्म निर्देशन, पुस्तक लेखन मार्फत आर्जन गरेको विश्वासलाई डुबाउन मन छैन।' उनले फिल्मले बहजको वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरिन्।
संगीताले कान्तिपुर टेलिभिजनमा टेलिफिल्म 'कथा प्रेमका' निर्देशन गरेकी छिन्। फिल्म असोज १२ बाट प्रदर्शनमा आउनेछ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ।
फिल्म युनिटले पठाएको जवाफी पत्रलाई आधार बनाएर बोर्डले सञ्चार मन्त्रालयलाई प्रष्टिकरण दिएको नीकिता पौडेलले बताइन्।