PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

निर्मला हत्या काण्डमा अर्को ट्विस्ट : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए



सविन ढकाल

निर्मला हत्या काण्डमा अर्को ट्विस्ट : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए

काठमाडौं : चर्चित र नसुल्झेको कञ्चनपुरको निर्मला बलात्कार-हत्याको अनुसन्धान गर्न गठित छानविन समितिबाट राजिनामा दिएका उप सचिव वीरेन्द्र केसीले राजिनामा फिर्ता गर्दै पुन: अनुसन्धान समितिमा रहेर काम गर्ने भएका छन्।

समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजिनामा गरेका केसीले भर्खरै गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजिनामा फिर्ता लिएको जानकारी दिए। आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले नाटकीय रुपमा पुन: समितिमै रहेर काम गर्ने जनाएका हुन्। 

गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न आइतबार मात्रै समितिको म्याद १५ दिन म्याद थप गरेको छ। म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका थिए। 

छानविन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानविन समितिको जिम्मेवारीबाट अलग हुने प्रारम्भीक निर्णय गरेकोमा आज २७ गते गृह मन्त्रालय, उच्चस्तरीय छानविन समितिका संयोजकसहित भएको छलफलबाट उक्त घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकोले' भन्दै उनले पुन: छानविनमा सक्रिय हुने जनाएका हुन्।

गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको छलफलपछि उनी पुरानै जिम्मेवारीमा फर्केका हुन्। ज्यानको असुरक्षा भएको भन्दै उनले जिम्मेवारी छाड्दै सुरक्षा माग गरेका थिए। 

आफ्नो कुरा गृह मन्त्रीसँग राख्न नपाएको गुनासो गर्दै आएका केसीले सुरक्षा खतराको कुरा पनि उठाएका थिए। गृह मन्त्रालयले सुरक्षा दिने आश्वासन दिएपछि उनी काममा फर्किन सकारात्मक भएका हुन्। 

आफ्नो कुरा प्रतिवेदनमा नसमेटिने भएपछि राजिनामा दिएको उनले बताउँदै आएका थिए। प्रतिवेदनमा उनको कुरा समेटिने निश्चित भएपछिमात्र उनी फर्किएका हुन्। 

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

बलात्कार र हत्या भएको ४७ दिन पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।
 
बलात्कारपछि हत्या अभियोगमा दिलीपसिंह विष्ट पक्राउ परेलगत्तै प्रहरीको अनुसन्धान विवादमा परेको थियो। उनको डिएनए परीक्षण गर्दा दोषी देखिएन। हिजोमात्रै उनलाई अदालतले रिहा गर्‍यो। कञ्चनपुर जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै विष्टलाई रिहा गर्न आदेश दिएको हो। करिब डेढ महिनाको अनुसन्धानसम्म पनि मुख्य अभियुक्त भनिएका व्यक्ति रिहासँगै प्रहरी अनुसन्धान पुनः शून्यमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell