PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

निर्मलाको हत्याराको पत्तो छैन, छानविन समितिमाथि नै प्रश्नै प्रश्न



सविन ढकाल

निर्मलाको हत्याराको पत्तो छैन, छानविन समितिमाथि नै प्रश्नै प्रश्न

काठमाडौँ : १३ वर्षीय किशोरी निर्मला पन्तको अनुसन्धान दिनदिनै रहस्यमय बन्दै गएको छ। ४८ दिन बितिसक्दा पनि हत्यारासम्म प्रहरी पुग्न सकेको छैन। उल्टै प्रहरीको अघिल्लो अनुसन्धानको कमजोरी खुल्दै जाँदा प्रहरी सङ्गठनकै शाख लगातार गिर्दो छ। 

भदौ ७ गते सरकारले घटनाबारे छानबिन गर्न बनाएको समिति सदस्यको राजिनामाले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न खडा गर्यो। समितिका सदस्य तथा उप-सचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गर्दै छानबिन समितिको सदस्यबाट दिएको राजिनामा दिए। त्यसको ४८ घण्टा नबित्दै फेरि राजिनामा फिर्ता भएको जानकारी गराए पत्रकार सम्मेलनबाट। किन दिएका थिए केसीले राजिनामा? केही दिनमा नै कसरी राजिनामा फिर्ता गर्ने मनस्थितिमा पुगे? केसीले आफू समितिमा रहेर अनुसन्धान गर्दा ज्यानको थ्रेट समेत भएको बताएका थिए। कसले र किन केसीलाई थ्रेट दियो? अहिले कसरी सुरक्षित भएको महसुस भयो? यस्ता कैयन अनुत्तरित प्रश्नले समितिमाथि प्रश्न नै प्रश्न जन्माएको छ।

गत सोमवार बिहान उपसचिव केसी रिपोर्टस क्लब पुगेर आफूले समितिबाट राजिनामा दिएको घोषणा गरेका थिए। सरकारले समितिको म्याद थप गरेको विषयमा केसी असन्तुष्ट थिए। म्याद थप गर्दा अपराधी उम्कन सक्ने दाबी गरेका थिए उनले। त्यस्तै उनले आफूले पटकपटक आफ्ना कुरा राख्न खोज्दा समितिको प्रतिवेदनमा उल्लेख नभएको पनि बताएका थिए।

बुधवार दिउँसो १ बजे तिनै केसीले राजिनामा फिर्ता लिएको उद्घोष गरे। तर, स्थान भने फरक थियो। सिंहदरबार भित्रको हलमा। पत्रकारले खचाखच हलमा उनले राजिनामा फिर्ता लिएको जानकारी दिए। गृहमन्त्री रामबहादुर थापासँग आफ्नो एजेन्डामा सहमति भएकाले राजिनामा फिर्ता लिएको बताए। 

केसीले भने, 'गृहमन्त्री र मेरो कुरा मिल्यो। दुवैको उद्देश्य हत्यारा पत्ता लगाउनु नै थियो।' गृहमन्त्रीसँग लामो कुराकानीपछि राजिनामा फिर्ता लिने निर्णयमा पुगेको सुनाएका थिए उनले।

सम्मेलनमा केसी थोरैमात्र खुले। पत्रकारको सवाल जवाफले उनलाई बोल्न बाध्य बनाएको थियो तर पनि प्रस्ट कुरा भने खुस्काएनन्। 'मैले पहिले पनि समितिको अनुसन्धानलाई लिएर गृहमन्त्रीलाई भेट्न खोजेँ तर भेट्न दिइएन। गृहमन्त्री भन्दा तलका कर्मचारीसँग भेट्न र भन्नु हुँदैन थियो। त्यसको अर्थ पनि थिएन। गृहमन्त्रीसँग कम्युनिकेसन नहुँदा मेरो कुरा नआएपछि मैले राजिनामा दिए,' उपसचिव केसीले भनेका थिए।

केसीले गृहमन्त्रीलाई के भन्न खोजेका थिए? जुन कुरा भन्न नपाउँदै राजिनामा दिए त? समितिको प्रतिवेदनमा आफ्ना कुरा नआएकाले आफूले मन्त्रीलाई भेट्न चाहेको उनको दावी छ। केसीले पत्रकार सम्मेलनमा नै भने, 'मेरो कुरा पनि प्रतिवेदनमा उल्लेख हुने भएपछि म फर्किएको हुँ।' 

के त्यसो भए यसअघि प्रतिवेदनमा उनका कुरा किन समेटिएको थिएन? केसीले पत्रकार सम्मेलनमा आफ्नो आक्रोश पोख्न पनि भ्याए। 'अब पनि मेरा कुरा प्रतिवेदनमा नआए म आफ्नै फरक प्रतिवेदन तयार पार्छु,' उनले भने।

समितिका सदस्यको असन्तुष्टिपछि राजिनामा। प्रहरीले अभियुक्त बनाएका दिलीपसिंह विष्टलाई रिहा गर्न अदालतको आदेश। यिनै कुराले सरकारको शाखमा नराम्रो छाप पारिसकेको थियो। 

अर्कोतिर हिजोमात्रै गृहमन्त्री रामबहादुर थापाले राजिनामा दिने केसीमाथि छानबिन हुनेसमेत बताएका थिए। त्यसको भोलिपल्टै केसीको राजिनामा फिर्ताले अर्को शङ्का उव्जाएको हो। केसीले भने आफूलाई कसैको दबाबले राजिनामा नदिएको बताए। के केसीको राजिनामा फिर्तासँगै सरकारले उनी माथिको छानबिन स्थगित गर्छ? छानबिनको डरले राजिनामा फिर्ता गरेका त होइनन्? कतै कुनै व्यक्तिगत स्वार्थ जोडेर राजिनामा दिएका हुन् त? 

कसले दिएको थियो थ्रेट?

सोमवार केसीले राजिनामा दिँदा असुरक्षित भएको समेत दाबी गरेका थिए। आखिर कसले दियो थ्रेट? कसरी दिइएको थियो धम्की? 

उनले थ्रेट यसरी सुनाए -  

म अनुसन्धानका क्रममामा कञ्चनपुर पुगेँ। घटनास्थलमा पुगेर साइकल देखिएको स्थानमा फरक तरिकाले अनुसन्धान गर्दै थिएँ। एउटा मोटो मानिस मोटरसाइकलमा आयो। 'तपाईँले राम्रोसँग अनुसन्धान गर्दैहुनुहुँदो रहेछ। तर यहाँ यसअघि पनि एक जना माझीलाई ट्रकले किचाएर मारेका थिए। पछि दुर्घटना भएको रिपोर्ट बनाए। तपाईँ पनि सुरक्षित भएर काम गर्नुहोला,' भन्यो।

गृहमन्त्रीले तपाईँलाई सुरक्षाकर्मी, वा काठमाडौँमा सरुवा गरेर काम गर्ने वातावरण पनि बनाइदिन्छु भन्नु भएको छ।

उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचिव हुन्। केही समय अगाडि मात्र उनी सात नम्बर प्रदेश सरुवा भएर पुगेका हुन्। 

निर्मला हत्या काण्डमा अर्को ट्विस्ट : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell