PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एपीएफ लगातार चौथो पटक च्याम्पियन



पहिलोपोस्ट

एपीएफ लगातार चौथो पटक च्याम्पियन
फोटो : राखेप

पोखरा : तीजको असवर पारेर पोखराको लामाचौरमा भएको रेडबुल महिला भलिबल प्रतियोगिताको विभागीय टोली एपीएफले उपाधी जितेको छ। बुधबार भएको फाइनलमा न्यू डामयण्ड एकेडेमीलाई ३-१ सेटमा पराजित गर्दै एपीएफ लगातार चौथो पटक च्याम्पियन बनेको हो।

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावीको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पहिलो सेट २५–२० जित्दै १-० को अग्रता बनायो। प्रतिभा माली प्रेरित न्यू डायमण्डले दोस्रो सेटमा पुनरागमन गर्दै एपीएफमाथी २५–१८ को जित निकाल्यो। तर तेस्रो र चौथो सेट २५–१७, २५–२१ ले जित्दै एपीएफले खेल जित्यो।

न्यू डायमण्डले लामाचौरमा पहिलोदेखि तेस्रो संस्करणको उपाधि जित्दै ह्याट्रिक गरेको थियो। तर त्यसपछि भने एपीएफले दबदबा कायम राख्दै आएको छ।

वर्षाले प्रभाबित फाइनलमा न्यू डायमण्डकी प्रतिभाले सर्वाधिक ४० अंक स्कोर गरिन् भने विजेता एवीएफकी सरस्वती चौधरीले २३ अंक स्कोर गरिन्।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले वर्षाले समस्या पारेपनि खेलाडी जित निकाल्न सफल भएको बताए। न्यू डायमण्डका प्रशिक्षक कुमार राइले वर्षाका कारण खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसक्दा हार बेहोरेको प्रतिक्रिया दिए।

यस्तै बुधबारै तेस्रो स्थानको लागि भएको त्रिभुवन आर्मी क्लबले चितवन टाइगर्सलाई ३–० को सेटमा पराजित गर्‍यो।

प्रतियोगितामा एपीफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ५ हजार ५ सय नगद हात गरिन्। यस्तै डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, डायमण्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स,एपीएफकी हिरा केसी उत्कृष्ट क्वीकर,एपीएफकी शशी चौधरी उत्कृष्ट सेटर र आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन्। उत्कृष्ट प्रशिक्षक एपीएफका ज्ञानेन्द्र बिष्ट घोषित भए।

प्रतियोगिताको आठौं संस्करमा राष्ट्रिय पुरुष भलिबल पनि समावेश गरिने प्रचारप्रसार संयोजक धर्ममानसिह भण्डारीले जानकारी दिएका छन्।  तिज महोत्सवका अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगिताको विजेता एपीएफले १ लाख, उपविजेता न्यू डायमण्ड एकेडेमीले ६५ हजार र तेसो भएको आर्मीले २५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

प्रतियोगितामा दुइ बिभागिय क्लब एपीएफ र आर्मीसहित ५ टोलीले परतिस्पर्धा गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell